नगरपालिकामा लगानी गर्नेलाई करमा विशेष छुट

समाचार

       

बुटवल, ५ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनमा विभिन्न छुटका योजनाहरु दिइएको छ ।
लगानी सम्मेलनका क्रममा सम्झौता हुने परियोजनाहरुका लागि रोजगारीका आधारमा व्यावसायिक करमा विभिन्न छुट दिने गरी नगरकार्यपालिका वैठकले निर्णय गरेको छ । लगानी सम्मेलनमा सम्झौता हुने परियोजनाका लागि कर छुट, जग्गा प्राप्ति लगायतमा लगानीकर्तालाई सहुलियत प्रदान गरिने नगर प्रमुख वासुदेव घिमिरेले बताए । 

नगरपालिकामा अत्यावश्यक परियोजना कार्यान्वयनका लागि नगरपालिकाले जग्गा लिजमा उपलब्ध गराउने नीति लिइएको नगर प्रमुख घिमिरेले जानकारी दिए । ‘लगानीकर्ताहरु जग्गा नपाएर फर्किनुपर्ने अवस्था आउन नदिन हामीले लिजमा जग्गा उपलव्ध गराएर परियोजना अघि बढाउन अनुमति दिन्छौं’ घिमिरेले भने ।

परियोजनासम्म जाने र आउने बाटोको पहुँच सुविधा नगरपालिकाले दिने भएको छ । सडक पूर्वाधारले परियोजनालाई जोडेसँगै परियोजना सफल रुपमा अगाडि बढ्ने भएकाले बाटोको पहुंच सुविधा नगरपालिकाले दिने निर्णय भएको उनले बताए ।
त्यसैगरी नगरपालिकाले न्यूनतम ५० जनासम्मलाई रोजगारी दिने परियोजनालाई स्थापनाको पाँच वर्षसम्म व्यावसायिक करमा ५० प्रतिशत छुट दिने योजना बनाएको छ ।

‘व्यवसायीको माग र समस्या हामीले जतिसक्दो सम्बोधन गर्ने प्रयास गरेका छौं’(नगर प्रमुख घिमिरेले भने । त्यस्तै न्यूनतम तीनसय जना सम्मलाई रोजगारी दिने परियोजनालाई स्थापनाको १० वर्ष सम्म व्यावसायिक करमा ७५ प्रतिशत छुट दिइने नगरपालिकाको योजना छ । तीनसय जना भन्दा माथि पांचसय जना सम्मलाई रोजगारी दिने परियोजनालाई स्थापनाको १२ वर्ष सम्म व्यावसायिक करमा ९० प्रतिशत छुट दिइनेछ । पांचसय जना भन्दा माथि रोजगारी दिने परियोजनालाई स्थापनाको १५ वर्षसम्म व्यवसायिक करमा शतप्रतिशत छुट दिइने निर्णय भएको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया