शुभ होस् दशैं (सम्पादकीय)

सम्पादकीय

प्रकाशित मिति : २०७६ असोज १७ गते शुक्रबार

       

महान पर्व विजया दशमी शुरू भइसकेको छ । १५ दिन लामो यो पर्वलाई सद्भावको मात्र नभएर असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा समेत मनाइने गररिन्छ । यो आस्थाको प्रतीक मात्र नभएर शक्ति, सहिष्णुता, सद्भावलगायतप्रतिको समर्पण पनि हो ।

पौराणिक कथाहरूमा दशैं पर्वका अनेकन महिमा छन् । यसको धार्मिक आस्था एकातिर छ । धर्मसंगै दशैंजस्ता पर्वलाई वर्षभरी कामको थकानबाट मुक्ति पाउन केही दिन रमाइलो गर्ने पर्वका रूपमा पनि व्याख्या गरेको पाइन्छ । जसले जसरी व्याख्या गरेपनि परापूर्वदेखि मनाइदै आएको यो पर्वलाई राज्यले समेत महत्व दिएको देखिन्छ ।

नेपालको वर्तमान अवस्था राजनीतिक रूपले अन्योलग्रस्त र अस्थिर प्रकृतिको छ भने सांस्कृतिक विचलनको लहरले पनि सामाजिक सद्भाव, सहिष्णुता र एकतावद्ध भावना नै खलबल्याउने चेष्टा गरिरहेको छ । आमूल राजनीतिक परिवर्तनको लहरले मुलुकको समग्र क्षेत्र कुनै न कुनै रूपमा प्रभावित भइरहेको बेला नेपालको सामाजिक सद्भाव र मेलमिलापको राष्ट्रिय संस्कृतिविरूद्ध विधर्मीका सुनियोजित षड्यन्त्रका खेलहरू अनेक प्रसंगसँंग जोडिएर आएका छन् ।

जातिगत, भाषागत, धर्मगत, संस्कृतिगत र क्षेत्रगत विभेदका लहरहरू निर्देशित रूपमा नै उठाएर नेपालको राष्ट्रिय एकता र अखण्डतामाथि नै आँच ल्याउने गरी अनेक गतिविधिहरू परिचालित हुँदै आएकाले सांस्कृतिक विचलनको गति तीब्रतर छ र त्यसले राष्ट्रिय समस्याकै रूप लिदैँ गएको छ ।

सामाजिक–सांस्कृतिक सद्भावको आधार नै खलबल्याएर निषेधको कुसंस्कार जागृत गराई नेपालको सांस्कृतिक ऐक्यवद्धतालाई विशृङ्खलित पार्ने षड्यन्त्रात्मक प्रयासहरू निरन्तर जारी छन् । नेपालको पवित्र भूमि सबै जातजाति, भाषाभाषी, वर्ग, सम्प्रदाय र समुदायको साझा सम्पदा हो भने बडा दशैं पनि सबै नेपालीको सांस्कृतिक धरोहर हो । राष्ट्रिय चाडपर्वका रूपमा बडा दशैंको सांस्कृतिक विशिष्टता जोगाइराख्नु राष्ट्रिय एकता र आवश्यकताको सम्बर्धन गर्नु हो ।

बडा दशैंको शुभ सन्देश भनेको आमनेपाली जनताबीच सद्भावना, मेलमिलाप, सहअस्तित्वबोध र ऐक्यवद्ध सांस्कृतिक चेतको जागरण नै हो । शान्ति, सुख र समृद्धिको मानवीय चाहना सामाजिक–सांस्कृतिक सद्भावबाट मात्र पूरा हुनसक्छ । वियोग र विछोडको अवस्थालाई संयोग र मिलनको अवस्थामा पुर्‍याउने र खराब प्रवृत्तिमाथि विजय प्राप्त गरी असल जीवनशैली अनुशरण गर्न प्रेरित गर्ने बडा दशैंको शुभ सन्देश सदा सर्वदा जीवनोपयोगी छ ।

सत्ता स्वार्थको विकृतिजन्य राजनीतिक अभ्यासले सिंगो समाज ग्रस्त भएको वर्तमान सन्दर्भमा बडा दशैं तथा विजया दशमीको सद्भाव, एकता र मेलमिलापको परम्परागत रूपमा अविरल प्रवाहित सन्देशले सबै नेपालीको मन–मस्तिष्कमा उज्यालो ल्याओस् र ऐक्यवद्ध सांस्कृतिक चेत जागृत गरोस् । यही नै हाम्रो शुभकामना ।

तपाईको प्रतिक्रिया