विकासोन्मुखबाट विकासशील बनाउने लक्ष्य लिएको छु : सियाराम राय

मेयर, हरिपूर्वा नगरपालिका, सर्लाही

स्थानीय सम्वाद्

       

हरिपुर्वा नगरपालिका २०७३ फाल्गुन माहिनामा नेपाल सरकारको निर्णय अनुसार साविक गाविसहरू हरिपुर्वा, बसन्तपुर र धन्कौलपुर्व सम्मिलित गरी गठन गरीएको नगरपालिका हो । यो नगरपालिका मध्यामाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चलभित्र पर्ने सर्लाही जिल्लाको दक्षिण पूर्वमा अवस्थित रहेको नगरपालिका हो । यो नगरपालिका जम्मा ९ वटा वडामा विभाजन गरीएको छ । हरिपुर्वा बजार वडा नं ५ यसको प्रमुख केन्द्र हो ।

० तपाइँको नगरपालिकामा बाढी र डुबानको अवस्था कस्तो छ ?

— सुरूको दिनमा हाम्रो नगरपालिकामा धेरै भयावह अवस्था थियो । आजसम्म मैले यस्तो बाढी देखेको थिएन । त्यो बाढीमा हाम्रो नगरपालिकाका केही घरहरू डुबानमा प¥यो तर कुनै मानवीय क्षति भएन । किनकि हामीले पहिले नै यहाँका जनतालाई सचेत गराइसकेका थियौं कि यो अविरल वर्षाका कारण बाढी र डुबानको समस्या हुन सक्छ । बाढी आउँदा हाम्रा नगरपालिकाका जनता पहिला नै सुरक्षित स्थानमा गइसकेका थिए । बाढी आउने बित्तिकै हामीले उद्धारको कार्यमा खटाएका थियौं । बाढी लगत्तै हामीले राहतहरू पनि बाँड्यौं । त्यसैले, हाम्रो नगरपालिकामा जनतालाई तुरून्त राहत र उद्धारमा लागेका थियौं ।

० भौतिक संरचनामा कतिको क्षति भएको छ ?

— हाम्रो नगरपालिकामा भौतिक संरचनामा खासै क्षति गरेको छैन । केही स्थानमा फुसका घरहरू भत्केका छन् । क्षति त भएको छ तर त्यो विषया हामीले विवरण संकलन गर्दैछौं । अब यहाँका जनजीवन सामान्य हुँदै गइरहेको छ ।

० विपद् व्यवस्थापनका लागि पूर्वतयार कस्तो छ ?

— प्राकृतिक प्रकोपहरूलाई कसैले रोक्न सक्दैन । तर, त्यसबाट हुन सक्ने क्षतिलाई अवश्य न्यून गर्न सकिन्छ । हामीले यसबाट बच्नका लागि तटबन्धहरू पनि निर्माण गरेका थियौं ।

० जनप्रतिनिधिको रूपमा निर्वाचित भएर आएदेखि के कस्ता कामहरू गर्नुभयो ?

— मैले सोचेअनुसारको कामहरू गर्न सकेको छैन । गत वर्ष म अस्वस्थ्य भएको कारणले राम्ररी काम गर्न सकिएन । तर, यो आर्थिक वर्षका लागि पूर्ण तयारी अवस्थामा छु । पहिलो वर्ष मेरो व्यवस्थापनमा गयो, दोस्रो वर्ष मेरो अस्वस्थताका कारण भएन । तर, यो तेस्रो वर्षलाई पूर्ण विकास निर्माणको वर्षको रूपमा काम गर्ने योजनामा छौं । हामीले स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, सिंचाइ र कृषिलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने सोचमा छु ।

० विकास गर्न केकस्ता चुनौतीहरूको सामना गर्नुपरेको छ ?

— खासगरी यहाँका सामाजिक वातावरण नै ठूलो चुनौती हो । यहाँ पार्टीगत कुराहरू पनि आउँछन् । तर, खासगरी स्थानीय तहमा त पार्टीगत कुरा नै आउनु हुँदैन । किनभने यो सरकार प्रत्यक्ष जनताबाट निर्वाचित हुन्छ र विशुद्ध विकास निर्माणका लागि हुन्छ । तर, हाम्रो संस्कारमा यो कुरा नदेखिएकोले पार्टीगत कुराहरू आइरहन्छ । स्थानीय तहमा प्रतिपक्षको भूमिका छैन, यसको एउटा मात्र लक्ष्य हुन्छ विकास । त्यसैले, हाम्रो समाजमा सोच परिवर्तन नभएकोले विकासमा पनि राजनीतिकरण गर्ने कुराले अप्ठ्याराहरू आउने गरेका छन् ।

० सिंहदरवार गाउँ–गाउँमा गएको छ ?

— यो सही कुरा हो, सिंहदरवार गाउँ–गाउँमा आएको छ । यसमा म पूर्ण सहमत छु । संविधानले वडा कार्यालयलाई जुन अधिकार दिएको छ त्यो अधिकार मेयरलाई पनि छैन । वडाअध्यक्ष अधिकार दिनुको मतलबै हो सिंहदरवार गाउँमा । जनताले हरेक सेवा सुविधाहरू वडा कार्यालयबाट पाइरहेका छन् । तर, हाम्रा वडाअध्यक्षहरू त्यति शिक्षित छैनन्, सबै कानूनहरू बुझ्नुप¥यो । त्यसका लागि हामीले समय–समयमा क्षमता अभिवृद्धिका लागि वडाअध्यक्षहरूलाई तालिम पनि दिलाइरहेका छौं । त्यसैले सिंहदरवार गाउँमा आएकै हो र त्यसलाई कसरी व्यवहारमा उतार्ने त्यो हामीमाथि निर्भर छ ।

० भनेपछि, जनताले स्थानीय सरकारको अनुभूति गर्न पाएका छन् ?

— जब जनताले हरेक सेवा सुविधा आफ्नै गाउँ–ठाउँमा पाउँछन् भने स्थानीय सरकारको अनुभूति गर्न नपाउने कुरै छैन । तर, २० वर्षको जनप्रतिनिधिविहीनताको अवस्थाले जनताको इच्छा र आकांक्षा अति धेरै छन् । स्थानीय सरकार आउने बित्तिकै सबथोक पूरा भइहाल्छ भन्ने किसिमका चाहनाहरू छन् । तर, एकैचोति रातारात चमत्कार हुँदैन । त्यसका लागि केही समय लाग्छ ।

० तर, कतिपय अधिकारहरू अहिले पनि संघले दिएको छैन भन्ने गुनासाहरू पनि छन् नि ?

— शिक्षा क्षेत्रमा मात्र त्रुटि छ । अहिलेसम्म २०२८ सालको शिक्षा ऐनद्वारा सञ्चालित छ । शिक्षको सरूवा बढुवा गर्ने अधिकार संघले राखेको भने सञ्चालक समिति पनि छ । शिक्षकलाई तलब खुवाउनका लागि मात्र संघले भारी बोकाएको छ । जब स्थानीय सरकारलाई तलब खुवाउने जिम्मा दिएको छ भने सञ्चालक समितिको के काम छ ? विद्यालयहरूमा दोहोरो शासन छ । शिक्षाको क्षेत्रमा स्थानीय तहलाई व्यवहारमा केही पनि अधिकार छैन । शिक्षामा स्थानीय सरकारलाई नराम्ररी फँसाएको छ ।

० शिक्षाबाहेक सबै अधिकार स्थानीय तहमा आइसकेको छ ?

— स्थानीय सरकारले चलाउने शिक्षाबाहेक सबै अधिकार आएको छ । शिक्षा नीति त शिक्ष विद्ले बनाउने हो । राजनीतिक व्यक्तिले कस्तो शिक्षा नीति बनाउने हो । त्यसैले शिक्षाबाहेक हरेक अधिकार हामीलाई आइसकेको छ ।

० तपाइँ आफ्नो कार्यकालभित्र हरिपूर्वालाई कस्तो बनाउने सोच्नु भएको छ ?

— म आफ्नो कार्यकालभित्र हरिपूर्वालाई विकासोन्मुखबाट विकासशील बनाउने लक्ष्य लिएको छु । यहाँका जनताको जनजीवन कृषिमा आधारित छ । जनताको आर्थिक स्थिति सुधार्नका लागि हरेक किसिमका कार्यक्रमहरू सञ्चालन गर्दैछौं ।

तपाईको प्रतिक्रिया