एकीकरणको खिचडी (सम्पादकीय)

सम्पादकीय

       

नेपालको राजनीतिमा अहिले एकीकरण शब्द धेरै चर्चामा छ । तत्कालीन एमाले र नेकपा माओवादीबीच भएको एकीकरण प्रक्रिया अहिले पनि टुंगिएको छैन । पार्टी भित्रको अन्तर्विरोध, नेताहरूको स्वार्थ र पार्टीभित्र तत्कालीन एमाले र माओवादीको अवशेष रहनु आदि थुप्रै कारणले पनि नेकपाको एकीकरण यात्रामा पूर्ण विराम लागेको छैन । नेकपा गठनको एक वर्ष पूरा भइसक्दा पनि उसको एकीकरण यात्रा अझै टुंगिएको छैन र यसले नेपाली राजनीतिलाई तरंगित बनाइरहेको छ । नेकपा जस्तै अहिले दुई मधेशवादी र दुई राजावादी पार्टीहरूबीच पनि एकीकरणको चर्चाले राजनीतिलाई तताएको छ । 

दुई मधेशी दलहरू राजपा र समाजवादी पार्टीले एकीकरणका लागि छलफललाई तीव्र बनाइरहँदा कमल थापाको राप्रपा तथा प्रकाशचन्द्र लोहनी र पशुपति समशेर राणाले संयुक्त रूपमा नेतृत्व गरिरहेको राप्रपा संयुक्तले पनि एकीकरणका लागि पहल सुरू गरिसकेका छन् ।

केही महिना अघि मात्र डा.बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले एकीकरण गरेर समाजवादी पार्टी बनाएको छ । त्यसअघि विवेकशील पार्टी र साझा पार्टी एकीकृत भएर विवेकशील साझा पार्टी बनेको छ र त्यो पार्टी फुटको शिकार बनिसकेको छ ।

दुई राप्रपाको एकीकरण एक प्रकारको नाटक जस्तै हो । विगतमा थुप्रै पटक फुटेर नयाँ नयाँ राप्रपा बन्दै अहिले दुईटा अस्तित्वमा छन् । दुबै राप्रपा अहिले एउटा बन्ने जोडघटाउमा छन् । उनीहरूको एकीकरण भएपनि कति टिकाउ होला भन्ने संशय पनि उत्तिकै छ । 

यहाँ चर्चा गर्न लागिएको विषय समाजवादी पार्टी र राजपाको एकीकरण प्रयासको हो । यी दुवै दलले समाजवादी पार्टी बन्नु अघि पनि एकीकरण प्रयास गरेका थिए तर तत्कालीन संघीय समाजवादी फोरमले नयाँ शक्तिसँग एकीकरण गरे । अहिले उसले राजपासँग एकताको प्रयास फेरि थालेको छ तर यसले अहिले सार्थक रूप लिइसकेको छैन ।

मधेशी दलमा विभाजनको राजनीति धेरै पुरानो छैन । कुनै बेला मधेशी दलको रूपमा मधेशी जनअधिकार फोरम मात्र रहेको थियो तर त्यसबाट फुट्दै थुपै्र दलहरूको निर्माण भएको तितो यथार्थ पनि छ ।

प्रजातन्त्रमा दलहरूबीच एकीकरण हुनु पक्कै पनि राम्रो मानिन्छ तर एकीकरण पछि बन्ने नयाँ दलले राजनीति र समाजलाई कसरी बुझ्ने भन्ने गम्भीर पाटो हो । उदाहरणका लागि राजपा ६ वटा मधेशी दलहरू मिलेर बनेको हो तर अहिलेसम्म पूर्णरूपमा संगठित भइसकेको छैन । पार्टीले एक वर्षमा गर्ने भनेको महाविधेशन अहिलेसम्म गर्न सकेको छैन । उसले संसदमा पनि प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन ।

समाजवादी र राजपा दुवै दलको एजेन्डा, मुद्दा, विचार एउटै छन् । तर यी दुई दलमा व्यक्तिगत महत्वकांक्षा पनि हाबी छ । त्यही उनीहरूबीच एकीकरण कठिन देखिएको छ । वस्तुतः एकीकरण शब्द सुन्न राम्रो लागे पनि त्यसका लागि दुई पक्षबीच मन पनि मिल्नुपर्छ जुन राजपा र समाजवादीमा देखिएको छैन ।

सुरूदेखि यी दुई पक्षबीच एकीकरणका लागि प्रयास भएको हो तर नेतृत्वको लालसा र व्यक्तिगत स्वार्थका कारण अहिलेसम्म टुंगोमा पुग्न नसकेको हो । यदि दुई दलबीच एकीकरण भएन भने त्यो व्यक्तिवादी सोचका कारण नभएको बुझ्दा हुन्छ । अहिले एउटा पार्टी संघीय सरकारमा छ र अर्को सरकार बाहिर छ । यिनै कुरामा दुई दलबीच विवाद छ जसले एकीकरण प्रक्रियालाई पछाडि धकेलिरहेको छ ।

तपाईको प्रतिक्रिया