नीति कानूनले मात्र बालविवाह अन्त्य गर्न सकिदैन : मुख्यमन्त्री राउत

समाचार

       

जनकपुरधाम, १५ असोज । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले नीति कानूनले मात्र बाल विवाह अन्त्य गर्न नसकिने बताएका छन् ।

जनकपुरमा बुधबार आयोजित प्रदेशस्तरीय बालविवाह अन्त्यका लागि नीतिगत सम्वाद कार्यक्रममा मुख्यमन्त्री राउतले समाजमा चेतनाको अभिवृद्धि नभएसम्म नीति कानून बनाएर मात्र वालविवाह अन्त्य नहुने धारणा व्यक्त गरे ।

उनले भने, ‘नीति कानून त धेरै पहिलादेखि नै छन्, तर बालविवाह रोक्न सकिएको छैन, यसलाई रोक्न समाजिक चेतनाको अभिवृद्धि र छोरीलाई सक्षम बनाउनु पर्दछ ।’

उनले छोरीहरुलाई शिक्षित र सक्षम बनाउनुका साथै नीति तथा कानून कार्यान्वयनको पक्षलाई मजबुत बनाउनु पर्ने आवश्यकता औल्याए ।

प्रदेश सरकारले छोरीलाई शिक्षित र सक्षम बनाउन बेटी पढाउ बेटी बचाऊ कार्यक्रम संचालनमा ल्याएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले त्यसको प्रतिफल देखिन शुरु भइसकेको बताए ।

पछिल्लो एक वर्षमा प्रदेश भित्र भ्रुण हत्यामा व्यापक कमी आएको प्रतिवेदन सार्वजनिक भइसकेको उनको कथन थियो ।

प्याक नेपालका सुनिल यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य राम अशिष यादव सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया