सिंहदरबारको ‘सिंह’ मात्र गाउँमा पुगेको छ : हरिनारायण प्रसाद साह

अध्यक्ष, परवानीपुर गाउँपालिका, बारा

स्थानीय सम्वाद्

    प्रकाशित मिति : २०७६ साउन १० गते शुक्रबार   

० तपाई निर्वाचित हुनुभएसँगै आफ्नो गाउँपालिकामा के–कस्ता कामहरू गर्नुभएको छ ?

— हामीले सबै क्षेत्रलाई समेटेर काम अगाडि बढाएका छौं । शिक्षालाई विशेष जोड दिएका छौं, स्वास्थ्य क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राखेर काम अगाडि बढाएका छौं । यो सँगसँगै जनताका निन्तात आवश्यक्ता पूरा गर्नका लागि पूर्वाधारको विकासमा पनि ध्यान दिने काम गरेका छौं ।

० दुई वर्षसम्म काम गर्दा कस्ता चुनौतीहरू झेल्नुप¥यो ?

– लामो अन्तराल पछि जनताले जनप्रतिनिधि पाउँदाखेरी एकातिर खुशीको माहोल बनेको छ भने अर्कोतिर जनताको आकांक्षा बढी भएको हुँदा हामीले उनीहरूको चाहना अनुरूप काम गर्न सकिरहेको अवस्था छैन । त्यसका बाबजुत पनि हामीले जनताका प्रमुख आवश्यक्ताहरूलाई ध्यान दिएर काम अगाडि बढाउँछौं । जनताको प्राथमिकतालाई ध्यानमा राखेर क्रमशः समस्याहरू समाधान गर्ने प्रक्रियामा अगाडि बढेका छौं । दुई वर्षभित्र हामीले जति काम गरेका छौं, त्यो कामलाई मूल्यांकन गरेर आगामी दिनहरूमा स्थानीय सरकारले केही गर्छ भन्ने जनतामा आशा पलाएको छ । बिस्तारै चुनौती घट्दै गईरहेको छ र हामी सफलता तर्फ उन्मुख हुँदै गएका छौं ।

० स्थानीय सरकारको कामबाट जनता सन्तुष्ट छन् ?

– कामको हिसाबले सन्तुष्ट छन् ।

० नयाँ आर्थिक वर्ष २०७६/७७ का लागि तपाईको महत्वकांक्षी योजनाहरू के–के रहेका छन् ?

– हामीले शिक्षामा विशेष जोड दिएका छौं । जिल्लाको एउटा माध्यामिक विद्यालयमा तीन वर्षे बाली विज्ञान कार्यक्रम संचालन गरेका छौं । प्रदेश सरकारको चर्चित योजना बेटी बचाऊ, बेटी पढाऊलाई समर्थन गर्दै परवानीपुर गाउँपालिकाले अध्यक्ष बालिका उद्यान कार्यक्रम सार्वजनिक गरेको छ र यस अन्तर्गत छोरी जन्मेको ३५ दिन भित्र जन्मदर्ता गराए बैंकमा खाता खोलेर ५ हजार जम्मा गर्ने व्यवस्था मिलाएका छौं । त्यसमा हामीले ११ हजार ५ सय जम्मा गरिदिन्छौं भने सम्बन्धित बैंकले २ हजार गरिदिन्छ । यो २० वर्षका लागि हुन्छ । २० वर्षपछि त्यो एकमुष्ट रकम जसको नाममा रहेको छ उसले चाहेको क्षेत्रमा खर्च गर्न मिल्छ । अर्को हामीले अध्यक्ष नेत्रज्योति सेवा भनेर एउटा योजना सावर्जनिक गरेका छौ । यसमा गाउँपालिकाभरिका मोतियाबिन्दुको समस्या हुने जनताहरूलाई निःशुल्क उपचार गराइन्छ । पोहोर पनि गरिएको थियो भने यो वर्षका लागि पनि योजना बनेको छ । बाल विवाहलाई न्यूनीकरण गर्नका लागि हामीले यो वर्षदेखि अध्यक्ष बालिका सबल योजना सार्वजनिक गरेका छौं र त्यसमा हामीले स्नातक पास गरिसकेपछि मात्र जो अभिभावकले आफ्नो छोरीको विवाह गर्छन् त्यो अभिभावकलाई हामी ५१ हजार पुरस्कार स्वरूप प्रदान गछौं । समय समयमा रक्तदानका कार्यक्रमहरू पनि हामीले अगाडि बढाएका छौं । यससँगै कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राखेर सहज रूपमा मल र बिऊ उपलब्ध गराउने हिसाबले अगाडि बढेको अवस्था छ ।

० तपाईले भन्नुभएका योजनाहरूमध्ये दीर्घकालीन योजनाहरू पूरा हुनेमा कति विश्वस्त हुनुहुन्छ ?

— पहिले ती योजनाहरू सुरू गर्नुप¥यो । त्यसपछि जनताले त्यसलाई कसरी लिन्छन् त्यसमा भर पर्छ । हामीले अगाडि सारेका योजनाहरू जनताकै हितका लागि भएको हुनाले कुनै अवरोध हुन्छ जस्तो लाग्दैन ।

० निर्र्वाचनको समयमा भनिएकोे सिंहदरबार गाउँ गाउँमा भन्ने नारा त्यहाँका जनताले महसुस गर्न पाएका छन् ?

– नारा जुन हिसाबले लगाइएको थियो त्यति महसुस भएको छैन । नेपालको संविधानले जस्तो स्थानीय तहको परिकल्पना गरेको छ, त्यस्तो अधिकार स्थानीय तहले पाएको छैन । कृषि, शिक्षा, पशु, स्वास्थ्य जस्ता क्षेत्रहरू स्थानीय तह अन्तर्गत पर्ने भनेर संविधानमा उल्लेख गरिएको छ । अहिलेको संरचना हेर्दाखेरी हिजो जिल्ला कृषि कार्यालय रहेको थियो त्यसलाई हटाएर कृषि ज्ञान केन्द्रको नाममा एउटा अड्डा खडा गरिएको छ । त्यसै पशु ज्ञान केन्द्रको नाममा अर्को अड्डा खडा गरिएको छ । यसले गर्दा हामीले जुन काम स्वतस्फूर्त रूपमा अधिकार प्राप्त निकायमा रूपमा काम गर्नुपर्ने हो त्यो चाँहि अहिले महसुस भएको अवस्था छैन । भनाईमा सिंहदरबार गाउँ गाउँमा पुग्छ भन्ने हो तर व्यवहारत सिंहको सिंग मात्र गाउँमा आइपुगेको जस्तो लाग्छ ।

० प्रदेश सरकारसँग तपाईहरूको कस्तो सहकार्य हुने गरेको छ ?

— प्रदेश सरकारसँग हामीले सहकार्य गर्न सक्दो प्रयास गरेका छौं तर जति हुनुपर्ने हो त्यति हुन सकेको छैन । सशर्तको रूपमा ५० लाख रूपैयाँ प्रदेशबाट स्थानीय तहमा आउँछ त्यसमा पनि योजना किटान गरिएकै हुन्छ । बाँकी बजेट कति छ, पालिकामा कुन कुन योजना रहेका छन्, कति कति बजेट छुट्याइएको छ भनेर प्रदेश सरकारसँग सरसल्लाह हुने गरेको छैन ।

० तपाईको क्षेत्रमा बाढी पहिरोको जोखिम कति छ ?

– न्यून छ र अहिले तराई÷मधेशमा आएको बाढीबाट हाम्रो गाउँपालिका प्रभावित भएको छैन ।

० तपाईको ५ वर्षे कार्यकालमा परवानीपुर गाउँपालिकालाई कस्तो बनाउने योजना रहेको छ ?

– मेरो ब्याकग्राउड वन विज्ञान हो । म २० औं वर्ष सामाजिक क्षेत्रमा बिताएको व्यक्ति भएको नाताले शिक्षाको क्षेत्रमा उदाहरणीय गाउँपालिकाको रूपमा परवानीपुरलाई स्थापित गर्छु । मेरो कार्यकालमा यस क्षेत्रको बजारलाई व्यवस्थित गर्छु । भोलिको दिनमा यो गाउँपालिकालाई शिक्षाको हिसाबले उत्कृष्ट क्षेत्रको रूपमा चिनिने छ । त्यस्तै कृषि अन्तर्गत मेवा, केरा, मुनिगांको खेतीलाई विशेष महत्व दिएको छु । हाम्रो गाउँपालिकाको एउटा क्षेत्रलाई यसको हब नै बनाउने योजना रहेको छ । भोलिको दिनमा परवानीपुर गाउँपालिकालाई मेवाको हबको रूपमा चिनाउने मेरो एउटा सपना रहेको छ र त्यसै अनुरूप मैले आफ्नो कामलाई अगाडि बढाएको छु ।

तपाईको प्रतिक्रिया