महाधिवेशनपछि मात्रै एकीकरण : सर्वेन्द्रनाथ शुक्ल

वरिष्ठ उपाध्यक्ष, राष्ट्रिय जनता पार्टी नेपाल

अन्तर्वार्ता

    प्रकाशित मिति : २०७६ साउन १० गते शुक्रबार   

० अहिले राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच एकीकरणका लागि जोडतोडका साथ कुरा चलिरहेको छ, निष्कर्षमा पुग्ने आशा गर्न सकिन्छ ?

— पहिला पनि उपेन्द्र यादव नेतृत्वको पार्टीसँग एकताका लागि कुरा भएको थियो । तर, त्यो एकताको कुरा पार्टीगतरूपमा पार्टीको आकांक्षामा आधारित थियो । यसपटकको एकीकरण अहिले नेपालको परिस्थितिले उब्जाएको बाध्यता हो । विगतको चुनावमा एकातिर जनताले भारी बहुमतले वाम गठबन्धनलाई जिताए भने कांग्रेसलाई नकारेका छन् । अहिले नेकपाभित्र जुन किसिमको वाकयुद्ध, एकअर्काको खुट्टा तान्ने अभ्यास भइरहेको छ र अर्को कांग्रेस पनि एकजुट भएर प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेको छैन । त्यसकारणले जनताले कुनै विकल्प देखेको छैन । नेपालको राजनीतिमा अहिले एउटा शून्यताको स्थिति देखा पर्न थालेको छ । त्यसैले आगामी निर्वाचनसम्म त्यो शून्यतामा कसले स्थान लिने र त्यो शून्यता पूरा गर्नुपर्ने राजनीतिक आवश्यकता हो । किनभने जनता तुरून्त कांग्रेसतिर फर्किने अवस्था छैन, नेकपाको परिस्थिति पनि दिनानु खस्किँदै गइरहेको छ । ती कुरालाई मध्यनजर गर्दै एउटा विकल्पको रूपमा प्रस्तुत हुन सकिन्छ कि भन्ने एउटा बुँदा छ । अर्को कुर हामी अलग–अलग भएर लड्यौं, त्यत्रो सहादत भयो, त्यसपछि यो राज्य र सरकार उत्पीडितहरूप्रति विल्कुलै संवेदनशील बन्न सकेको छैन । जसले गर्दा हाम्रा माग, जनताका अधिकारका कुराहरू तत्कालै पूरा हुने स्थिति देखिँदैन । जब सरकार संवेदनहीन छ, उसको कान बन्द छ, त्यस्तो सरकारलाई बुझाउन एउटा शक्ति चाहिन्छ । त्यो शक्ति भनेको अहिलेका उत्पीडित वर्ग एकजुट नभइकन प्रतिवाद गर्न सकिन्न । त्यसलाई मध्यनजर गर्दै समाजवादी मात्रै होइन, अरू पनि विभिन्न पहिचानवादी शक्तिहरूसँग एकताको प्रयास गरिरहेका छौं । राज्यको निरंकुशता, संवेदनहीनता, गैरजिम्मेवारीपनालाई हटाउन वैकल्पिक शक्ति चाहिन्छ ।

० यसपटकको एकता प्रयास कसरी सफल हुन्छ त ?

— हेर्नुस्, यो बाध्यता छ । जब कुनै कुरा बाध्यतामा आएर गर्नुपर्छ, त्यसमा भाग्ने ठाउँ नै रहँदैन । त्यहाँ नाफा र नोक्सानको हिसाब गर्ने विकल्प रहँदैन । कांग्रेस, एमाले र माओवादी तीनटै मिलेर उत्पीडित वर्गलाई सखाप गर्न जहिले पनि यिनीहरूको सहमति हुने गरेको छ । उनीहरू डर छ भने मधेशी राजनीतिक दलसँग मात्रै । त्यसैले यो सिद्धान्तलाई मान्ने सबैलाई समेटेर हामी अगाडि बढ्नुको विकल्प छैन । समय लाग्न सक्ला । तर, यो बाध्यता छ । चुनावभन्दा धेरै पहिला नै यो एकतालाई टुंगोमा पु¥याउनुपर्ने कार्यभार हाम्रो अगाडि आइसकेको छ । हामी त्यसैमा अगाडि बढिरहेका छौं ।

० कुन–कुन बुँदामा तपाइँहरू सहमतिनजिक हुनुहुन्छ ?

