स्वतन्त्रता दिवसको आलोकमा नेपाल–भारत सम्बन्ध (सम्पादकीय)

सम्पादकीय

    प्रकाशित : २०७६ साउन ३१ गते शुक्रबार   

भारतले आफ्नो ७३औं स्वतन्त्रता दिवस मनाएको छ । नेपालमा लोकतन्त्रका लागि लडेका नेपाली पुस्ता जसमा बीपी कोइरालादेखि मनमोहन अधिकारीसम्म थिए, त्यो पुस्ताले भारतको स्वतन्त्रताको आन्दोलन पनि लडेको थियो । त्यसअर्थमा भारतीय स्वतन्त्रता दिवस र नेपालमा लोकतन्त्रको नाता जोडिएको छ ।

यदि भारत वि.सं. २००४ सालमा स्वतन्त्र नभएको भए नेपालमा वि.सं. २००७ सालमा प्रजातन्त्र आउने थिएन र नेपाली जनताको चेतना आजको अवस्थामा पुग्ने थिएन । त्यसैले भारतको स्वतन्त्रता दिवसका दिन नेपाल–भारत सम्बन्धको इतिहासमाथि गौरव गर्ने दिन पनि हो ।

गौरव यसकारण कि हिजोको दिनमा नेपाल–भारत सम्बन्ध अयोध्याका राजा राम र जनकपुरकी राजकुमारी सीताले बनाएकी थिइन् जहाँबाट नेपाल–भारत सम्बन्ध रोटी–बेटीको सम्बन्धमा रूपान्तरण भएको थियो । त्यसपछिको दिनमा आजभन्दा २६ सय वर्ष अगाडि आजको नेपालको कपिलवस्तुमा जन्मिएका सिद्धार्थ गौतमले वर्तमान भारतको बोधगयामा गएर तपस्या गरी बुद्धत्व प्राप्त गरेका थिए र उनले नेपाल र भारतका ऋषिमुनीको नाता समेत अझ बलियो बनाएका थिए ।

यसअर्थमा नेपाल–भारत मित्रताको त्यो अनुपम उदाहरण थियो इतिहासका कालखण्डमा । त्यसको निरन्तरता आजको दिनमा नेपाल–भारत सम्बन्धलाई दुबै देशका जनताले रूचाएको लोकतन्त्रले एक अर्कालाई नजिक ल्याउने काम गरेको छ ।

त्यसअर्थमा आजको दिनमा सीताराम विवाह, भगवान बुद्धको पवित्र भूमिको नाता र नेपालमा लोकतन्त्रका लागि लडेका नेपाली नेताले भारतीय स्वतन्त्रताका लागि गरेको संघर्षले खुल्ला सीमाको स्वतन्त्रता उपयोग गरेका नेपाल र भारतका जनताले भारतीय स्वतन्त्रता दिवसमा पनि गौरव गर्ने दिन हो ।

आजको दिनको सत्य के हो भने नेपाल र भारतको सम्बन्ध उति नै पुरानो छ, जति हिमालय र गंगा पुराना छन् । यसका लगि हाम्रो सम्बन्ध, कागजको नाउ अगाडि बढेजस्तो होइन, हाम्रो सम्बन्धले हृदयको भाषा बोल्छ । हामी एकै सांस्कृतिक विरासतका धनी छौं ।

लामो समयसम्म भारतका प्रधानमन्त्रीले नेपालको भ्रमण नगरेको बेला वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पहिलो कार्यकालमा नेपाल भ्रमण गरेर नेपाली जनताको मन जितेका थिए । तर उनको लोकप्रियतालाई देखेर आत्तिएकाहरूले नेपाल–भारत सम्बन्धलाई तनावमा लैजाने तानाबाना पनि बुन्ने प्रयास गरे ।

त्यसो त आजको भारत हिजोको भारत होइन, आजको भारत विश्वको बलियो आर्थिक शक्ति हो  । त्यतिमात्र होइन, उ एउटा विशाल लोकतन्त्रसहित अगाडि बढेको देश पनि हो । त्यसो त धेरै मानिसहरू नेपाल–भारत सम्बन्धमा धेरै थरीका बहस गर्छन् । नेपाल—भारत सम्बन्धलाई लिएर पण्डित्याई छाट्नेहरूको काठमाडौंमा कमी छैन ।

भारतले नेपालमा लोकतन्त्रकालागि लिएको अडान यदाकदा दिल्लीका लोकतन्त्र पक्षधरकालागि त्यतिबेला दिक्क लाग्ने विषय बन्छ जब काठमाडौंका सडकमा भारत विरोधी स्वरहरू गुन्जिन थाल्छन । नयाँ दिल्लीले नेपालमा राजनीतिक अस्थिरता खोज्नै सक्दैन किनकी यो उसको राष्ट्रिय सुरक्षासँग जोडिएको विषय हो र यो कुरामा नयाँ दिल्लीलाई दोष दिने समूहले हिजोको धेरै थोत्रो कुरा पढेको छ तर त्यो आजको अवस्था छैनर ।

नेपाल र भारतबीच खुला सिमाना भएका कारण निकटताको सम्बन्ध राजनीतिक तहमा मात्रै होइन् जनस्तरमा पनि रहेको छ । त्यस अर्थमा नेपाल–भारत सम्बन्धको जनस्तरको पाटो विशिष्ट प्रकारको छ । नेपाल र भारतबीचको सम्बन्धलाई जनस्तरकै तहबाट बुझ्ने कोशिस गरियो भने काठमाडौंमा भारतलाई लिएर व्यक्त गरिने दृष्टिकोणहरू पनि फरक हुन सक्छन् किनकी नेपाली जनता भारत विरोधी छैनन केही स्वार्थ समूह बाहेक ।

बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भटराई, गिरिजा प्रसाद कोइराला, महेन्द्रनारायण निधि, मातृकाप्रसाद कोइराला, मनमोहन अधिकारी, सुवर्णशम्शेर राणा, सूर्यप्रसाद उपाध्याय, डिल्लीरमण रेग्मी, गजेन्द्रनारायण सिंह लगायतका नेपाली राजनेताहरूले भारतको स्वतन्त्रताको आन्दोलनमा निर्वाह गरेको भूमिका मात्रै होइन्, भारतले नेपालमा प्रजातन्त्रका लागि दिएको नैतिक समर्थन इतिहासका महत्वपूर्ण पाटोहरूमा सुरक्षित बनिसकेको छ ।

त्यो नै नेपाल–भारत सम्बन्धको इतिहासको सुनौलो अध्याय हो । भारतीय स्वतन्त्रता दिवसको सन्दर्भमा त झन त्यो महत्वपूर्ण पाटो हो र । त्यसैले आजका कुनै पनि टिप्पणीले नेपाल–भारत सम्बन्धका ती पाटाहरूलाई बदल्न सक्दैन ।

छिमेकको एउटा विशाल लोकतन्त्र जसले आफ्नो ६ दशक पूरा गर्दा लोकतन्त्रको बलियो अभ्यासका साथ अगाडि बढिरहेको छ । त्यस्तो अवस्थामा हामीले पनि उसका धेरै उपलब्धिहरूलाई बुझ्न सक्नुपर्छ । आजको नेपाली राजनीति र बुद्धिजीवीवर्गले त्यसका राम्रा पक्षलाई ग्रहण गर्ने कुराको सुरूवात गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया