राजपामा अध्यक्षमण्डलीय प्रणाली असफल भयो : राजकिशोर यादव (अन्तर्वार्ता)

अध्यक्षमण्डलका संयोजक, राष्ट्रिय जनता पार्टी नेपाल

अन्तर्वार्ता

    प्रकाशित मिति : २०७६ साउन ३१ गते शुक्रबार   

० राष्ट्रिय जनता पार्टी नेपालको महाधिवेशनको मिति दुई पटक तोकि सकिएर असफल भइसकेको छ, अहिले फेरि तेस्रो पटक महाधिवेशनको मिति तोकिएको छ । यसपटक तोकिएकै मितिमा महाधिवेशन हुन्छ?

— राजपा नेपालको महाधिवेशन कार्तिक २८, २९ र ३० गते हामीले तोकेका छौं । त्यो महाधिवेशन गर्नेगरी तयारी भइरहेको छ । राजपाका लागि महाधिवेशन अत्यन्त महत्वपूर्ण हो । पार्टीलाई व्यवस्थित गर्न, कार्यकर्ताको व्यवस्थापन गर्न र पार्टीलाई एकढिक्का बनाई गतिशील बनाउनका लागि महाधिवेशन अति महत्वपूर्ण विषय हो । विगतमा महत्वपूर्ण राष्ट्रिय कार्यभारहरू आएको हुनाले त्यतिबेला महाधिवेशन मिति सारिएको थियो । तर, यसपटक महाधिवेशन सफल बनाउनकै लागि राजपा तयारीमा जुटेको छ ।

० तर, राजपाकै नेता कार्यकर्ताहरू महाधिवेशन हुने वा नहुनेमा सशंकित छन् ?

— हल्लाको पछाडि कोही पनि लाग्नु हुँदैन । अहिले राष्ट्रिय राजनीतिको जुन अवस्था छ, त्यो संक्रमणकालीन हो । राजपा पनि विभिन्न आरोह–अवरोध पार गर्दै महाधिवेशनमा केन्द्रित भएको छ । विगतमा जसरी तोकिएको मितिमा महाधिवेशन हुनसकेन, यसपटकका नहुने हो कि भन्ने कुरा कार्यकर्ताहरूमा शंका देखिएको होला । तर, हामी महाधिवेशन गर्नेगरी अगाडि बढेका छौं । त्यसैले हल्लाको पछाडि नलाग्न हाम्रा सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आग्रह गर्न चाहन्छु ।

० पार्टीका जिम्मेवार पदमा रहेका पदाधिकारीहरूले सामाजिक सञ्जालमा पार्टी नेतृत्वप्रति आक्रोश पोखिरहेका छन् । उनीहरूलाई किन विश्वासमा लिन सक्नुभएको छैन ?

— ती पदाधिकारीहरूले किन, कहाँ र केको लागि आक्रोश पोखेका हुन् त्यो मलाई थाहा भएन । पार्टीलाई कसरी व्यवस्थित बनाएर लैजाने हामी सबैको जिम्मेवारी हो । हिजोको दिनमा किन भएन त्यो अर्को विषय हो । त्यसको जिम्मेवारी सबैले लिनेगरी अगाडि बढ्नुपर्छ ।

० पार्टीले महाधिवेशनका लागि तोकेको मितिलाई हेर्ने हो भने अब करिब तीन महिनामा मात्रै समय बाँकी छ । त्यसमा पनि विभिन्न चाडपर्वहरू पर्छन् । तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्नका लागि त्यसका तयारीहरू कतिको भइरहेको छ ?

— निश्चितरूपमा तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्नका लागि जुन किसिमको तयारी हुनुपर्ने थियो, त्यो प्रकार तयारी भइरहेको छैन । यसका विभिन्न कारणहरू छन् । नेता कार्यकर्ताहरू विकासे योजनाहरूमा बढी केन्द्रित भए । त्यसपछि वर्षायाम सुरू भयो र जसले हाम्रो आधार क्षेत्र खासगरी प्रदेश २ डुबानमा प¥यो । त्यसैले तयारी हुन सकिरहेको छैन । यी कुराहरूलाई मध्यनजर गर्दै हामीले एउटा निष्कर्ष निकाल्छौं ।

० भनेपछि, यसपटक तोकिएकै मितिमा महाधिवेशन हुन्छ ?

— अब त्यस्तो राष्ट्रिय जिम्मेवारीको कुनै कार्यभार आइप¥यो, महाधिवेशनभन्दा कुनै ठूलो महत्वपूर्ण कुरा हुने भयो भने त्यो अर्कै विषय हो । होइन भने अहिलेसम्म तोकिएकै मितिमा महाधिवेशन गर्ने गरी अगाडि बढिरहेका छौं ।

० तर, त्यो किसिमको तयारी देखिएको छैन नि ?

— महाधिवेशन हाम्रो नितान्त आन्तरिक कुरा हो । बाहिर प्रचार गरेर हिंड्ने कुरा पनि भएन । राजपालाई आन्तरिक जीवनलाई सु–व्यवस्थित बनाउन, नेता कार्यकर्तालाई व्यवस्थित गर्न, पार्टीलाई एकढिक्का बनाई गतिशील बनाउन शीर्ष नेतादेखि कार्यकर्तासम्मको जिम्मेवारी हो । त्यसैले म संयोजकको रूपमा महाधिवेशन सम्पन्न गर्नका लागि लागिपरेको छु ।

० राजपाका ६ जनै अध्यक्षले संयोजक बन्ने मौका पाए, यो चक्रीय प्रणालीअनुसार सबै संयोजक बन्दा पार्टीले कति ऊर्जा पायो त ?

— अध्यक्षीय प्रणालीको रूपमा हामीले नेपालको राजनीतिमा एउटा नयाँ प्रयोग गरेका थियौं । हामी राजपा बनाउँदै गर्दा सामूहिक नेतृत्व विकास गर्ने र विविधतायुक्त समाजलाई सम्बोधन गर्नेगरी अगाडि बढ्ने भन्ने असल नियतका साथ अध्यक्षमण्डलको प्रावधान ल्यायौं । तर, यसलाई जसरी व्यवस्थापन गर्नुपर्दथ्यो, त्यसमा त्रुटि भएकै हो । हुन त यो प्रयोग हामीले गरिसकेपछि हाम्रो देखासिकी नेकपा र समाजवादी पार्टीले पनि ग¥यौं । तर, अब हामीले एकल नेतृत्व र सामूहिक निर्णय प्रक्रिया भन्ने प्रावधान राख्दै महाधिवेशनमा जाने तय गरेका छौं । महाधिवेशनबाट त्यो प्रकारको नेतृत्व निर्माण गरेर अगाडि बढ्छौं ।

० भनेपछि, राजपाका लागि अध्यक्षमण्डलीय प्रणाली सफल भएन ?

— निश्चितरूपमा । हामीले जे उद्देश्यका साथ प्रयोग ग¥यौं, त्यो कुरा हामीले आफ्ना कार्यकर्तालाई बुझाउन सकेनौं । यसलाई अझै व्यवस्थित गरेर निर्णय प्रक्रियाहरू चुस्तदुरूस्त बनाएको भए राम्रो हुन्थ्यो । त्यसमा त्रुटि भएकै हो भन्ने बुझाई नेतृत्वगणमा छ । त्यसैले अहिले संघर्षको बेलामा पार्टी ठोस र गतिशील बनाउन एकल नेतृत्वमा जाने निष्कर्षमा पुगेका छौं ।

० अहिले समाजवादी पार्टीसँग एकताको कुरा पनि भइरहेको छ । राजपाको प्राथमिकतामा महाधिवेशन हो कि एकीकरण ?

— मलाई लाग्छ, यस विषयमा हाम्रा नेता कार्यकर्ता र मिडियाकर्मीहरूलाई पनि कन्फ्युजन भएको हो । एकता प्रक्रिया र महाधिवेशन दुईटै अलग–अलग विषय हो । महाधिवेशन राजपाको नितान्त आन्तरिक विषयसँग जोडिएको हो । तर, एकताको विषयमा राजपा र समाजवादी पार्टीको बीचमा एउटा समझदारी कायम गरेर गर्ने निर्णय हो । त्यसैले, महाधिवेशन ग¥यो भने एकताको विरोधी हुने वा एकता ग¥यो भने महाधिवेशनको विरोधी हुने होइन । दुवै पार्टीका वार्ता कमिटी गठन भएको छ । त्यो अनौपचारिक ढंगले काम गर्दैछ । त्यो कुरा औपचारिक आयो भने पार्टीले निर्णय गर्छ । अहिलेसम्म औपचारिकरूपमा कुरा भएको छैन । त्यसैले, अहिले महाधिवेशनको तयारी गर्दै सम्पन्न गर्ने र पार्टी एकढिक्का भइसकेपछि आवश्यकता महसुस भयो भने एकता प्रक्रिया अगाडि बढाउन सकिन्छ । राजपाको निर्णयले मात्र एकीकरण हुने होइन । दुई पार्टीबीच ठोसरूपमा एक–एक विषयमा समझदारी बनाउने विषय हुन्छ । त्यसैले, यो दुवै अलग–अलग विषय हो । एकले अर्कोलाई रोक्ने काम गरेको छैन ।

० राजपाको संयोजकको हैसियतले भन्नुपर्दा राजपा पहिले महाधिवेशन गरेर एकीकरण गर्नुपर्ने कि महाधिवेशन नगरी एकीकरण गर्नेपर्ने ?

— औपचारिकरूपमा कुनै निर्णय नहुँदा आफ्नो धारणा बाहिर ल्याउनु उपयुक्त हुँदैन । मेरो पहिलो जिम्मेवारी भनेको पार्टीलाई एकढिक्का बनाउने, गतिशील बनाउने, पार्टीका समस्याहरू समाधान गर्ने र मजबुत पार्टीका साथ अगाडि बढ्ने हो । म त्यसैमा लागेको छु । जहाँसम्म एकीकरण कुरा छ, राजपाले मात्र निर्णय गरेर हुँदैन, अर्को पक्ष पनि त्यतिकै इमान्दारीका साथ आउनुप¥यो । त्यसको सैद्धान्तिक कुराहरू मिल्नुप¥यो, हाम्रो रणनीतिक र कार्यगत नीति मिल्नुप¥यो । हावाको भरमा क्रिया–प्रतिक्रियामा लाग्यो भने न त त्यो बुद्धिमता हुन्छ न त त्यो निष्कर्षमा पुगिन्छ ।

० समाजवादीसँग एकताका लागि अहिलेसम्म अनौपचारिकरूपमा मात्र सम्वाद भइरहेको छ ?

— हाम्रो वार्ता समिति बनेको छ, वार्ता समितिसँग सोध्दा औपचारिकरूपमा कुराकानी नभएको जानकारी दिएको छ । अनौपचारिकरूपमा विभिन्न नेताहरूसँग कुराकानी भइरहेको छ । तर, तपाइँले मानसिकता नै बनाइसक्नुभएको छ कि एकीकरणको कुरा मात्र गर्ने । यो विषय यही नै टुंग्याऔं ।

० जनजीविकासँग जोडिएका मुद्दाहरूमा पनि राजपाले इमान्दार पहल गरेको देखिँदैन । अहिलेका सरकारले गर्ने नियुक्तिहरू पूर्णरूपमा असमावेशी छन्, यो विषय तपाइँहरूको मुद्दा किन बन्दैन ?

— यो राज्य समावेशी भएन, राज्यले विविधतालाई सम्बोधन गर्न तयार भएन र यो सरकारलाई सबै नेपालीलाई सँगै लिएर हिंड्न तयार भएन भनेर हामीले समर्थन दिएर पनि दबाब सिर्जना गर्नका लागि सरकारबाहिर बस्यौं । त्यो भनेको संविधानप्रति हाम्रो असन्तुष्टि हो । राज्यको चरित्र समावेशी बनाऔं भनेर विभिन्न चरणमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र दियौं, संसदमा पनि हाम्रा सांसदहरूले बोलेको स्थिति छ । सरकारको यही असमावेशी चरित्रका कारण अहिले राजपा प्रतिपक्षमा बसेर दबाब दिनका लागि आफ्नो कार्यहरू अगाडि बढाइरहेको छ । तर, संसदभित्रको गणित जुन प्रकारको छ, त्यसले गर्दा सरकारले बलमिच्याई गरेर अगाडि बढिरहेको स्थिति छ । त्यसको विरूद्धमा हामी त छँदैछौं । विरोधलाई परिणाममा पु¥याउनका लागि त्यस प्रकारको शक्ति हामीसँग छैन । त्यसैले हामी आफ्नो जिम्मेवारी इमान्दारीका साथ निर्वाह गरिरहेका छौं । तर, राज्य कसरी सबैलाई मिलाएर जाने त्यो राज्यको काम हो । सरकार यसरी नै बलमिच्याई गर्दै जाने हो भने त्यसलाई कसरी दबाब दिन सकिन्छ त्यसका उपयुक्त समयमा हामीले निर्णय गर्छौं । तर, अहिले राजपा आन्तरिक कार्यमा अल्झेको हुनाले र मधेश डुबानमा परेको हुनाले तत्कालै हामी सडकमा जाने स्थिति छैन ।

० समानुपातिक समावेशिता मधेश आन्दोलनबाट स्थापित भएको मुद्दा हो । तर, लोकसेवा आयोगले यो मर्मलाई मिच्दै विज्ञापन गर्दा नेपालका सम्पूर्ण उपेक्षित समुदाय वर्ग आन्दोलित छन् । राजपा नेपालको यो आन्दोलनमा सहभागिता देखिएको छैन । राजपा किन पन्छिरहेको छ ?

— लोकसेवा आयोगको विज्ञापन सन्दर्भमा राजपा नेपालको स्पष्ट धारणा छ । लोकसेवा आयोगले संविधानविपरीत कार्य गरेको छ । राज्यले प्रतिबद्धता गरेको विरूद्धमा विज्ञापन गरिएको छ । यो विज्ञापन दीर्घकालीनरूपमा मुलुकको हितमा छैन भन्ने निष्कर्ष निकाल्दै हामी सुरूमा नै विज्ञापनको विरूद्धमा औपचारिकरूपमा नै प्रेस विज्ञप्ति निकाल्यौं । यो कुरालाई लिएर हामीले संसदभित्र जोडदार तरिकाले उठाएका हौं । त्यति मात्र होइन, राज्य व्यवस्था तथा सुशासन समितिमा म आफै र हाम्रा अर्का अध्यक्ष राजेन्द्र महतो हुनुहुन्छ । हामीले त्यो समितिबाट यो गलत भयो भनेर फिर्ता गराउन निर्णय गरायौं । तर, राज्यले सुनिरहेको स्थिति छैन । आन्दोलनकारी साथीहरूले गुनासो गरेजस्तो हामी सिधै आन्दोलनमा जान सक्ने अवस्था छैन । तर, हामीले आफ्ना भ्रातृ संगठनहरूलाई यो आन्दोलनमा सक्रिय सहभागिताका लागि निर्देशन दिइसकेका छौं । तर, पार्टी नै आन्दोलनमा जानका लागि एउटा उपयुक्त समयमा उपयुक्त निर्णय गर्छौं । त्यो कुरा त पार्टीका नेतृत्ववर्गले समयसापेक्ष र सन्दर्भ हेरेर गर्छ ।

० तपाइँहरू उपयुक्त समयको पर्खाईमा हुनुहुन्छ । लोकसेवा आयोगले सोही विज्ञापनअनुसार परीक्षा पनि लिइरहेको छ । त्यसअनुसार कर्मचारीहरू खटिसकेपछि तपाइँहरू के निर्णय गर्नुहुन्छ ?

— हैन, यो एउटा विज्ञापनसँग मात्र जोडिएको विषय होइन । यो त समग्रतामा राज्यको चरित्रसँग जोडिएको विषय हो । पार्टीले औपचारिकरूपमा सरकारलाई ज्ञापनपत्र बुझाइसकेको छ । संसदमा पनि आक्रामकरूपमा पार्टी प्रस्तुत भइरहेको छ । योभन्दा बढी राजपाले के गर्नुप¥यो भन्ने आशा राख्न सकिन्छ । त्यसैले, यसलाई पनि आन्दोलनको रूपमा हेर्नुपर्छ । अब सरकार नै गैरजिम्मेवार भइदियो भने त्यसको विरूद्धमा सबै पक्ष आउनुपर्छ । राजपाले मात्रै यो विज्ञापनलाई खारेजी गराउन सक्ने बुत्ता त छैन भन्ने कुरा बुझ्नुपर्छ । जनताले दिएको शक्तिअनुसार राजपाले आफ्नो भूमिका निर्वाह गर्दैछ ।

० अब अन्त्यमा, छिमेकी मित्रराष्ट्र भारतले काश्मिरको सन्दर्भमा जुन निर्णय गरेको छ, यसलाई राजपाले कसरी लिएको छ ?

— यो भारत सरकारको नितान्त आन्तरिक मामिला हो । एउटा छिमेकी नाताले भारत सरकारको निर्णयसँग हामी सहमत हुनुपर्ने हुन्छ । त्यो नै एउटा छिमेकीको कर्तव्य हो । भारतले संविधानअनुसार संसदबाट पास गराएको यो एउटा व्यवस्था हो । त्यसैले, भारतको आन्तरिक मामिलामा नेपाल वा राजपाले धेरै टिकाटिप्पणी गरिरहनुपर्ने आवश्यकता छैन ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया