नेपाल र भारतबीच सचिवस्तरीय उर्जा बैठक आज

समाचार

       

काठमाडौं, २७ असोज । नेपाल–भारत विद्युत व्यापार सम्झौता अन्तर्गतका संयुक्त सञ्चालक समिति र संयुक्त कार्य समूहको सातौं बैठक भारतमा हुने भएको छ । यसमा भाग लिन ऊर्जा मन्त्रालयका सचिव दिनेश घिमिरे नेतृत्वको प्रतिनिधिमण्डललाई मन्त्रिपरिषद बैठकले स्वीकृति दिइसकेको छ ।
असोज २७ र २८ गते हुने बैठकमा भारतसँग विभिन्न ऊर्जासम्बद्ध एजेन्डामा छलफल र सहमतिको प्रयास हुनेछ । न्यू बुटवल–न्यू गोरखपुर ४ सय केभी अन्तरदेशीय प्रसारणलाइनको निर्माणको मोडालिटी यही बैठकमा टुंग्याउने प्रयत्न हुनेछ ।

यस्तै भारतमा बस्ने सातौं बैठकमा इनर्जी बैंकिङको कार्यान्वयनको तयारीबारे पनि छलफल हुनेछ । यसका लागि इनर्जी बैंकिङको मस्यौदामा सहमति जुटिसकेको छ । नेपालमा वर्षयाममा बढी भएको विजुली भारत पठाएर त्यसको सट्टामा हिउँदमा विजुली ल्याउने गरी इनर्जी बैंकिङ गर्न दुबै देश तयार भइसकेका छन् ।

यस्तै बैठकमा कटैया–कुशाहा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारणलाइनलाई डबल सर्किट गर्नेबारे पनि छलफल हुनेछ । यस्तै भारतका दैनिकरुपमा बोलकबोलमा बिजुली विक्री हुने इनर्जी मार्केटमा नेपाललाई प्रवेश दिनेबारेपछि यसै बैठकमा दुई देशले छलफल गर्नेछन् । नेपाल र भारतबीचको प्रसारणलाइनलाई आधुनिक बनाउन हार्मोनाइज तथा सिंक्रोनाइज गर्ने बारेपनि छलफल हुने भएको छ ।

यस्तै नेपाल र भारतबीच लम्की–बरेली र दुहबी–पुरणीया ४ सय केभीय प्रसारणलाइन निर्माण अघि बढाउन पनि यो बैठकले ठोस सहमति जुटाउन सक्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया