स्खलित हुँदै मधेशी दल (सम्पादकीय)

सम्पादकीय

    २०७६ साल असोज १० गते शुक्रबार   

मधेशको राजनीतिलाई एकैछिन थाँती राखेर हेर्ने हो भने जनजिविकामा सवालमा यो क्षेत्र धेरै पछि परेको छ । हामीलाई लाग्न पनि सक्छ कि मधेशको राजनीतिले आफ्नो गन्तव्य पूरा गर्ने चरणमा छ । गणतन्त्र, संघीयता र समावेशी सिद्धान्त लामो संघर्षले स्थापना भएका उपलब्धि हुन । तर जनताको भोगाइ र अनुभूतिको परिदृष्यमा आधारभूत समस्याहरू जस्ताको त्यस्तै छन् । विशेषगरी राष्ट्रियताको सवाल, जनजिविकाको सवाल र प्रतिक्रियावादी राज्यव्यवस्था भित्रका तमाम विकृति विसंगति जस्ताको तस्तै छन् ।

जनताका दुःख, पीडा, अन्याय, अत्याचार, शोषण, दमन, भेदभाव, नातावाद, कृपावाद, परिवारवाद, दल भित्रका गुट उपगुट, भ्रष्टाचार, हत्या, हिंसा, बलात्कार, लैंगिक विभेद, छुवाछूत, जातीय विभेद, सामाजिक कुसंस्कार, रूढीबादी रितिरिवाज लगायतका तमाम समस्या अहिले पनि जस्ताको तस्तै अझै । यस तथ्यले के बताउँछ भने यो राज्यव्यवस्थामा केही राजनीतिक परिवर्तन र आंशिक उपलब्धि हासिल भएपनि पुरै राज्यव्यवस्था वा सत्ता परिवर्तन भएको छैन । हामीले आशा र अपेक्षा गरेको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था भित्रका सुधारका कार्यक्रम, जनताले प्राप्त गरेका हक अधिकारको कार्यान्वयनको अवस्था र यस गणतन्त्र अन्तर्गत सरकारको भनाइ, गराई र जनताको भोगाइ सवालका साथै मधेशमा सत्तासीन राजपा र समाजवादी दलका नेतृत्व पंक्तिमा आएको वैचारिक, राजनीतिक र वर्गीय स्खलन मधेशको लागि टाउको दुखाइ बनेको छ । प्रदेश २ मा राजपा र समाजवादीको शक्तिशाली र स्थायी सरकार हो । यो यस्तो अनुकुल अवस्था हो कि जुन अहिलेको व्यवस्थामा जे जति उपलब्धि हासिल भएका छन् ती सबै मधेशी जनताको पक्षमा अधिकभन्दा अधिक प्रयोगमा ल्याइनु पर्ने हो । तर सरकार गठनका झन्डै दुई बर्ष बितिसक्दा पनि जनतामा जुन आशा र अपेक्षा थिया,े त्यो निराशामा परिणत भएको छ ।

सत्तारोहण सँगै अधिकांश मधेशी नेताहरूमा धन सम्पत्तिप्रतिको अत्यधिक मोह जागेको छ । पद र प्रतिष्ठामा अत्यधिक आसक्ति पलाएको छ । सुख सयल र रोब–रबाफको भोक जागेको छ । उनीहरू सुविधाभोगी हुँदै गएका छन् । हिजो राजनीतिक परिवर्तन खातिर त्यस्तो कष्टप्रद र त्यागपूर्ण संघर्ष गर्दै गरेका नेताहरू र अहिलेका आत्मकेन्द्रीत बन्दै गएका छन् । महंगी, बेरोजगारी, युवा पलायनलाई रोक्न सकिएको छैन । सामाजिक विकृतिको रूपमा रहेको छुवाछुत, जातीय भेदभाव, महिला हिंसा, बालश्रम शोषण घट्नुको साटो झन बढेर गएका छन । यसतर्फ सरकारको उचित ध्यान पुग्न सकेको छैन । कृषि अनुदान किसानले पाउदैन । मधेश कृषि प्रधान भूमि हो तर यहाँका किसानले समयमा न बिउ पाउँछन, न त मल नै । सिंँचाइको कुरा त झन गाह्रो भयो । मधेशी नेता जब आफू स्खलित भएको थाहा पाउछन् वा स्खलित हुँदै गर्दा त्यसलाई पर्दा हाल्न अनेक गुलिया नारा र भाषण गर्छन् ।

मधेशी दलहरूको पछिल्लो रवैयाका कारण मधेशको मन अशान्त छ । यसो हुनुको कारण राज्यबाट भोग्दै आएको विभेद एउटा कारण हो भने अर्को महत्वपूर्ण कारण मधेशी दलहरूको स्वार्थी चरित्र पनि हो । मधेशी दलका नेताहरू मधेशले प्राप्त गरेको उपलब्धिलाई पनि आफ्नो स्वार्थअनुसार अथ्र्याएर मधेशी जनतामा भ्रम छर्ने गरेकाले मधेशी जनतामा अहिले मतभेद फैलिँदो छ । अहिले अस्तित्वमा रहेका मधेशी दलबाटै केही नेताहरू विगतमा मन्त्री भएका हुन् । केही अहिले पनि केन्द्र सरकारमा मन्त्री छन् तर मन्त्री पदमा रहँदा मधेशप्रति उनीहरूको वक्रदृष्टि रहँदै आएको छ । राजकिशोर यादव कुनै बेला सञ्चार मन्त्री थिए र उनकै पालामा १० वर्ष कनिष्ठ कर्मचारलाई नेपाल टेलिभिजनको महाप्रवन्धक बनाइए, जबकि उनीभन्दा वरिष्ठ मधेशी पत्रकार त्यसका लागि योग्य थिए ।

यो त एउटा प्रतिनिधिमूलक घटना मात्र हो । यस्ता अनेकौं उदाहरणहरू पेश गर्न सकिन्छ । आखिर मधेशको जनजिविकाको सवालमा मधेशी दलहरू किन बोल्दैन । विश्लेषहरू यसको पछाडि मधेशी नेताहरूको आत्मकेन्द्रित र स्वार्थपूर्ण सोच हाबी भएको तर्क गर्छन । पछिल्लो एक दशकमा मधेशी दलका चार दर्जन नेता मन्त्री भइसकेका छन् । धेरै अपिरिचत अनुहार नेता भए । तर मधेशको अजेन्डा सम्झौतापत्रमा सीमित भए । कारण हो नेतामा अजेन्डाप्रति समर्पण नहुनु । अजेन्डा उचालेर आन्दोलन गर्ने अनि त्यो आन्दोलनलाई आफ्नो स्वार्थअनुसार बिसाउने प्रवृतिले पनि मधेश जनताको सामाजिक परिवर्तन आउन सकेको छैन ।

मधेशी दलहरू मधेशको आर्थिक, सामाजिक, सांस्कृतिक मुद्दाबारे बोल्दैन । लाग्छ, राजनीति बाहेक मधेशको कुनै मुद्दा नै छैन । मधेशी दलहरूको यहि कमजोरीका कारण, प्रदेश २ को सरकार असफलतातिर गइरहेको छ । कुनै नयाँ सोच छैन, बजेटलाई कसरी सदुपयोग गर्ने, प्रदेशलाई समृद्धितर्फ लान कसरी विकास गर्ने त्यतातिर यो सरकारको कुनै सोच छैन । जथाभावी र अनावश्यकरूपमा बजेट खर्च गर्नेतिर मात्रै यो सरकारको काम गरिरहेको छ । दूरदृष्टिले आगामी दिनमा कसरी समृद्धि हासिल गर्ने तर्फ प्रदेश सरकारको ध्यान छैन ।

तपाईको प्रतिक्रिया