आवको अन्तिम महिना जेठ तोकिनुपर्छ : संजय कुमार सिंह

मेयर, मनराशिस्वा नगरपालिका, महोत्तरी

स्थानीय सम्वाद्

       २०७६ साल असार १३ गते शुक्रबार      

मनराशिस्वा नगरपालिका प्रदेश नं.२ अन्तर्गत महोत्तरी जिल्लामा पर्दछ । यस जिल्लामा रहेको १० वटा नगरपालिका र ५ वटा गाउ“पालिकामध्ये यो पनि एउटा स्थानीय तह रहेको छ । साबिकको गा.वि.स. हरू क्रमशः शिसवा कटैया, बथनाहा,सा“ढा, सरपल्लो, मनरा, ईटहर्वा कटी र सोनैल समेत गरि ७ वटा गा.वि.स. हरू समेटी यो नगरपालिका बनेको छ । यस नगरपालिकामा १० वटा वडाहरू रहेका छन् । यो नगरपालिका महोत्तरी जिल्लाको सदर मुकाम जलेश्वर देखि १२ किलो मिटर पश्चिम दक्षिणमा रहेको यो नगरपालिकामा जम्मा ८५४१ घरपरिवार अवस्थित रहेको छ ।

० जनताले अनुभूति गर्ने खालका के कस्ता कामहरू गर्नुभयो ? 

— करिब १८ वर्षसम्म जनप्रतिनिधिविहीन भएको अवस्थामा हामी निर्वाचित भएर आएदेखि कार्यालय व्यवस्थापन ग¥यौं । जनताको आधारभूत कामहरू हामीले सजिलै र छिटो तरिकाले गर्ने गरेका छौं । सानो–सानो कामका लागि जनताले सदरमुकाम धाउनुपर्ने अवस्था थियो, तर अब जनताको काम वडा कार्यालयमै हुन्छ । यसैगरी, हामीले विकास निर्माणका कामलाई पनि प्राथमिकता दिएका छौं । सबै क्षेत्र स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार निर्माण लगायतमा शून्यबाट सुरू गरेका छौं । हाम्रो काम चल्दैछ, चुनौतीहरू पनि त्यतिकै छन् । शिक्षा क्षेत्रमा बाल विकासका लागि विद्यालयमा इंग्लिश मिडियम पढाई र निःशुल्क शैक्षिक सामग्री उपलब्ध गराएका छौं ।

० तपाइँहरू निर्वाचित भएर आएपछि सबभन्दा ठूलो चुनौती के थियो ?

— हामी निर्वाचित भएर आएपछि हाम्रो अगाडि चुनौती नै चुनौती थियो । सबै लथालिङ्ग अवस्थामा थियो । केही पनि सिस्टमेटिक अवस्थामा थिएन । हामीले शून्यबाट आफ्ना काम सुरू गरेका हौं । विकास निर्माणको काम भएको थिएन, शिक्षाको अवस्था अत्यन्त दयनीय थियो । अहिले पनि हामी विभिन्न चुनौतीका बीच काम गरिरहेका छौं । जनताले चाहन्छन् कि सडक बनोस् तर, आफ्नो जग्गा नजाओस् भन्ने खालका विभिन्न चुनौतीहरू छन् । तर, हामी चुनौतीको सामना गर्दै विकास निर्माणको काम अगाडि बढाइरहेका छौं । यस आर्थिक वर्षका योजनाहरूमध्ये करिब ९० प्रतिशत काम सम्पन्न गरिसकेका छौं ।

० तपाइँहरूले ९० प्रतिशत योजना सम्पन्न गरिसक्नुभएको छ, तर देखिने गरी के–के काम भएका छन् ?

— सडक विस्तारको काम, नाला निर्माण, स्वास्थ्य क्षेत्रमा कामहरू भएका छन् । सात वटा गाविसहरू मिलाएर यो नगरपालिका बनेको छ र अहिले १० वटा वडा छन् । तीनवटा वडामा स्वास्थ्य चौकी छैन, त्यहाँ स्वास्थ्य चौकी निर्माण गर्न लागेका छौं । स्वास्थ्यप्रति हामी अति संवेदनशील छौं । विभिन्न किसिमका स्वास्थ्य शिविर पनि सञ्चालन गर्दै आएका छौं ।

० भनेपछि, जनताले स्थानीय सरकारको उपस्थिति महसुस गरेका छन् ? 

— मलाई त लाग्छ यहाँका जनताले पूर्णरूपमा स्थानीय सरकारको उपस्थिति महसुस गरेका छन् । यसको मूल्यांकन जनताले गर्नुहुन्छ । मैले आफै भनेर हुँदैन, जनताको विचार सुन्नुपर्छ ।

० स्थानीय निर्वाचनपश्चात् सिंहदरवार गाउँ–गाउँमा भनिएको थियो, तपाइँहरूले महसुस गर्नुभएको छ ? 

— भन्नका लागि सिंहदवार गाउँमा आएको छ । तर, व्यवहारमा हेर्दा अहिले पनि स्थानीय तहको अधिकार सिंहदरवारकै कब्जामा छ । जुन अवधारणाका साथ अहिले संघीयता आयो, त्यसको मर्म र भावनाअनुरूप हामीले अधिकार पाउन सकेका छैनौं । स्थानीय तहका सम्पूर्ण अधिकार पूर्णरूपमा आउन अहिले पाँच÷सात वर्ष लाग्छ । हाम्रो सामु सबभन्दा ठूलो चुनौती जनशक्ति अभावको छ । जुन मोडलमा जनशक्ति र कर्मचारी चाहिन्छ त्यसको अभावका बीच हामी काम गरिरहेका छौं । कर्मचारी अभावका कारणले हामीले जुन गतिका साथ काम गर्न सक्नुपर्ने थियो त्यस्तो भइरहेको छैन । सिंहदरवारको अधिकार गाउँ–गाउँमा भनिएको छ, तर यो अधिकारलाई व्यवस्थित गर्नका लागि जनशक्ति चाहिन्छ ।

० तपाइँहरूले करको दायरा कस्तो राख्नुभएको छ ?

— हामीले करको दायरा बढाएका छैनौं । करको विषयमा हाम्रो पार्टी राजपा नेपाल पनि स्पष्ट छ कि कुनै किसिमको नयाँ कर नलगाउने । जनतालाई पीरमर्का पर्ने खालका कुनै पनि कर नबढाउने हाम्रो नीति नै छ । हाम्रो पहिलोचोटि नगरपालिका बनेको छ । जनताले तिर्नसक्ने खालका करहरू लगाएका छौं । जनतालाई करको अनुभूति होस् तर बोझ नहोस् ।

० प्रदेश सरकारले सञ्चालन गरेको छोरी बीमा कार्यक्रम तपाइँको नगरपालिकामा कतिको आएको छ ?

— प्रदेश सरकारको बेटी बचाउ बेटी पढाउ कार्यक्रम अहिले हाम्रो नगरपालिकामा आएको छैन । प्रदेश सरकारले प्रदेशभरि नै यो कार्यक्रम सुरू भइसकेको भनेको छ । तर, अहिलेसम्म आएको छैन । आउने क्रममा छ ।

० आगामी आर्थिक वर्षका लागि के कस्ता योजनाहरू ल्याउँदै हुनुहुन्छ ? 

— हामी आफ्नो नीति तथा कार्यक्रममा सबै क्षेत्रलाई प्राथमिकता दिएका छौं । अहिले जसरी आर्थिक वर्षको अन्तिम महिना असारलाई मानिएको छ, यसलाई जेठ बनाउनुपर्छ । असार महिलालाई आर्थिक वर्षको अन्तिम महिना बनाउँदा धेरै किसिमका समस्याहरू आइरहेका छन् । आर्थिक वर्षको अन्तिम महिना जेठ हुनुपर्ने माग म संघीय सरकारसँग गर्न चाहन्छु । जेठसम्म आर्थिक वर्ष भयो भने असारसम्म परिषद् हुन्छ र भएगरेका कामहरूको अनुमोदन पनि हुन्छ । आगामी रणनीति बनाउन सजिलो पनि हुन्छ । म सरकारसँग आग्रह गर्न चाहन्छु कि आर्थिक वर्षमा एक महिना कटौती होस् । किनकि असारमा वर्षात्को मौसम हुन्छ र काम गर्न अप्ठ्यारो हुन्छ ।

 
 

तपाईको प्रतिक्रिया