नामकरण प्रस्ताव बहुमतले अस्वीकृत

समाचार

       

जनकपुरधाम, १६ असार । धनुषाको नगराइन नगरपालिकाको नाम स्वर्गीय महेन्द्र नारायण निधि राख्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिका बुवा स्वर्गीय महेन्द्रनारायण निधिका नामबाट नगरपालिकाको नामकरण गर्ने नगरप्रमुख प्रमेश्वर यादवको प्रस्ताव नगरसभा बैठकबाट अस्वीकृत भएको हो । नगरपालिकाको नामकरण गर्ने विषयलाई लिएर पटक पटक नगरसभाको बैठक स्थगित भएको थियो ।

गत वर्ष पनि नगरप्रमुख यादवसहित कांग्रेस जनप्रतिनिधिले नगरपालिकाको नाम परिवर्तन गर्न चाहेका थिए । तर विपक्षी नेकपाका वडा अध्यक्ष एवं सदस्यले नामै परिवर्तन गर्नु परे गणतन्त्रका लागि शहादत दिएका शहीद दुर्गानन्द झाको नामबाट राख्नुपर्ने अडान लिएका थिए । प्रतिपक्षी कांग्रेस र समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिध विरोधमा गएपछि नामकरणको प्रस्ताव अस्वीकृत भएको हो ।

नगरपालिकाको नाम परिवर्तन गर्न दुई तिहाइ बहुमत चाहिन्छ । नगराइन नगरपालिकामा कुल ५९ कार्यपालिका सदस्य छन् । जसमध्ये करिब ३४ जना भएपछि मात्र नाम परिवर्तन हुन्छ । तर कांग्रेसको मात्र २९ जना छन् । नाम परिवर्तनका लागि ५ जना अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधि चाहिन्छ ।

तपाईको प्रतिक्रिया