अर्गानिक खेतीलाई प्रोत्साहन गरेका छौं : रजत प्रताप शाह

मेयर, कृष्णनगर नगरपालिका, कपिलवस्तु

स्थानीय सम्वाद्

    २०७६ साल असोज ३ गते शुक्रबार   

कृष्णनगर नगरपालिका पश्चिमी नेपालको तराइमा पर्ने कपिलवस्तु जिल्लामा अवस्थित एक नगरपालिका हो । कृष्णनगर बजार रहेको ठाउँलाई नगरपालिकाको केन्द्र बनाइएको छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा भने २०७१ जेष्ठ ४ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा कृष्णनगर, शिवनगर र सिर्सिहवा गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८÷६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा कृष्णनगर पनि नगरपालिका बनेको हो । कृष्णनगर नगरपालिका पूर्व पश्चिम राजमार्गलाई पनि छुन्छ । २०६८ को जनगणनाअनुसार यहाँको जनसंख्या २०३९५ रहेको छ । कृष्णनगर नगरपालिकामा २९२२ घरधुरी छ ।

० तपाइँ मेयरको रूपमा निर्वाचित भएको दुई वर्ष भइसक्यो, जनताले अनुभूति गर्ने के–कस्ता कामहरू गर्नुभयो त ? 

— यो दुई वर्षको अवधिमा हामीले कृषकहरूका लागि धेरै कार्यक्रमहरू गरेका छौं । यहाँका सिंचाइको समस्या थियो, त्यसका लागि बोरिङको व्यवस्था गरेका छौं । स्वास्थ्यको क्षेत्रमा पनि हामीले शिवराज अस्पताल र स्वास्थ्य चौकीहरूलाई व्यवस्थित गरेका छौं । अस्पतालमा अपरेशन थिएटरका लागि बजेट छुट्याएका छौं । शिक्षालाई विशेष गुणस्तर बनाउनका लागि अनुगमन गरिरहेका छौं ।

० कृष्णनगरका जनताले स्थानीय सरकारको अनुभूति गरेका छन् ? 

— यहाँका जनतालाई हामीले आधारभूत सेवा सुविधाहरू पु¥याइरहेका छन् । जनताका जुन कामहरू छन्, त्यसलाई सहज र सरल तरिकाले गरिरहेका छौं । हामी विकास गर्नका लागि नै निर्वाचित भएर आएका छौं । जनताको म्यान्डेट अनुसार नै काम गरिरहेका छौं । त्यसैले यहाँका जनताले स्थानीय सरकारको अनुभूति गरेका छन् ।

० सिंहदरबार गाउँमा आएको छ ? 

— सिंहदरबारको ढाँचा त गाउँमा आएको छ । तर, हामीसँग कर्मचारीको धेरै अभाव छ । अहिले हाम्रो नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पनि छैन । हामी कर्मचारीको अभावमा सोचे जति काम गर्न सकेका छैनौं । तर, हाम्रो स्रोत र साधनले भ्याएसम्म जनतालाई स्थानीय सरकारको अनुभूति गराउन सफल भएका छौं । हामीले नगरपालिकामा आएको दुई वर्ष बितिसक्यो । अहिले नयाँ संरचनाअनुसार तीन तहको सरकार आएको छ । विस्तारै सिस्टममा गइरहेको छ । विस्तारै कर्मचारीको पनि पूर्ति हुन्छ र जनताले सिंहदरबार गाउँमा महसुस गर्नेछन् । कुनै ठाउँमा प्राविधिक छैन, कहीं इन्जिनियर छैन भने कहीं प्रशासकीय अधिकृत छैन । यत्रो ठूलो–ठूलो विकासका योजनाहरू छन् तर कुनै प्राविधिक छैन । त्यसैले, जुनरूपमा प्रचार गरिएको थियो त्यसरी जनताले महसुस गर्न सकेका छन् ।

० यस आर्थिक वर्षमा प्राथमिकतामा के–के योजनाहरू सार्नुभएको छ ? 

