समभावको खोजीमा मधेश

सम्पादकीय

    प्रकाशित मिति :2076/04-24   

मधेशी समुदायलाई नेपालका शासन सत्तामा बस्ने शासकहरूले २५० वर्षदेखि विभेद र उत्पीडनमा पारेर अधिकारहरूबाट वञ्चित गराउँदै आइरहेको यथार्थ हो ।

तसर्थ समय–समयमा नेपालका शासकहरूका विरूद्ध मधेश आन्दोलन र विद्रोह भएको हो । तर कहिलेकाँंही मधेशी अगुवा तथा नेताहरूले प्रदर्शन गर्ने गरेको शंकास्पद गतिविधि र चालचलनहरूका कारण राज्यसत्ताले पनि उनीहरूको कतिपय मागहरूलाई शंकाको दृष्टिले हेर्नुपर्ने बाध्यात्मक परिस्थिति देखिएको छ ।

२००७ सालमा एकतन्त्रीय जहाँंनिया राणा शासनको अन्तसँंगै तराई कांग्रेसको जन्म भयो भने ३० वर्षे पञ्च्याती व्यवस्थाको अन्तसँंगै मधेश र मधेशीको हित र अधिकारको निम्ति भन्दै नेपाल सद्भावना पार्टीको उदय भयो ।

२०६३÷०६४ को जनआन्दोलनको क्रममा मधेशी जनअधिकार फोरमको नाममा मधेश आन्दोलनको शुरूवात भएको थियो । अहिले मधेशकेन्द्रित एक दर्जन भन्दा बढी मधेशवादी पार्टीहरू अस्तित्वमा छन् । मधेशी अगुवा नेता मात्र होइन आफूलाई नेपाली अगुवा नेताहरू हुंँ भन्नेहरूको पनि कमी छैन ।

मधेशको राजनीतिलाई गहिरिएर अध्ययन गर्ने हो भने हिजोदेखि जमिन्दार, सामन्त, टाठा–बाठा, उच्च जातिहरूको हातमा केन्द्रित रहँदै आएको थियो । आममधेशी समुदाय यही वर्गबाट उत्पीडनमा परेका छन् ।

पहिचान, पहँुच र प्रतिनिधित्वमा मधेशलाई पछि पारिएकै हो । यसैको परिणाम लोकतन्त्रको आगमनसँगै पहिलो मधेश आन्दोलन भयो । आफ्नो पहिचान स्थापित गर्न सबै तहका मधेशी नागरिक सडकमा आए । राज्यको परम्परागत स्वरूप र सोचमा धक्का लाग्यो ।

मधेशी पहिचान र नेतृत्व मूलधारमा आइपुग्यो । तर, त्यसले सतह छिचोल्न सकेन । जातीय पहिचान छिचोलेर मधेशभित्रको असमानतासम्म पुग्नुपर्नेमा उल्टो साम्प्रदायिक दूरी देखिन थाल्यो । विद्रोहपछि पनि आर्थिक, सामाजिक विकासमा मधेश अघि बढ्न सकेन ।

मधेशवादी दल र मधेशवादी एक्टिभिष्टले तथ्य बताउने भन्दा नागरिकमा भ्रम फिंजाउने काम धेरै गरे । प्रमुख दलका शीर्ष नेतृत्वले मधेशका नागरिकको धारणा र त्यहाँका राजनीतिक दलको अडानका बीच भेद छुट्याएनन् । पहिचान, प्रतिनिधित्व र पहुँचको मागलाई गोलमटोल गरियो ।

संचारमाध्यम भ्रम चिर्ने भन्दा पनि भ्रम फिंजाउनेकै पछिलाग्यो । सीमामा बसेर विना हतियार देशको रक्षा गरिरहेका मधेशी नागरिकको राष्ट्रियतामा शंका गर्ने काम भयो । यसबाट मधेशका नागरिकले बाँकी नेपालीसँग दूरी महसुस गर्न थाले । सत्य कुरा बोलेर यो भ्रम चिर्ने परिपक्व नागरिक समाजको अभाव देखियो र यसमा मधेशी दलले पनि मलजल गरे ।

त्यस्तै मधेशलाई बाँकी देशसँग दूरी बढाउनुमा मधेशवादको आडमा मौलाएको स्वार्थी मनोवृत्ति एउटा कारण हो । मधेशीको भावनामाथि मधेशी दलले नै राजनीति गरेको छ । नागरिकताको सवाललाई लिएर पनि भ्रम फिंजाउने काम भएको छ । मधेशी दलका शीर्ष नेतृत्वको ‘टोन’प्रति मधेशका नागरिक रूष्ट छन् ।

समस्याको जड यहीँ नै छ । मधेशी नेतृत्वको असंवेदनशीलताले मधेशका जनता आफूलाई कमजोर ठानिरहेको छन् । मधेशी नेताहरू जता गयो उतै बिक्ने गरेका छन् । मधेशको सामाजिक, आर्थिक विकास बोक्ने राजनीति नै छैन भन्दा पनि हुन्छ ।

मधेशमा राजनीति कति सस्तो भएको छ भने कुनै पनि मधेशी नेताले सार्वजनिक कार्यक्रममा सामाजिक, आर्थिक विकासको मुद्दालाई प्राथमिकतापूर्वक उठाउँदै उठाउँदैन । सभा, समारोह र स्थानीय सञ्चारमाध्यममा कतै पनि आर्थिक प्रगतिका विषयहरूमा गतिलो बहस छैन । विकास–निर्माण र समृद्धिको मुद्दाले स्थानीय राजनीति बलियो हुन्छ भन्ने भावना नै छैन । मधेशको मेरूदण्ड मानिएको हुलाकी राजमार्ग सञ्चालन हुनसके आर्थिक क्रियाकलाप अघि बढ्थ्यो तर यसको गति यति धिमा छ कि यसबारे कोही पनि मधशी नेता बोल्दैनन् ।

मधेशका जनताले मधेशी दलका शीर्ष नेताबाट अपनत्व र आत्मसम्मान खोजेका छन् । विकास र समाजको सौन्दर्यका लागि मिश्रित समुदाय अनिवार्य कुरा हो । जनताले बुझेको यही मधेशका राजनीति गर्नेले बुझनु पर्छ ।

तपाईको प्रतिक्रिया