सरकारविरूद्ध राजपासँग सहकार्य हुन्छ : सत्यनारायण खनाल

प्रतिनिधिसभा सदस्य, नेपाली कांग्रेस

अन्तर्वार्ता

    प्रकाशित मिति : २०७६ असोज १७ शुक्रबार   

० संघीय संसदको चौथो अधिवेशन सम्पन्न भएको छ, यो अधिवेशन कति उपलब्धिमूलक रह्यो ?

— संसदको हालै सम्पन्न चौथो अधिवेशनमा केही विधेयकहरू पास भएका छन् । केही विधेयक बहुमतको हिसावले पास भयो भने कतिपय विधेयकहरू विभिन्न समितिहरूमा छलफल भएर पास भएका छन् । केही विधेयकहरू यो सरकारले ल्याउनै सकेन । जस्तै, मिडिया सम्बन्धि विधेयक, मानवअधिकार सम्बन्धि विधेयक पनि रोकिएको छ । यो सरकारले मिडियालाई पनि आफ्नो नियन्त्रणमा राख्न खोजेको हो । त्यसमा हाम्रो विरोध छ । राष्ट्रिय मानव अधिकार आयोगलाई पनि भ्रातृ संस्थाको रूपमा राख्न खोजिएको थियो । तर, हाम्रो विरोधका कारण अहिलेसम्म रोकिएको छ । समग्रमा सामान्य विधेयकहरू मात्र ल्याउन सक्यो यो सरकारले ।

० कांग्रेसले जहिले पनि सरकारको आलोचना मात्रै गर्छ, यो सरकारले राम्रा कामहरू केही पनि गरेको छैन त ?

— राम्रो काम गरेपछि हामी कहिल्यै विरोध गर्दैनौं, समर्थन नै गर्छौं । यो सरकार गठन भएको दुई वर्ष भयो, दुई तिहाईको सरकार छ तर केही गर्नै सकेको छैन । यो सरकारको न हाँसको चाल न त कौवाको चाल जस्तो भयो । दुई तिहाईको दम्भ मात्रै देखाइरहेको छ । काठमाडौंको वातावरण एकदम दूषित छ, महँगी आकाशिएको छ, खाद्य पदार्थ पनि विषालुयुक्त छ । जनतालाई हित हुने काम गर, अहित हुने काम नगर, महँगी नियन्त्रण गर, आर्गेनिक खाना खुवाउ, विषादीयुक्त फलपूल र तरकारीहरू रोक् लगायतका कुराहरू कांग्रेसले गरेको छ । यो नराम्रो कुरा त होइन । राम्रा कुराको हामीले समर्थन नै गरेका छौं ।

० यस्ता बेथितिहरू यो सरकार आएपछि मात्रै भएको त होइन ?

— पहिला पनि केही बेथितिहरू थिए, तर पहिलाका सरकारहरू अस्थायी थिए । पूर्ण बहुमतका सरकार थिएन, मिलिजुली सरकार थियो । तर, अहिले त पाँच वर्षका लागि यस्तो मजबुत सरकार कि ढल्ने सम्भावनै छैन । पाँच वर्षसम्म कसैले केही गर्न सक्दैन यो सरकारलाई । यस्तो बहुमतको सरकारले राम्रोसँग काम गर्नुपर्दथ्यो । पहिलो वर्ष आधार वर्ष भन्यो, दोस्रो वर्ष पनि त्यही भन्दैछ ।

० भनेपछि यो सरकार असफल भइसक्यो ?

— हो । पाँच वर्षसम्म यो सरकार त जान्छ, दुई तिहाईको बहुमत छ । तर, पाँच वर्षमा के ग¥यो भन्ने कुरा महत्वपूर्ण हो । रोजगारीको वातावरण सिर्जना गर्न सेकेको छैन । युवाहरू विदेश पलायन हुने अवस्थामा कमी आएको छैन । कृषि प्रधान देश भन्छ तर, उत्पादन कसरी बढाउने, कसरी वैज्ञानिक खेती गर्ने केही योजना छैन । यती धेरै नदीहरू छन्, त्यसबाट विद्युत उत्पादन गर्ने, सिंचाइका लागि उपयोग गर्ने त्यतातिर ध्यानै छैन । यो हिसावले राष्ट्र बन्दैन । देश बनाउनका लागि हामीले आफ्नो भौगोलिक स्थितिलाई हेर्नुपर्छ । कृषिमा आधारित हाम्रो मुलुक भएकाले पहिला कृषिलाई नै वैज्ञानिककिरण गर्नुपर्छ । पहिला हामीले भारतलाई धान बेच्थ्यौं, तर अहिले किन्नु परेको अवस्था छ । त्यसैले कसरी जाने हो यो सरकारले थाहै पाएको छैन । मख्ख पर्दैमा दुई वर्ष गइसक्यो ।

० कांग्रेसको पनि भूमिका प्रभावकारी नभएर यो सरकारले आफ्नै तालमा हिंडिरहेको छ नि ?

— कांग्रेसले त आफ्नो भूमिका निर्वाह गरिरहेकै छ । यदि कांग्रेसले विरोध गर्दैन भने यो सरकारले मनपरी तरिकाले विधेयकहरू ल्याउन सक्थ्यो । गुठी विधेयकको विरोध ग¥यौं, मिडिया विधेयक ल्याउन दिएनौं । जनता र राष्ट्रको अहित हुने विधेयकहरूलाई कांग्रेसले नै रोकेको छ ।

० संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना गराउन सबै दलहरूको योगदान छ । तर, यसलाई संस्थागत गराउन सबै दलबीच किन सहकार्य हुन सकिरहेको छैन ?

— संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था ल्याउने बेलामा सबै दल एकजुट नै थिए र त्यसको नेतृत्व नेपाली कांग्रेसले गरेको हो । निर्वाचनमा जब कम्युनिष्टहरूले बढी मत लिइसकेपछि प्रतिपक्षीसँग सल्लाहै गर्न छोडिदियो । एक्लै हिंड्न खोज्दा यी कुराहरू भएको हो । प्रतिपक्षीसँग पनि सल्लाह गरेर काम गरेको भए धेरै राम्रो हुन्थ्यो । तर, यो सरकारले बहुमतको दम्भमा राष्ट्र निर्माणको कार्यबारे सोच्नै सकेको छैन । बाढी आयो, सारा मधेशलाई डुबायो, खेती बगायो, अहिले सुख्खा छ । हाम्रो आधार नै मधेश हो, त्यहाँ उत्पादन नभएपछि के खान्छौं ? यसै पनि सबै चीज विदेशबाटै ल्याउनुपर्छ ।

० राष्ट्रको हितमा कार्य गर्न कांग्रेसको दबाबले यो सरकार सुनिरहेको अवस्था छैन । सशक्त प्रतिपक्षीको भूमिकामा आउन राजपासँग सहकार्य किन हुँदैन ?

— केही–केही मुद्दामा राजपासँग सदनमा हाम्रो सहकार्य भएको छ । आगामी दिनमा पनि राजपासँग सहकार्य गरेर जानुपर्छ । किनभने जायज कुरा गराउनका लागि राष्ट्र र जनताको हित हुने कार्यमा मिलेर जानुपर्छ ।

० नेपाली कांग्रेसले हिन्दू राष्ट्रको मुद्दालाई उठाउन सुरू गरेको हो ?

— नेपाली कांग्रेसको मुद्दा हिन्दू राष्ट्र होइन, धार्मिक स्वतन्त्रता हो । यो भनेको आआफ्नो इच्छा लागेको धर्म पालना गर्न पाउने, उसको स्वतन्त्रलाई कसैले हनन् गर्न नपाउने । हाम्रो पार्टीभित्र पनि हिन्दू धर्म मान्ने व्यक्तिहरू धेरै छन् । तर, हामीले धर्मको आधारमा कसैलाई भेदभाव गर्दैनौं । हामी धार्मिक स्वतन्त्रताको पक्षधर हौं ।

० तर, कांग्रेसभित्र हिन्दू राष्ट्रको कुराहरू उठ्न थालेका छन् नि ?

— बाहिर–बाहिर मात्र यस्तो चर्चा चल्दैछ । पार्टीमा यसबारे कुनै छलफल भएको छैन । नेताहरूले विभिन्न कार्यक्रममा बोल्नुहुन्छ । तर, अहिलेसम्म कांग्रेसको एजेन्डा हुन सकेको छैन । धर्मनिरपेक्षमै अहिलेसम्म हाम्रो धारणा हो ।

० कांग्रेसले दुई चरणको जागरण अभियान सम्पन्न ग¥यो, के प्रतिफल आयो त ?

— जनजागरण अभियानको उद्देश्य भनेको जनतालाई जागरूक बनाउने हो । राष्ट्रमा अहिले के भइरहेको छ, सरकार कसरी गइरहेको छ यसबारे जानकारी जनतालाई दिने उद्देश्य हो । त्यसबारे जनतामा जागरण ल्याउने । यो व्यवस्था ल्याउन जनताले नै आन्दोलन गरेका छन्, त्यसपछि त यो व्यवस्था आएको हो । जनता नै सर्वोपरी हुन्, देशका मालिक हुन् देशमा के भइरहेको छ भन्ने कुराको जानकारी गराउन कांग्रेसको जागरण अभियान भएको हो । जुन व्यवस्थाका लागि जनताले सहादत दिए, यत्रो संघर्ष गरे, त्यो व्यवस्थाबाट आएको सरकारले के गरिरहेको छ त्यसको बारेमा पनि जानकारी दिने हाम्रो उद्देश्य हो ।

० संविधान जारी भएको चार वर्ष पूरा भइसक्यो तर, अहिलेसम्म सर्वस्वीकार्य हुन सकेको छैन । संविधान संशोधनको अपरिहार्यता कतिको देख्नुहुन्छ ?

— संविधानलाई सर्वस्वीकार्य बनाउन संशोधन गर्नैपर्छ । कांग्रेसकै पालामा संशोधनका लागि पहल गरिएको थियो, तर हाम्रो बहमुत नभएकोले संशोधन हुन सकेन । यो संविधान सबैको संविधान बनाउनका लागि संशोधन गर्नुपर्छ । नेपाली कांग्रेस संशोधनको पक्षमा छ तर, बहुमत प्राप्त गरेको पक्ष सहमत नभएकोले अहिलेसम्म यस्तो अवस्था देखिएको हो ।

० तर, यो संविधान ८०–९० प्रतिशत जनप्रतिनिधिले जारी गरेको भनेर भनिँदैछ नि ?

— त्यतिखेर गणितको हिसावले ८०–९० प्रतिशत थियो । तर, तुरून्तै नेपाली कांग्रेसले यो संविधान संशोधन गर्नुपर्छ भनेर संशोधन पेश गरेको थियो । किनभने आधाभन्दा बढी जनसंख्या ओगटेका जनताको चित्त नबुझाइकन सफल कार्यान्वयन हुन सक्दैन । संविधानले त सबैलाई उत्तिकै उज्यालो दिनुपर्छ ।

० त्यतिखेर कांग्रेस नेतृत्वको सरकारले हतारमा संविधान जारी गर्नुको कारण के थियो ?

— त्यतिखेर तुरून्त संविधान जारी नगरेको भए यो मुलुकले नयाँ संविधान नै नपाउने अवस्था थियो । बरू पछि संशोधन गरौंला भन्ने उद्देश्य पनि थियो । संविधान आओस् भनेर विभिन्न पक्षहरू पनि लागेको देखियो ।

तपाईको प्रतिक्रिया