नेपाल–भारत संयुक्त आयोगको बैठकमा पुरानै एजेन्डामा छलफल हुने

समाचार

       

काठमाडौं, १ भाद्र । नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा विगतदेखि थाती रहँदै र बहस हुँदै आएका एजेन्डामा छलफल हुने भएको छ ।

बैठकमा नेपालले तीन दशकदेखि उठाउँदै आएका एजेन्डा पेस गर्ने तयारी गरेको छ । बैठक दुई सातापछि काठमाडौंमा हुने भनिए पनि औपचारिक मिति तय भइसकेको छैन ।

नेपालले तीन दर्जनभन्दा बढी विषयका विभिन्न ‘क्लस्टर’ बनाएर एजेन्डा प्रस्तुत गर्दैछ । बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा २५ भन्दा बढी नेपाली प्रतिनिधिले समूहगत रूपमा भारतीय पक्षसँग छलफल गर्नेछन् ।

भारतीय पक्षबाट पनि विदेशमन्त्री एस जयशंकरको नेतृत्वमा २५ सदस्यभन्दा बढी सहभागी हुनेछन् ।

नेपाली पक्षबाट राजनीति, सीमा सुरक्षा र व्यवस्थापनसम्बन्धी प्रमुख क्लस्टरमा रक्षा, गृह, कानुन तथा संसदीय व्यवस्था, भौतिक तथा पूर्वाधार निर्माण मन्त्रालयका प्रतिनिधि सहभागी हुनेछन्।

आर्थिक सहयोग तथा पूर्वाधार निर्माणसम्बन्धी क्लस्टरमा ऋण, कृषि क्षेत्रको विकास, सडक निर्माण, रेलसेवा विस्तारबारे छलफल गर्ने तयारी नेपाली पक्षको छ। रक्सौल–काठमाडौं रेलमार्ग निर्माणको पछिल्लो अवस्थाबारे पनि छलफल हुनेछ ।

संयुक्त आयोग बैठकमा नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार गरेको प्रतिवेदनको विषय पनि उठ्नेछ ।

बैठकमा भारतीय पक्षको नेतृत्व गर्ने जयशंकरको साथमा विदेश सचिव, नेपाल डेस्क हेर्ने सहसचिव, सम्बन्धित मन्त्रालयका उच्च अधिकारी र काठमाडौं स्थित दूतावासका प्रतिनिधि पनि सम्मिलित हुनेछन् ।

तपाईको प्रतिक्रिया