बेटी पढाउ, बेटी बचाउ अभियानअन्तर्गत मुख्यमन्त्रीद्वारा साइकल हस्तान्तरण

समाचार

       

जनकपुरधाम, २५ असार । बेटी पढाउ, बेटी बचाउ अभियानअन्तर्गत धनुषा जिल्लाको दुई माविलाई साईकल हस्तान्तरण गरिएको छ ।

मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले धनुषाको फुलगामास्थित गिरिजा मावि र कनकपट्टीस्थित सरस्वती माविका प्रअलाई साइकल हस्तान्तरण गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा मुख्यमन्त्री राउतले फुलगामा माविका प्रअ शितल यादव र कनकपट्टी माविका प्रअ अरविन्द यादवलाई साईकल हस्तान्तरण गर्नुभएको हो ।

कार्यालयले सरस्वती मावि कनकपट्टीलाई ४३ थान र गिरिजा मावि फुलगामालाई १ सय ३४ थान साईकल उपलब्ध गराएको छ । उक्त साइकल ती माविमा कक्षा ८ मा अध्ययनरत्त छात्राहरुलाई वितरण गर्ने भएको छ ।

प्रदेश २ सरकारले बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत आठै जिल्लाका १४ हजार छात्रालाई साइकल वितरण गर्न लागेको छ । यसअघि जनकपुरको कन्या मावि कक्षा ८ मा अध्ययनरत्त छात्रालाई साईकल वितरण गरिएको थियो ।

साइकल हस्तान्तरणको अवसरमा समाजवादी पार्टी नेपाल प्रदेश २ का संसदीय दलका उपनेता रामअशिष यादव, प्रमुख सचिव दिपक सुवेदी, कानुन सचिव कोमल खत्री लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया