एकीकरणको पुनर्चर्चा (सम्पादकीय)

सम्पादकीय

    २०७६ साल असार २० गते शुक्रबार   

नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमबीच एकीकरण भएर बनेको समाजवादी पार्टी, नेपाल र राजपा नेपालबीच एकीकरणको प्रयास पुनः सुरू भएको छ । यसका लागि दुवै पक्ष अनौपचारिक सम्वादमा जुटेका छन् । तत्कालीन संघीय समाजवादी फोरम नेपालले राजपा नेपालसँग एकीकरण गर्न गत पुसमै पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरिएको थियो ।

नयाँ पार्टी बने पनि अहिले त्यही समितिमार्फत् राजपा नेपालसँग एकीकरणको लागि वार्ता भइरहेको छ । समाजवादी पार्टी जन्मिनु अघि पनि राजपा र तात्कालीन फोरमबीच पटक पटक एकीकरणको प्रयास भएको थियो । यद्यपी त्यतिबेला दुई पक्ष औपचारिक/अनौपचारिक सम्वाद नगरे पनि पत्रमार्फत् एक अर्काको धारणा आदान–प्रदान भने गरेका थिए । राजपाले त्यतिबेला फोरमलाई सरकार छाड्ने सर्त राखेको थियो भने अहिले पनि उसको यो अडान कायमै रहेको छ ।

राजपा नेपालले सरकार छाड्ने सर्त अघि सारेपछि तत्कालीन फोरम नेपालको एकताको सम्वाद नयाँ शक्तितिर सोझिएको थियो । अन्ततः दुई दलबीच वैशाख २३ गते एकता घोषणा भयो । एकीकरणमा राजपा नेपाललाई पनि सहभागी गराउने प्रयास भएको थियो तर राजपा नेपालले त्यहाँ पनि सरकार छाड्ने सर्त अघि सारेपछि एकीकरण प्रक्रियामा सहभागी भएन ।

फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरण भएर समाजवादी पार्टी, नेपाल गठन भएपछि अहिले राजपा नेपालसँग एकीकरणका लागि पुनः सम्वाद सुरू भएको छ । एकीकरणबारेमा राजपा नेपाल पनि सकारात्मक छ तर केही कुरामा उनीहरूको असहमति रहेको छ । समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र राजपा नेपालका नेता राजेन्द्र महतोबीच जनकपुरधाममा गोप्य वार्ता पनि भएको छ । जनकपुरधाममा भएको वार्तामा दुवै पार्टीबीच एकीकरणको विषयमा छलफल भएको थियो ।

जनकपुरधाममा भएको सो छलफलमा यादव र महतो दुवै पार्टी एकीकरणका लागि सहमति बिन्दुको नजिकमा पुगेको दुवै पार्टीका नेताहरूले दाबी गरेका छन् । राजपा नेपाल अहिले प्रतिपक्षी दल हो भने फोरम नेपाल सत्ता साझेदार दल हो । प्रदेश २ मा राजपा र फोरमको संयुक्त सरकार छ । आफ्ना मागहरू पुरा नगरेको भन्दै राजपा नेपालले सरकारको कडा रूपमा आलोचना गर्दै आइरहेको छ भने संघीय समाजवादी फोरम नेकपा नेतृत्वको सरकारले गरेका कतिपय निर्णयमा फरक मत राख्दै आएको छ ।

मधेशी जनता मधेशका दलहरू संगठित भएको देख्न चाहन्छन् । मधेशी दलहरूको टुटफुटको नियति मधेशका लागि एउटा अभिशापको कारक बन्दै आएको छ । त्यसैले यतिखेर काठमाडौंमा बजेको एकताको धुनले मधेशलाई मोहित पार्नुपर्ने हो । तर त्यसो हुन सकिरहेको छैन ? किन होला ? मधेशी राजनीतिमा दुई फरक पृष्ठभूमि र धारको प्रतिनिधित्व गर्ने महन्थ ठाकुर र उपेन्द्र यादवबीचको चमत्कारिक आलिंगनले सबैलाई आश्चर्यमा पारेको छ ।

ठाकुरसँंग राष्ट्रिय सफा छवि छ र उनी मधेशी मुद्दाप्रति इमानदार छन् भन्ने लोकबुझाइ छ । यादवसँग आन्दोलनको साइनो जोडिएको र मधेशको एउटा बहुंसख्यक जातिको आधार छ । त्यसकारण यो दुईको मिलनले मधेशमा मधेशी दलहरूको खस्कँदो आधारलाई उकास्छन् र त्यसलाई टेवा दिन बल पु¥याउँछन् भन्ने राजनीतिक शतरञ्जको खेलमा देखापरेको पछिल्लो रणनीति हो ।

राजपा र समाजवादीको एकीकरण प्रयासलाई स्वाभाविक चाहना, स्थानीय आवश्यक्ता र विगतको दूरीबाट सिकेको पाठको दबाबभन्दा पनि अन्य पक्षको उत्प्रेरणालाई महत्वपूर्ण कारक मानिँदैछ । यतिखेर मधेशमा नयाँ वैकल्पिक शक्तिको पनि सम्भावना उत्तिकै छ ।

केही नयाँ अनुहारहरू अगाडि आउने स्थिति बन्दै गरेको छ । उनीहरू ताजा आन्दोलनमार्फत मधेशमा एउटा लोकप्रिय जनमत बनाउन सक्छन् । किनभने आगामी चुनावी कुस्तीमा यतिखेरका कैयौं दिग्गजहरूले धुल चाट्ने अनुमान गरिँदैछ । पछिल्ला सत्ता अभ्यासहरूले मधेशी नेतृत्वलाई मात्रै होइन, मधेशका अन्य सामाजिक पक्षहरूमा पनि भ्रष्टीकरणको प्रवृत्ति हुर्र्किएको छ । जनता काठमाडौंसंँग अधिकार खोज्नुका साथसाथै यिनीहरूसँग पनि आजित छन् । मधेशमा भए गरेका कुशासनप्रति मौन बसी फगत काठमाडौंलाई गाली गरेर मात्रै मधेशमा ताली खाने स्थिति अब छैन ।

यति हुँदाहुँदै पनि एकताको आवश्यक्ता छ । तर अहिले बहुचर्चित राजपा र समाजवादीको मिलनको प्रक्रिया भने अस्वाभाविक देखिँदैछ । किनभने नाम, झण्डा, कार्यसमिति, विधान सबै विषयहरू जटिल र पेचिलो छ । तर हिजोका दिनमा यी दुइटै नेतृत्व किन दुई ध्रुवमा रहे र यसले मधेशलाई के घाटा पुग्यो, यसको बारेमा जवाफ दिन कोही तयार देखिँदैन ।

त्यस्तै राजनीतिक दर्शनका बारेमा पनि श्यामश्वेत पक्ष बाहिर ल्याइँदैन । अस्वाभाविक गठजोडको नियति पनि अस्वाभाविक नै हुन्छ, अर्थात यो गठबन्धनले मूर्तरूप लिए पनि यसको दिगोपनाप्रति अहिले पनि मधेशमा आशंका छ ।

तपाईको प्रतिक्रिया