— यहाँका जनजीवन मुख्यरूपमा कृषिमा नै आधारित छ । ७० प्रतिशत कृषिमा, त्यसपछि औद्योगिक क्षेत्रहरू पनि छन् । हामीले सबभन्दा बढी प्राथमिकतामा कृषिलाई राखेका छौं । त्यसैगरी, शिक्षा, स्वास्थ्य, बाटोघाटो लगायतलाई पनि प्राथमिकतामा राखेका छौं । हामीले गाउँ–गाउँमा बाटो निर्माण, गाउँदेखि अर्को गाउँ जोड्नका लागि कालोपत्रे, मैनरोड, लिंकरोड लगायत विस्तार भइरहेको छ ।

० कृषकहरूलाई के कति अनुदान वा सहुलियत दिनुभएको छ ? 

— गत वर्ष हामीले रू.साढे दुई करोडसम्म छुट्याएका थियौं । कृषिमा विभिन्न कार्यक्रमहरू पनि ल्याएका थियौं । बेमौसमी खेती कार्यक्रम, तरकारी खेतीको कार्यक्रम, विभिन्न तालिमहरू, ठूलो सिंचाइ योजना, सानो सिंचाइ योजना लगायतका थियो । यस वर्ष हामीले अर्गानिक फार्मिङ्गलाई धेरै प्रोत्साहन गरेका छौं ।  

० करिब दुई दशकको जनप्रतिनिधिविहीनताको अवस्थामा तपाइँहरू निर्वाचित भएर आउनुभयो, कस्तो समस्याहरूको सामना गर्नुप¥यो त ? 

— करिब २० वर्षसम्म जनप्रतिनिधि नहुँदा जनतालाई धेरै समस्याहरू भइरहेको थियो । हामी निर्वाचित भएर आउँदा जनताका आकांक्षा धेरै देखियो । हामी विस्तारै शून्यताको अवस्थाबाट काम थालेका छौं । अझ पनि हामीसँग म्यानपावरको अभाव छ । कर्मचारी अभावले हामीले जनताको अपेक्षाअनुसार काम गर्न सकेका छैनौं । समस्या भनेको कर्मचारीको अभाव नै हो । त्यसपछि केही ऐन कानूनहरू पनि नआएकोले अलिअलि समस्या आइरहेको छ । हामीले दुई वर्षको अवधिमा काम गर्दै जाँदा विस्तारै ट्रयाकमा ल्याउँदैछौं । अर्को कुरा हाम्रो बजेट दिनप्रति दिन केन्द्रले घटाउँदै लगेको छ ।

० निर्वाचनका बेला तपाइँले गरेका प्रतिवद्धताहरू के–के थियो ? 

— मैले निर्वाचनका बेला बाटोघाटो बनाइदिने, स्मार्टसिटी बनाउनुका साथै नमूना नगरपालिका बनाउने प्रतिबद्धता जनाएका थिए । हस्पिटलमा ट्रमा सेन्टर स्थापना गर्ने वाचा गरेको थिएँ । सोही प्रतिबद्धता अनुसार अहिले हामी अस्पतालमा अपरेशन थिएटरको व्यवस्था गरेका छौं । विस्तारै हामी ट्रमा सेन्टरको पनि व्यवस्था गर्छौं । केन्द्र र प्रदेश सरकारसँग सहयोग लिएर आगामी वर्षसम्म ट्रमा सेन्टर स्थापना गर्ने हाम्रो लक्ष्य छ ।

० भनेपछि तपाइँले गरेका प्रतिबद्धताहरू पूरा हुँदैछ ? 

— मैले गरेको प्रतिबद्धताभन्दा पनि बढी काम गरेर देखाउँछु । हामी जनताको सेवा गर्न आएका हौं । हामीले सेवा भावलाई केन्द्र बिन्दू बनाएकोले प्रतिबद्धताभन्दा बढी काम गर्छौं ।

० करको दायरा कस्तो छ ?
— विकासको लागि कर आवश्यक छ । हामीले जनताबाट कर उठाएर जनताकै लागि काम गर्ने हो, जनताकै विकास गर्ने हो । कर तिर्नु सबैको दायित्व हो र त्यसबाट विकास गर्नु हाम्रो दायित्व हो । नगरपालिकाबाट गरिने सिफारिसहरूलाई निःशुल्क गरेका छौं । हामीले खासै कर बढाएको छैन । यो एउटा औद्योगिक क्षेत्र भएकोले सामान्य कर लागू गरेका छौं । जनतालाई मार पर्ने खालका कर हामीले लगाएका छैनौं ।

तपाईको प्रतिक्रिया