“पेट्रो” सम्बन्ध (सम्पादकीय)

सम्पादकीय

    २०७६ साल भदौैं २७ गते शुक्रबार   

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फरेन्समार्फत् आ–आफ्नो मुलुकबाट संयुक्त रूपमा स्विच थिचेर भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म बिछच्याइएको अन्दर्देशीय पेट्रोलियम पाइपलाइन परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका छन् । 

नेपालको तर्फबाट प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट र भारतका प्रधानमन्त्री मोदीले नयाँ दिल्लीस्थित प्रधानमन्त्रीको कार्यालय हैदराबाद हाउसबाट संयुक्त रूपमा भिडियो कन्फरेन्समार्फत एकैसाथ स्विच थिचेर परियोजनाको उद्घाटन गरे । यो पाइपलाइन दक्षिण एशियाकै पहिलो क्रस बोर्डर परियोजना पनि हो । यो परियोजनाबाट नेपालले सस्तो, शुुद्ध र बिना रोकावट पेट्रोलियम पदार्थको उपयोग गर्न पाउने अवसर प्राप्त गरेको छ । 

विगतमा ढुवानी अवरूद्ध हुँदा पेट्रोलियम पदार्थको हाराकार हुने समस्याको अब अन्त्य भएको छ । भारत सरकारको सहयोगमा सो परियोजनाको काम सम्पन्न भएसँगै अब एलपी ग्याँस पनि पाइपलाइनमार्फत् नै ल्याउने कार्यक्रम अघि बढाउन पनि बाटो सहज भएको छ । पहिलो चरणमा सो पाइपलाइनबाट डिजेल ल्याउने काम सुरू गरिएको छ । त्यसपछि क्रमशः पेट्रोल र मट्टितेल ल्याइनेछ ।  

नेपाल आयल निगमका अनुसार पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याउन थालेपछि नेपाल आयल निगमको वार्षिक दुई अर्ब भन्दा बढि ढुवानी खर्च बचत हुनेछ । अझ खुसीको कुरा के हो भने निर्माण सक्न ३० महिनाको लक्ष्य लिइएको यो परियोजना १७ महिनामै पूरा भएको छ । यसको सञ्चालनबाट इन्धनको सुनिश्चितता हुनेछ । जति बेला जति आवश्यक पर्छ, अवरोधबिनै त्यति इन्धन देशमा ल्याउन सकिन्छ । अहिलेका लागि ठूलो उपलब्धि यही हो ।
तेल ढुवानी गर्दा दैनिक २ सयदेखि ३ सय ट्यांकर प्रयोग हुन्थ्यो र अब पाइपलाइनमार्फत इन्धन ढुवानी खर्च वार्षिक ५० करोड रूपैयाँभन्दा बढी जोगिनेछ । साथै ट्यांकर बन्द भएपछि सडकमार्गमा चाप पनि घट्नेछ । यसले वातावरणलाई स्वच्छ बनाउनुका साथै बिग्रिराख्ने सडकमार्ग पनि जोगिनेछ । इन्धन चोरी, चुहावट र मिसावटजस्ता घटना पनि रोकिनेछन् । अमलेखगन्ज डिपोसम्म पेट्रोलियम पदार्थको शुद्धता पनि एक हदसम्म सुनिश्चित हुन्छ । धेरथोर चुहावट पनि नियन्त्रण हुन्छ । भन्सार नाकामा हुने सवारी जाम र हडतालको मार कम हुन्छ । त्यसैले यो परियोजनालाई आम रूपमा पनि सकारात्मक रूपमा ग्रहण गरिएको हो ।

अत्यावश्यक वस्तु मानिने पेट्रोलियम पदार्थ आपूर्तिको सबैभन्दा उत्तम विकल्प पाइपलाइन नै हो । यसकारण पाइपलाइनको बहुआयामिक महत्व रहेको छ । पाइपलाइन निर्माणले काठमाडौंमा पेट्रोलियमको आपूर्तिलाई अझै सहज बनाउनेछ भने पाइपलाइनले आम नेपालीलाई ऊर्जा सुरक्षाको सामान्य हदसम्मको प्रत्याभूतिसमेत दिन सफल भएको छ ।

यसकारण यस्ता पाइपलाइनलाई सम्भव हुने अन्य स्थानमा पनि विस्तार गरिनुपर्छ । दक्षिण एसियाकै पहिलो अन्तर्देशीय पेट्रोलियम पाइपलाइन नेपाल र भारतबीच सञ्चालनमा आउनु सकारात्मक हो । यसले दुई देशको सम्बन्धलाई थप बलियो र प्रभावकारी बनाउन सहयोग पु¥याउने छ । पाइपललाइनको निर्माण नेपाल–भारत सम्बन्धको एउटा उदाहरण पनि बनेको छ भने यो दुई देशबीचको विश्वासिलो सम्बन्धको प्रतीक पनि हो ।

तपाईको प्रतिक्रिया