पहिचानकै आधारमा राज्यको पुनर्संरचना हुनुपर्छ : संयोजक ठाकुर

राजनीति

       

काठमाडौं, १३ असोज । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले पहिचानको आधारमा अहिले पनि नेपालमा विभेद जारी रहेको बताएका छन् ।

सोमबार राजपा कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक ठाकुरले सो कुरा बताएका हुन् ।

उनले पहिचानको आधारमा विभेद भइरहेकोले प्रदेशको संरचना पनि पहिचानकै आधारमा निर्माण हुनुपर्ने बताएका छन् ।

‘नेपालको संविधानमा मधेशी समुदायले अपनत्व ग्रहण गर्न सकिरहेका छैनन्,’ ठाकुरले भने, ‘त्यसका लागि हामी अहिले पनि संघर्षमै छौं ।’

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीका मुस्लिम नेता कार्यकर्ताहरुलाई भित्र्याउँदै संयोजक ठाकुरले भने, ‘तपाइँहरुको प्रवेशले हाम्रो संघर्ष अझ ऊर्जाशील हुनेछ । हामी आफ्नो अधिकारका लागि अझ सशक्त भएर लाग्नेछौं ।’

यसैगरी, कार्यक्रमलाई सम्बोधन गर्दै राजपा अध्यक्षमण्डलका नेता राजेन्द्र महतोले नेकपा र कांग्रेसले गर्न नसकेको काम राजपाले गर्ने दाबी गरेका छन् । उनले राजपाले विभेदलाई समाप्त पार्ने बताए ।

उनले आफूहरुले संविधान दिवसलाई कालो दिनको रुपमा मनाएको बताउँदै संविधानलाई सर्वस्वीकार्य बनाउन कालो दिनको रुपमा मनाएको जिकिर गरे ।

तपाईको प्रतिक्रिया