लोकसेवाको विज्ञापन गलतः पूर्व सभामुख घर्ती

राजनीति

       

काठमाडौं, २५ साउन । पूर्वसभामुख एवं प्रतिनिधिसभा सांसद ओन्सरी घर्तीले लोकसेवा आयोग र स्थानीय तहले कर्मचारीको असमावेशी विज्ञापन निकाल्ने र नियुक्ती गर्ने कार्य गलत भएको बताएकी छिन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)को २० औं स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित संवैधानिक व्यवस्था र मिडियामा समावेशीको अवस्था बिषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गरेपछि उनले स्थानीय तहले पनि समावेशी प्रकृया मिचेर कर्मचारी भर्ना गर्ने कार्य गलत भएको दाबी गरिन् ।

‘संविधान अनुसार कर्मचारीको असमावेशी र असमानुपातिक विज्ञापन र नियुक्ती प्रकृया उपयुक्त कार्य होईन,’ उनले भनिन्, ‘त्यो कार्यले विभेद र उत्पीडनमा परेका आदिवासी जनजाति, महिला, दलित लगायतलाई घाटा लागेको छ ।’

समावेशी र समानुपातिक कार्यान्वयनको पक्षमा आफु सदैव लडिरहने भन्दै उनले त्यसले नै देश विकास र एकताबद्ध हुने दाबी गरिन् ।

‘सभामुख भएको मान्छे जातिय कुरा गर्नुहुन्छ, महिलाको कार्यक्रममा जानुहुन्छ भनेर गुनासो पनि सुन्छु,’ उनले भनिन्, ‘म जुन क्षेत्रबाट आएको हुँ, त्यसक्षेत्रको दुःख, पीडा, अधिकारबारे मैले चासो दिनैपर्छ ।’

तपाईको प्रतिक्रिया