— अहिले हामीबीच प्रारम्भिक कुरा मात्रै भएको छ । हाम्रो लक्ष्य एउटै हो भन्ने बुँदामा पुगेका छौं । हामी एक नभइकन हाम्रा मागहरू पूरा हुन सक्दैन । कि हामीले माग छोड्नुप¥यो, कि एक हुनुप¥यो । हामी माग छोड्न सक्दैनौं, अधिकारको लडाइबाट भाग्न सक्दैनौं, त्यसैले एक हुनुको विकल्प छैन । कुन बाटो हिंडेर कति समयमा हामी एक हुने त्यो हाम्रो हातमा छ । त्यसमा हामी काम गरिरहेका छौं । लक्ष्यमा पुग्न हाम्रो दुवै हाइकमाण्ड सहमत छन् । हामी लक्ष्यमा पुग्नुपर्छ र पुग्छौं नै । औपचारिक/अनौपचारिक वार्ताद्वारा, व्यक्तिगत हिसाबले कुराहरू भइरहेको छ । अहिलेसम्म जति पनि कुराहरू भइरहेका छन्, सकारात्मक भएका छन् ।

० तर, समाजवादी पार्टी सत्तारूढ दल हो र तपाइँहरू प्रतिपक्ष हुनुहुन्छ । यसले एकतामा कतिको अप्ठ्यारो भइरहेको छ ?

— जुन दिन हाम्रो एकताको तिथिमिति तय हुन्छ, त्यो दिन नै समाजवादी पार्टी सरकारबाट बाहिर आउँछ । उपेन्द्रजीले त्यस बारे सांकेतिकरूपमा बोलिसक्नुभएको छ । उहाँ अहिले सत्तामा हुनुहुन्छ, जुन दिन बिट मार्ने दिन आउँछ, त्यो दिन सत्ताबाट बाहिरिने स्पष्टरूपमा बोल्नुपर्ने हुन्छ र बोल्नुहुन्छ भन्ने कुरामा हामी विश्वस्त छौं । एकताको समय नजिकिँदै गएपछि उपेन्द्रले आफ्नो वाचा पूरा गर्नुहोला । किनभने हामीसँग पनि ओलीजीले वाचा गरेर विश्वासको मत लिनुभएको थियो । हामीसँग गरिएको वाचा पूरा हुने अवस्था हामीले देखेनौं अनि आफ्नो विश्वासको मत फिर्ता लियौं । तर, उपेन्द्रजी सरकारमै हुनुहुन्छ, कुर्सीमा बसिरहनुभएको छ, जिम्मेवारी बोकिरहनुभएको छ । अब तुरून्त फर्किनुहुन्छ कि के गर्नुहुन्छ, थाहा छैन । तर, जब एकअर्कामा समिश्रण हुने दिन आउँछ त्यो बेला हात मिलाउनका लागि एउटै धरातलमा उभिनुपर्छ । एउटा मान्छे एक तल्लामाथि र अर्को मान्छे भुइँतल्लामा उभिएर त हात मिलाउन सकिँदैन नि । कि दुईटै छतमा पुग्नुप¥यो वा दुईटै भुइँतल्लामा उभिनुप¥यो । यो परिस्थिति बनाउनका लागि उपेन्द्रजी मानसिकरूपमा तयार हुनुहुन्छ ।

० उपेन्द्र यादवले संविधान संशोधनका लागि सहमति गरेर सरकारमा गए तर संशोधनको पक्षमा केही पनि गराउन नसकेपछि राजपासँग एकीकरणको कुरा अगाडि बढाएको र यसमा राजपा समाजवादीको रणनीतिक चालको शिकार बन्दै गएकोे विश्लेषण गरिँदैछ नि ?

— समाजवादी पार्टीको रणनीतिक शिकार राजपा हुन लागेको कुरा धेरै भन्न थालेका छन् । तर, हामी रणनीतिक शिकार होइन, हामी आफ्नो रणनीति बनाउने ठाउँमा गइरहेका छौं । यदि कसैले भन्छ कि राजपा रणनीतिक शिकार भयो र समाजवादीले राजपासँग मिल्न लाग्यो भन्छ भने उनले हाम्रो प्रतिस्पर्धी समाजवादी मात्र हो वा समाजवादीको प्रतिस्पर्धी राजपा मात्र हो भन्ने सोच्छ भने उसको विश्लेषण सही हो । तर, हाम्रो लक्ष्य त्यति मात्रै होइन । हाम्रो लक्ष्य त वैकल्पिक शक्ति निर्माण गर्ने हो । यदि हामी वैकल्पिक शक्ति बनाउन लागेका छौं भने हाम्रो आपसी प्रतिस्पर्धाले खासै महत्व राख्दैन । त्यसैले त्यो आपसी प्रतिस्पर्धाको कुरा होइन ।

० एकताको बाधक अहिले नेता कि नीति ?

— यो एकतामा कसैको बाधाले कुनै काम गर्दैन । जब बाध्यता हुन्छ, आफूलाई बचाएर अगाडि बढ्न त्यो मात्रै बाटो हुन्छ । जो यो कुरालाई बुझेका छैनन्, उसले अज्ञानतावश विरोध गरिरहेका होलान् । यो एकताको बाधक म कसैलाई पनि देख्दिँन । कसैले यदि विरोध गर्छ भने उसले वास्तविकतालाई बुझेका छैनन् । वास्तविकता बुझेर यदि कसैले विरोध गरिरहेका छन् भने त्यो कांग्रेस र नेकपाको समर्थक भएर मधेशवादी चिन्तनको विरूद्ध छ भन्ने कुरा हामी बुझ्छौं ।

० राजपाले अहिलेसम्म आफ्नो महाधिवेशन गर्न सकेको छैन । अहिले समाजवादीसँग एकताको कुरा चल्दैछ । पहिले एकता कि पहिले महाधिवेशन ? राजपाको पहिलो अभिभारा के हो ?

— निश्चितरूपमा हाम्रो पहिलो लक्ष्य महाधिवेशन हो । तर, नेपालमा नयाँ एकीकरणको प्रक्रिया हामीले सुरू गरेका हौं । एकैचोटि छ वटा दल एकीकरण गर्ने अभ्यास सबभन्दा पहिला इतिहासमा राजपाले राख्यो । त्यसपछि हाम्रो देखासिकी नेकपा एमाले र माओवादीले पनि ग¥यो । नेकपाले दुई महिनाभित्र एकीकरण प्रक्रिया पूरा गर्छु भन्दाभन्दा दुई वर्ष हुन लाग्यो । हामीले पनि एकीकरणका प्रक्रिया एक वर्षमा पूरा गर्छौं भन्यौं तर हाम्रो दुई वर्ष हुन थाल्यो । राजपाको एकता प्रक्रियामा ढिलाइ हुनुको मुख्य कारण के हो भने सुरूमै गलत सिद्धान्त अपनायो । राजपाले असमानतालाई नै समानताको रूपमा ग्राह्य ग¥यो र त्यसले बारम्बार हाम्रो अधिवेशनका लागि बाधा खडा गर्दै आएको छ । तर अहिले छैन । अहिले बाढीले गर्दा ढिलाइ भइरहेको छ । नत्र हामीले साउनभित्रै वार्ड अधिवेशनहरू पूरा गर्ने योजनामा थियौं । अधिवेशन गर्ने बाटोमा अगाडि बढ्दै बढ्दै एकीकरणको प्रक्रिया अगाडि बढाउनुपर्छ । नीति र सिद्धान्त लगायतका सम्पूर्ण कुराहरू टुंगो लागिसकेपछि हुन्छ ।

० एकीकरणको कुरा भइरहँदा फेरि महाधिवेशन टर्ने हो कि ?

— यो आशंका सही हो । अहिले एकीकरणको कुरा भइरहेको छ भने किन महाधिवेशनका लागि दौडधुप गर्ने भन्ने आलस्यपना कार्यकर्ताभित्र देखिएको छ । तर, त्यसलाई हामीले चिर्नुपर्छ । जसरी भए पनि हामी आफ्नो महाधिवेशन चाँडोभन्दा चाँडो पूरा गर्नुपर्छ । पश्चिममा हाम्रो संगठन कमजोर थियो, त्यहाँ हामी धेरै जोडतोडका साथ लागेका छौं ।

० वर्षेनी बाढी र डुबानबाट तराई–मधेशमा ठूलो धनजनको क्षति हुने गरेको छ । यसलाई नियन्त्रण गर्ने वा यसको व्यवस्थानतिर सरकारको ध्यान किन नगएको होला ?

— मधेशको विकास, समृद्धिप्रति यो सरकार कहिल्यै पनि संवेदनशील थिएन, जनसंख्याअनुसार बजेटको वितरण कहिल्यै पनि भएन । त्यही विभेदको विरूद्धमा हामी लडाई लड्दै आइरहेका छौं । यो सरकारले मात्रै होइन, विगतका सरकारहरूले पनि मधेशलाई कहिल्यै पनि विकास र समृद्धितर्फ लान खोजेन । यो सरकार विभेद गर्न एकदम माथिल्लो तहमा पुगेको छ । मधेशमा जतिसुकै बाढी आओस्, आगलागी होस्, खडेरी परोस्, सरकारले कुनै मतलब राखेको छैन । केन्द्रीय सरकारको रवैया अहिलेको बाढीमा जसरी देखियो, यसले स्पष्ट हुन्छ । त्यसमा हामीले धेरै टिकाटिप्पणी गरिरहनुपर्ने आवश्यक छैन ।

दोस्रो महत्वपूर्ण कुरो के छ भने नेपालले एउटा कुरा के बुझ्नुपर्छ भने बाढी र डुबानको समस्या नेपालको मात्रै होइन, नेपाल र भारतको संयुक्त समस्या हो । संयुक्तरूपमा बाढी पहिरो र यसले गरेका नोक्सानीहरू भोगिरहेका छन् । त्यसैले, यसको विरूद्धमा संघर्ष गर्नका लागि जबसम्म नेपाल र भारत संयुक्तरूपमा प्रस्तुत हुँदैन, तबसम्म यसको नियन्त्रणको उपाय निस्कदैन । बाढी नियन्त्रण गर्नका लागि विभिन्न विकल्पहरू छन् । जुन खोलाहरूका कारण नेपाल र भारत दुवैका लागि घातक छन् त्यसका लागि संयुक्त तटबन्धहरू निर्माण गर्नुपर्छ । यसका लागि रौतहट आसपासको क्षेत्रमा तटबन्धन निर्माणका लागि ४० को दशकमै सम्झौता भएको थियो । तर, ती कुराहरू अगाडि बढ्न सकेन ।

सन् १९५४ मा भारतका प्रधानमन्त्री आउँदा ती विषयहरूमा गम्भीर कुराहरू भएको थियो । तर, विभिन्न कारणले अहिलेसम्म त्यो सुरू हुन सकेको छैन । सतहीरूपमा नेपाल र भारतको सम्बन्ध राम्रो छ भन्छौं तर विभिन्न बहानामा भारतलाई गाली गर्न हामी पछाडि पर्दैनौं । त्यसैले, यो संवेदनशीलतालाई विचार गरेर दुवैतिरका जनतालाई विश्वासमा राखेर दुवै सरकारले संयुक्तरूपमा बाढीको समस्या समाधान गर्नु संयुक्त दायित्व हो । यसबाट मधेशलाई नै बढी फाइदा हुने भएकोले यो सरकारले खासै मलतब राखेको छैन । जहाज चलाउने, रेल बनाउने कुरामा यो सरकार व्यस्त छ । तर, जुनको धरातलमा अध्ययन, सम्भाव्यता र डिपिआरसमेत भइसकेको अवस्थामा पनि सरकारको अग्रसरता देखिएको छैन । किनभने शासकवर्गले मधेशलाई महत्वपूर्ण भागको रूपमा विकसित गर्न चाहँदैन । मधेश र मधेशीप्रति सरकारको कुनै लगाव नभएकोले यी योजनाहरू अगाडि बढेको छैन ।

० भारतकै बाँधका कारण मधेशका कतिपय भूभागहरू डुबानमा पर्ने गरेको भन्ने कुरा पनि आउँछन्, यसलाई कसरी हेर्नुभएको छ ?

— यो चाहिँ के हो भने म अद्र्धनग्न भएर हिंडिरहेको छु, मैले आफ्नो कमी लुकाउनका लागि मभन्दा पनि अगाडि कोही मभन्दा पनि कम लुगा लगाएर हिंडिरहेका छन् भन्ने जस्तो हो । ध्यान अर्कोतिर घुमाउनका लागि गरेको कुरा मात्रै हो । यस्तो कुनै समस्याहरू छन् भने नेपालका प्रधानमन्त्री भारत जाँदा यी कुराहरू भएको थियो । त्यसका लागि एउटा संयुक्त टीम बनेको थियो, उसले कहाँ काम गर्ने, कसरी गर्ने भन्ने निर्धारण हुन नसकेको पछाडि के कारण छ त ? त्यो कारणमा नेपाल गम्भीर हुनुप¥यो नि । हल्ला धेरै छन्, सत्यता त्यसमा थोरै मात्रै लुकेको छ । कुन कुरो सत्य हो त्यसमा दुवै सहमत भइसकेका छन्, तर त्यसअनुसार कार्यान्वयन हुन सकेको छैन । यसमा दुवैतिरको कमजोरी छ । मूल कमजोरी विश्वासको संकट हो । जबसम्म एकअर्काप्रति विश्वास हुँदैन तबसम्म समस्या समाधान हुँदैन ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया