यस्तै रवैया रह्यो भने ठूलो दुर्घटना हुन्छ : दिलिपचन साहु

सहसंयोजक, मधेशी समन्वय समिति

अन्तर्वार्ता

    प्रकाशित मिति : २०७६ साउन ३१ गते शुक्रबार   

० तपाइँहरू आरक्षण बचाऔं आन्दोलनअन्तर्गत दुई महिनाभन्दा बढी समयदेखि आन्दोलन गर्दै हुनुहुन्छ, अहिलेको अवस्था के छ ?

— लोकसेवा आयोगको विज्ञापनविरूद्ध हाम्रो आन्दोलन जारी छ । राज्यबाट उपेक्षित र विभेदमा परेको समुदायहरू संगठित भएर आन्दोलनले विकराल रूप लिँदैछ । यो आन्दोलनलाई राष्ट्रव्यापी बनाउनका लागि प्रचार प्रसारको रूपमा अगाडि बढाउँदैछौं ।

० यति दिनदेखि आन्दोलित भइरहँदा पनि कहींबाट सुनुवाई भइरहेको अवस्था छैन नि ?

— राज्यले मुलुकलाई द्वन्द्वमा लैजाने पक्षमा रहेको देखिएको छ । यो आरक्षण बचाऔं आन्दोलन कुनै एउटा मात्र समुदाय वा वर्गको होइन, यो आन्दोलनमा मुलुकका सम्पूर्ण उपेक्षित समुदाय वर्गको सहभागिता छ । एकल जातीय हिसाबले यो देश चलाउन खोजिएको छ । शोषितलाई राज्यको मूलधारमा ल्याउने अग्रगमन सोच नभई मुलुकलाई प्रतिगमनतर्फ लैजान उद्दत देखिएको छ । लोकसेवा आयोग एउटा संवैधानिक निकाय भएपनि राज्यको निर्देशनमा चलिरहेको छ जुन दुर्भाग्यपूर्ण कुरो हो ।

० तपाइँहरू आरक्षण बचाउनका लागि आन्दोलन गरिरहनुभएको छ तर, संविधानमा आरक्षण नै छैन भन्ने तर्कहरू पनि गरिँदैछ नि ?

— समानुपातिक समावेशिता संविधानमा लेखिसकेपछि आरक्षण नै लेख्नुपर्छ भन्ने छैन । त्यो सिद्धान्तलाई कार्यान्वयन गराउने त्यसका विभिन्न माध्यम हुन्छन्, जसमध्ये आरक्षण पनि हो । राज्यका अंगहरू समावेशी हुनुपर्छ, हरेक निकायमा जनसंख्याको आधारमा सहभागिता हुनुपर्छ, त्यो आरक्षण हो । जुन समुदाय वर्ग राज्यको पहुँचबाट टाढा छ, उपेक्षित र विभेदित छन् त्यसलाई मूलधारमा समाहित गराउनु आरक्षण हो । त्यसैले, संविधानमा आरक्षण संविधानमै लेखिनुपर्ने भन्ने तर्क गलत हो ।

० आरक्षण कोटाबाट आएकाहरू त्यति योग्य हुँदैनन्, खुल्लामा लडेर आउन सक्दैनन् भन्ने प्रश्नहरू पनि खडा भएको छ ?

— यो कुरा हामी पनि स्वीकार गर्छौं, हामी खुल्ला लड्न तयार छौं । हाम्रा घरमा आफ्नो मातृभाषा बोल्छौं, हाम्रो पढाई जबर्जस्ती लादिएको खस भाषामा हुन्छ । यदि मधेशीका भाषामा परीक्षा लिइयो भने कति जना गैरमधेशी समुदायका विद्यार्थी पास हुन्छन् ? मधेशी समुदाय सेरोफेरोका प्रश्नहरू सोधियो भने कति जना गैरमधेशी पास हुन्छन्, त्यो पनि हेर्नुप¥यो नि । त्यसैले, मधेशीहरू खुल्लामा लड्न सक्दैनन् भ्रम फैलाइएको छ । शिक्षण पेशामा मधेशी समुदायकै व्यक्तिहरू अगाडि छन् । पहाडका कुनाकाप्चामा गएर पढाउँछन्, अनि त्यहीं मधेशी कसरी कमजोर भयो ? सवलीकरण र सशक्तिकरण गर्नुपर्ने भन्ने पक्षमा हामी पनि छौं । तर, त्यस्ता कार्यक्रमहरू राज्यले ल्याउनुप¥यो नि । मधेशीहरू लोकसेवामा किन पास हुँदैनन्, लिखितमा पास हुन्छन्, मौखिकमा किन हुँदैन भन्ने कुराको अनुसन्धान राज्यले गर्नुप¥यो नि । त्यो कुराको संश्लेषण, विश्लेषण हुनुप¥यो, त्यो दायित्व त राज्यको हो नि ।

जो मधेशी सीमामा बिना हतियार सम्पूर्ण देशको रक्षा गरेर बसेका छन्, त्यो मधेशी कमजोर हुन्छन् ? हामीलाई जसरी अढाई सय वर्षदेखि शोषण गरिएको छ, त्यसको क्षतिपूर्ति हामीले चाहेका छौं । हामी सधैंका लागि आरक्षण मागेका होइनौं ।

० भनेपछि केही समयसीमासम्मका लागि मात्र आरक्षण चाहिन्छ ?

— हो । भारतमा १० वर्षका लागि मात्र आरक्षणको व्यवस्था गरिएको थियो तर, अहिलेसम्म कायम नै छ । अहिलेसम्म पनि त्यहाँ एउटा विशेष वर्गको वर्चस्व रहेकोले अन्य वर्गहरू पिछडिएकै रहेको महसुस गरियो । तर, अब विस्तारै भारतमा पनि आरक्षणको विषय गौण भइरहेको छ । अहिले पनि सुरक्षित क्षेत्र भनेर दलितको प्रतिनिधित्व गराइन्छ, त्यो पनि आरक्षण हो नि । नेपालमा पनि विभिन्न कलस्टर छुट्याएर आरक्षणको व्यवस्था गर्नुको कारण के थियो भने विगतमा राज्यसत्ताद्वारा पछाडि पारिएका वर्ग समुदायको राज्यका अंगहरूमा प्रतिनिधित्व होस् । अब उत्पीडित वर्गहरूलाई दबाएर दबिँदैन । राज्यको यस्तै रवैया रह्यो भने मुलुकमा ठूलो विस्फोट हुन्छ ।

० तपाइँहरू जसरी आन्दोलन गर्दै हुनुहुन्छ, खुल्लामा लड्नका लागि सवलीकरणतर्फ किन ध्यान दिनुहुन्न ?

— सवलीकरणका लागि पनि कार्यक्रमहरू त भइरहेका छन् । काठमाडौंमा लोकसेवा तयारीका लागि कक्षाहरू हरेक समुदायका व्यक्तिहरूले लिइरहेका छन् । तर, मधेशी समुदायका व्यक्तिहरू लिखितमा पास गरेपनि मौखिकमा फेल गराइदिन्छन् । किनभने मौखिक अन्तर्वार्ता लिने व्यक्तिहरू शासकवर्गकै समुदायका हुन्छन् । नातावाद, कृपावाद, जातिवादका कुराहरू त्यहाँ आउँछन् । त्यसैले उपेक्षित समुदायका व्यक्तिहरूको त्यहाँ पहुँच नै पुग्दैन । रौतहटका एकजना मधेशी मूलका व्यक्तिले लोकसेवाको खुल्लामा १ नम्बरमा नाम निकाले तर मौखिकमा उनको नाम आएन । ७/८ नम्बरका व्यक्तिको नाम आयो । किनकि उनको पहुँच नै पुगेन । यो दुर्भाग्यपूर्ण कुरो होइन ? जहाँसम्म सवलीकरणको कुरा छ, यसको व्यवस्था राज्यले गर्नुपर्ने हो । राज्यको यो दायित्व पनि हो ।

० तपाइँ राजपा नेपालका केन्द्रीय सदस्य पनि हुनुहुन्छ, यो आन्दोलनमा तपाइँको पार्टी किन मौन छ ?

— यस विषयमा राजपा नेपाल किन मौन छ भन्ने कुरामा हामी पनि आश्चर्यमा छौं । मधेशकेन्द्रित दलहरूको मुख्य एजेन्डा समानुपातिक समावेशिता नै थियो । यही मुद्दाको आधारमा आज यिनीहरू स्थापित भएका छन् ।

० तपाइँहरूको चौथो चरणको आन्दोलन सकिन लागेको छ, अब कस्तो आन्दोलन गर्नुहुन्छ ?

— हाम्रो आन्दोलन शान्तिपूर्ण तरिकाले नै हुन्छ । शान्तिपूर्ण तरिकाले हामी कठोर आन्दोलन गर्छौं । अब हामी काठमाडौं उपत्यकाकेन्द्रित आन्दोलन बढी गर्छौं । किनभने राज्यसत्ता यति कठोर छ कि विगतमा मधेशमा आन्दोलन हुँदा मधेशीहरूको टाउको र छातीमा ताकी–ताकी गोली हानिन्थ्यो । तर, काठमाडौंमा आन्दोलन हुँदा सिधै टाउको र छातीमा गोली हानिँदैन । त्यसैले, हामी काठमाडौंकेन्द्रित आन्दोलन गरेर नै विजय हासिल गर्छौं । काठमाडौं बाहिर पनि उत्पीडित समुदायले विरोध प्रदर्शन लगायतका कार्यक्रमहरू गर्छन् । अब हामीले सिंहदरबार, प्रधानमन्त्री निवास र संसद भवन घेराउका कार्यक्रमहरू ल्याउँछौं ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया