आरक्षण बचाऔं आन्दोलनद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना

समाचार

       

काठमाडौं, २८ साउन । आरक्षण बचाऔं आन्दोलनको पूर्वघोषित कार्यक्रमअनुसार मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा शान्तिपूर्ण धर्ना दिइएको छ ।

लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि गरेको विज्ञापन खारेजीको माग राख्दै आन्दोलन गरिरहेको आरक्षण बचाउ आन्दोलनले विगत दुई महिनादेखि सडक आन्दोलन गर्दै आएको छ ।

शान्तिपूर्ण आन्दोलनलाई उत्तेजित बनाउन प्रहरीले लाठ्ठीचार्ज गर्दा खगेन्द्र माखिन, सागर मगर, लक्ष्मी थापा लगायतका आधा दर्जन आन्दोलनकारी घाइते भएका छन् ।

ओली सरकार मुर्दावाद, समानुपातिक समावेशी कायम गर, असमावेशी विज्ञापन खारेज गर, लालबाबु पंडित मुर्दावाद आदी नाराहरूको साथ मंगलबारको धर्ना कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबारको आन्दोलनमा कोही गिरफ्तार नभए पनि आइतबार सिंहदरबार घेराउ कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्दै १९ जना आन्दोलनकारीलाई गिरफतार गरेको थियो ।

बुधबार पुनः आरक्षण बचाऔं आन्दोलनले अपरान्ह १२ बजे प्रधानमन्त्री निवास बालुवाटार गेट न. ३ मा धर्ना कार्यक्रम र विरोध प्रदर्शन गर्ने आन्दोलन परिचालन समितिका सदस्य सरोज रायले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया