बाढीको नाममा नाटक मञ्चन कहिलेसम्म ? (सम्पादकीय)

सम्पादकीय

    प्रकाशित मिति : २०७६ साउन ३ गते शुक्रबार   

प्रदेश २ को बाढी प्रभावित क्षेत्रमा केन्द्रीय सरकारका मन्त्री, नेताहरूले आकाशबाटै निरीक्षण गरेको समाचार आएको छ । केही दिनअघि भारी वर्षापछि प्रदेश २ को अधिकांश जिल्लाहरू प्रभावित भएपछि धनजनको क्षतिबारे जानकारी लिन उनीहरू बाढी पीडितको घरमा नगई आकाशे निरीक्षण गरी आ आफनो घर फर्केका छन् । बाढी पीडितको वास्तविक दुःख नबुझी आकाशे निरीक्षणको के अर्थ ?

पूर्वप्रधानमन्त्री र मन्त्रीहरूको जम्बो टोलीले प्रदेश २ को बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेको हो । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधानमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुनसहितको टोलीले प्रदेश २ को बाढी प्रभावित क्षेत्रको अनुगमन गरेको हो । टोलीमा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, विकास समितिका सभापति कल्याणी खड्का, राजपा अध्यक्षमण्डलका सदस्य अनिल झा, नेकपाका प्रदेश २ संयोजक एवं सांसद प्रभु साहलगायतका सहभागी थिए ।

काठमाडौंबाट हेलिकप्टर चढेर गएको टोली बाढी प्रभावितलाई नभेटी राजधानी फर्किए । रौतहटहुँदै सप्तरी, धनुषा र सर्लाहीमा बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेको टोलीले स्थानीय प्रशासनसँग क्षतिबारे जानकारी लिने काम मात्र गरे । रौतहटपछि सप्तरी पुगेको टोलीले हेलिकप्टरबाटै बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेको थियो । सप्तरीपछि जनकपुर विमानस्थलमा पुगेका टोलीले धनुषामा बाढीले पु¥याएको क्षतिबारे प्रदेश सरकारसँग जानकारी लिए ।

बाढी र डुबानले उठीबास लगाएको ६ दिनपछि निरीक्षणमा आएका मन्त्री र सांसदले आकाशबाट चक्कर लगाउँदा पीडितहरूको मुहारमा रोदन झन थपिएको थियो । एक हप्ताअघि सम्पूर्ण मधेश बाढी र डुबानको सकसमा सहँदा उनीहरू काठमाडौंमै थिएर ।

मधेशको भोटबाट काठमाडौंको राजनीतिमा रमाएका मधेशी नेताहरू पनि पीडितको घर दैलोमा जान चाहेनन । उनीहरू बाढी पीडितका लागि सहयोग गर्न अगाडि आउन सकेनन । मन्त्री–नेताहरूको बाढीग्रस्त क्षेत्रमा लर्को रहे पनि पीडितहरू भने राहत र पुनःस्थापना कुरिरहेका छन्र । ठूलो पानी पर्न रोकिएकाले डुबान र बाढीग्रस्त क्षेत्रका बासिन्दा आफैं तग्रिन थाले पनि खाना र बसाइको समस्या हटेको छैनर ।

बाढी र डुबानले प्रदेश २ मा ३४ जनाको मृत्यु भएको छर । १३ हजार ४४ परिवार विस्थापित भएका छन्र । ६ लाख ७९ हजार ६ सय १५ जना बाढी र डुबानले प्रभावित छन्  । ३ हजार ५ सय ७४ घर क्षतिग्रस्त छन्र । बाढी–डुबानले यतिधेरै जनधन क्षति गर्दा पनि मन्त्री–नेताहरूले आकाशबाट निरीक्षणको गर्नु भनेको उनीहरूको घाउमा मलमको सट्टा नून–चुक छर्कनु जस्तै हो ।

बाढीपीडित कसरी बसेका छन्, उनीहरूको अहिलेको आवश्यक्ता के हो त्यता तिर शीर्ष नेताहरूको ध्यान नगई नामका लागि मात्र निरीक्षण गर्नु राज्य कोषको दोहन हो । पीडितहरू अहिले पनि राहत र पुनस्र्थापनाको पखाईमा छन् भन्ने कुरा मन्त्री–नेताहरूलाई थाहा थिएन ? पीडितहरू अझै राहत पाएका छैनन् । ५ दिनदेखि बाढीले घर डुबानमा परेर सुरक्षित स्थानमा बसेका उनीहरूले हालसम्म दुई पोका भुजा मात्र राहत स्वरूप पाएका छन् ।

यसै हप्ताको पूर्वाद्धमा बसेको मन्त्रिपरिषद्को बैठकले बाढी, पहिरो र डुबान पीडितहरूको राहत, उद्दार र उपचारका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको थियो । बैठकले त्यसका लागि सबै निकायसँग समन्वय गरेर काम गर्न गृह मन्त्रालयलाई पनि निर्देशन दिएको थियो ।

तर गृह मन्त्रालयकै जिम्मेवारी लिएका थापाले बाढी पीडितहरूको नाममा कुनै प्रकारको राहतको घोषणा नगर्नु केन्द्र सरकारकै नालायकीपन देखाउँछ । साथै गृह मन्त्रीसँग पुगेका अन्य मन्त्रीहरू र साथै मधेशी नेताहरू पनि मुक दर्शक हुनु भनेको उनीहरूमा पनि बाढी पीडितहरूप्रति सरोकार नभएको देखाउँछ ।

तपाईको प्रतिक्रिया