लगातारको वर्षाका कारण मधेश डुबानमा, पूर्वतयारी फितलो

समाचार

       

काठमाडौं, २७ असार । दुई दिनदेखिको लगातारको वर्षाका कारण मधेश डुबानमा परेको छ । बिहीबारदेखि सुरु भएको वर्षाले पानीको निकास पर्याप्त नभएपछि डुबानमा पर्ने गरेको देखिएको छ ।

बाढी आउनुपूर्व नै मधेशका प्रायः ठाउँहरु डुबानमा परेका छन् । एकातिर असारमसान्तको अन्त्यमा असारे विकास जोडतोडका साथ चलिरहेको बेला बाढीले डुबान ठूलो समस्या देखिएको छ ।

स्थानीय सरकारहरुले बाटो बनाउने तथा पानीको निकासका लागि व्यवस्थापन नमिलाउने कारणले गर्दा डुबानको समस्या बढेको हो । अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका पनि जलमग्न भएको छ ।

वर्षाले नगरका सडक जलाशयमा परिणत भएको छ भने उपनगरपालिकाको घर–घरमा पानी पसेको छ । निकास नभएका कारण जनकपुरधामस्थित सरकारी कार्यालय डुबानमा परेको छ ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वन कार्यालय, आन्तरिक राजश्व कार्यालय, राष्ट्रिय समाचार समिति, हुलाक कार्यालय, वन निर्देशनालयलगायतका कार्यालय परिसरमा तीन फिटसम्म पानी जमेको छ ।

यसैगरी, मधेशका सिरहा, सप्तरी, महोत्तरी, मोरङ, सुनसरी, झापा, रौतहट लगायतका अधिकांश ठाउँमा डुबानमा परेका छन् । वर्षाको पानीको निकासभन्दा पनि असारेमा स्थानीय सरकार केन्द्रित हुँदा अहिले डुबानको समस्या देखिएको हो ।

हरेक वर्ष वर्षात्को समयमा डुबान हुने समस्या देखिने गरेका छन् । यसबाट बच्न वा त्यसबाट हुने क्षति कम गर्न अहिलेसम्म पूर्वतयारी देखिएको छैन ।

तपाईको प्रतिक्रिया