काठमाडौंमा गान्धी जयन्ती मनाइयो

समाचार

       

काठमाडौँ, १६ असोज । भारतीय नेताहरूले नेपालमा महात्मा गान्धीको दर्शनको गहिरो प्रभाव परेको बताएका छन् । महात्मा गान्धीको १५० औं जयन्तीका अवसरमा महेन्द्रनारायण निधि प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको गान्धी दर्शनसम्बन्धी प्रवचनमा सत्तारूढ भाजपाका प्रवक्ता विजय शोनकर शास्त्री र कांग्रेस आईका नेता एवं पूर्वविदेशमन्त्री सलमान खुर्सिदले नेपाल र भारतकै राजनीतिमा गान्धीको दर्शनले प्रभाव पारेको बताए । 

कार्यक्रममा कांग्रेस सभापति देउवाले ग्रामस्वराज कार्यक्रममार्फत गान्धीले निमुखा र गरिब जनताको जीवनस्तरमा परिवर्तन ल्याउन क्रान्तिकारी काम गरेको बताए । बेलायतको उपनिवेशविरुद्ध गान्धीले चर्खा आन्दोलन चलाएको र त्यसको प्रभावसमेत नेपालमा परेको चर्चा उनले गरे । कांग्रेस वरिष्ठ नेता पौडेलले नेपालमा राम्रो हतियारले होइन, राम्रो विचारले राजनीति जित्न सकिन्छ भन्ने मान्यता बुद्ध र गान्धीको दर्शनमा पाइने बताए ।
भाजपा प्रवक्ता शास्त्रीले ‘सबका साथ, सबका विकास’ भन्ने प्रधानमन्त्री नरेन्द्र मोदीको नारा गान्धी दर्शनकै प्रभाव रहेको बताए । 

शान्तिपूर्ण बाटोबाट नेपालले सशस्त्र द्वन्द्व अन्त्य गरेको मुद्दालाई भारतीय प्रधानमन्त्री मोदीले नेपालको संसद्, भारतको लालकिल्ला र संयुक्त राष्ट्रसंघको महासभामा समेत उदाहरणका रूपमा प्रस्तुत गरेको स्मरण गरे । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले पनि गान्धी दर्शनको नेपालमा प्रभावबारे धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया