रौतहटमा कांग्रेसभित्र आन्तरिक किचलो, जागरण अभियान प्रभावित हुने

राजनीति

राकेश यादव

       

रौतहट, २५ भाद्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रौतहटमा आन्तरिक विबाद चुलिएको छ । विबाद बढेपछि कांग्रेसले देशभरि सञ्चालन गरेको जागरण अभियान रौतहटमा प्रभावित हुने संकेत देखिएको छ ।

पार्टीका जिल्ला सभापति कृष्ण प्रसाद यादव र केन्द्रीय सदस्य एवं रौतहट निर्वाचन क्षेत्र नम्बर २ का संघीय सांसद महमद आफताव आलमबीचको आन्तरिक विवादले सरकारको विरुद्ध शुरू गरेका देशव्यापी जागरण अभियान रौतहटमा प्रभावकारी हुन नसक्ने सम्भावना बढेर गएको छ ।

सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टीले जनताको चाहनाअनुसार कार्य गर्न नसकेको भन्दै कांग्रेसले देशभरि जनतालाई सरकारको गतिविधि र शैलीबारे जानकारी गराउने उद्देश्यले मंगलबारदेखि जागरण अभियानको शुभारम्भ गरेको छ । जागरण अभियान शुरू हुनुपूर्व रौतहटमा विवाद उत्पन्न भएको छ ।

एक समूहले जिल्ला कार्य समितिको कार्यालयमा बैठक आयोजना गरे भने अर्को समूह बैठक बहिस्कार गर्दै सांसद आलमको गौरस्थित निजी निवासमा पत्रकार सम्मलेनको आयोजना गरेको थियो ।

आलम पक्षले यादव पक्षले गरेको कार्य पार्टीको विधान विपरीत भएको ठहर गरे भने अर्को समूहले भएको कार्य विधान समेत रहेको दावी गरेका छन् ।

सभापति कृष्णा यादवले उपसभापतिमा सुनील यादवलाई मनोनीत गरे पछि विवाद चुलिएको हो ।

बहुमतको बलमा मनोनीत गरिएको भन्दै आलम पक्षधरले विवाद गरेका छन् । उनले विधानमा भएको व्यवस्थाअनुसार मनोनीतको कार्य गर्न माग गर्दै आएका छन् ।

विगतदेखि मनमुटाव हुँदै आएको दुवै पक्षबीच समन्वय सहकार्य गराउनलाई केन्द्रीय कार्य समितिले मोहमद आफताव आलमलाइ केन्द्रीय प्रतिनिधि मनोनीत गरेको छ ।

पेशाले कानून व्यवसायी रहेका आलमले पार्टीले दिएको जिम्मेवारी पूरा गर्न सक्रिय प्रयास गरे पनि सफलता मिल्न सकेका छैन ।

दुवै नेतालाई एक ठाउँमा बसाएर सहमतिको लागि छलफल गराउँदा पनि सहमति हुन नसकेको उनले बताएका छन् । आलमले अधिकांश विषयमा सहमति भएपनि एक दुई वटा विषयमा पार्टी सभापति यादवले अडान लिएपछि सहमति हुन नसकेको बताए ।

३० सदस्य जिल्ला कमिटीमा १७ जना एक तर्फ र १३ जना अर्कोतर्फ रहेका छन् । जिल्ला सचिव, कोषाध्यक्षसहित १७ जना सदस्य सांसद आलमको समर्थनमा रहेको बुझिएको छ ।

स्थानीय निर्वाचनमा ८ स्थानीय तह तथा २ वटा प्रतिनिधि सभामा जित हासिल गरेको कांग्रेसको बलियो स्थिति रौतहटमा रहेको छ । पार्टीका आन्तरिक कलहले आगामी निर्वाचनमा ठूलो झटका लाग्ने अनुमान गर्न थालिएको छ ।

आन्तरिक किचलोले जिल्ला कार्य समितिको निर्वाचनमा पनि एक पक्षको घाटा हुने अवस्थाको समेत विश्लेषण हुन थालेको छ ।

तपाईको प्रतिक्रिया