सञ्जय टकलालाई दोस्रो पटक जन्मकैदको सजाय

राजनीति

       

जनकपुरधाम, १८ असार । संविधानसभाका सदस्य तथा पूर्वराज्यमन्त्री सञ्जय साह टकलालाई दोस्रोपटक जन्मकैदको फैसला सुनाइएको छ ।

जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानियाको हत्यामा दोषी ठहर गर्दै साहलाई मंगलबार जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको छ ।

यसअघि पनि जनकपुर बम काण्डमा उनलाई जन्मकैद सुनाइएको थियो । न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले साह र मनक लामालाई जन्मकैदको फैसला सुनाएको हो ।

साहलाई हत्याकाण्डको योजनाकार मानिएको छ । लामाले साहकै निर्देशनमा आफूले सिंघानियालाई गोली हानेको बयान अदालतमै दिएका थिए ।

सिंघानिया हत्या आरोपमा पक्राउ परेका एकलाल सहनी, पवन लामा र चनरदीप यादवलाई १० बर्षको कैद सुनाइएको छ । यस्तै रामविनोद यादवलाई ३ बर्ष कैद सुनाइएको छ ।

ओमप्रकाश यादव, रामकरण यादव र अन्सी राइनले सफाइ पाएका छन् भने मुकेश चौधरीलाई २० रुपैयाँ जरिवाना तोकिएको छ ।

२०६६ साल फागुन १७ गते होली पर्वकै दिन जनकपुरको शिव चोकमा सिंघानियाँको गोली हानेर हत्या गरिएको थियो ।

उनको हत्या आरोपमा प्रहरीले पूर्वमन्त्री साहसहित रामविनोद यादव, अन्सी राइन, योगेन्द्र सहनी, मनक लामा, ओमप्रकाश यादव, मुकेश चौधरी र रामकरण यादवलाई पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया