थाकस भेलाको निर्णय : भाद्र ७ गते विद्रोह दिवसको रुपमा मनाउने र अर्को विद्रोहको तयारी गर्ने

राजनीति

कारी महतो

       

चितवन, २४ असार । चितवनको सौराहामा असार २१ र २२ गते भएको थारु कल्याणकारिणी सभा (थाकस) को एकिकृत थरुहट राष्ट्रिय भेला सम्पन्न भएको छ ।

भेलाले तयार पारेको २१ बुँदे सौराहा घोषणापत्र सोमबार भरतपुरमा पत्रकार सम्मेलन गरी जारी गरिएको छ । थाकसका महामन्त्री प्रेमीलाल चौधरीद्वारा हस्ताक्षरित सौराहा घोषणा पत्रको केहि बुँदामा सरकारसँग विभिन्न मागहरु गरिएको छ भने केहि बुँदामा भेलाको निर्णय र आगामि कार्यक्रमहरु बारे जानकारी गराइएको छ ।

घोषणा पत्रमा रेशमलाल चौधरी लगायत बन्दी बनाइएका निर्दोष थारु राजबन्दीहरुलाई रिहाई र टिकापुर घटनाको छानबीनका लागि गठन भएको विभिन्न आयोगहरुको प्रतिवेदन सार्वजनिक एवम् लागू गर्न माग गर्नुका साथै थाकसका केन्द्रीय अध्यक्ष धनिराम चौधरी लगायत थारु नेता कार्यकर्ताहरु माथि लगाइएका झुठा मुद्दा खारेज गर्न माग गरिएको छ ।

थरुहट आन्दोलनका शहिदहरुलाई राज्यको शहिदहरुको अभिलेखमा सुचिकृत गर्नुपर्ने र टीकापुर बजारमा कफ्र्यु लागेको बेला २०७२ भाद्र ७ गते राति र ८ गते दिउँसो थारुहरुको घर, पसल, एफएम, रिसोर्ट आदिमा छानी छानी तोडफोड गर्ने, सम्पत्ति लुटपाट गर्ने र आगजनी लगायत थारु महिलाहरु माथि दुरव्यवहार गर्नेहरुलाई कानुनी कारबाही गर्नुपर्ने माग गरिएको छ ।

थाकसका केन्द्रीय अध्यक्षले कार्यवाहक दिने, थाकसको संयोजकत्वमा थरुहट÷थारुवान संयुक्त संघर्ष समिति पुनर्गठन एवम् विस्तार गर्ने, प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने, संगठन र भातृसंगठन सुदृढिकरण र शुद्धिकरण गर्ने, विभिन्न संघसंस्था र सरकारसँग वार्ता छलफल गर्न कार्यदल गठन गर्ने जस्ता निर्णय गरिएको कुरा घोषणा पत्रमा उल्लेख गरिएको छ ।

आन्दोलनका आगामी कार्यक्रमहरुमा भदौ ७ गते विद्रोह दिवस मनाउने, ग्रीन भेस्ट मुभमेन्ट अभियान चलाउने, दुई महिने हस्ताक्षर अभियान चलाउने, विभेदकारी संविधानका धारा उपधारा र अनुसुचिहरुको प्रतिलिपि जलाउने एवम् अर्को विद्रोहको तयारी समेत गर्ने कार्यदिशा तय गरिएको घोषणा पत्रमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा थाकसका केन्द्रीय उपाध्यक्ष कनुलाल चौधरी, केन्द्रीय सदस्य एवं पूर्व सभासद रुक्मिणी चौधरी, थाकस महिला उपाध्यक्ष विष्णु कुमारी चौधरी, महामन्त्री प्रेमीलाल चौधरी, थारु युवा सभाका केन्द्रीय अध्यक्ष कानूनलाल चौधरी, थारु विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरी, थारु महिला समाजका केन्द्रीय अध्यक्ष गीता चौधरी, थाकस चितवनका सभापति ललित कुमार चौधरी लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया