नेपाल र चीनबीच २० बुँदामा समझदारी

समाचार

       

काठमाडौं, २७ असोज । । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणमा नेपाल र चीनबीच विविध २० वटा क्षेत्रमा समझदारी एवम् सहमति भएको छ । प्रधानमन्त्री के पी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीको उपस्थितिमा दुवै देशका मन्त्री तथा अधिकारीहरुले सहमति एवम् समझदारी पत्रहरू आदान प्रदान गरे । 

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङ नेतृत्वको उच्च स्तरीय प्रतिनिधिमण्डलबीच औपचारिक वार्ताको क्रममा सहमति भएको बुँदाहरुमा समझदारी भएको हो । 

भ्रमण अघि नेपालले चिनियाँ प्रतिनिधिमण्डलसँगको वार्तामा सम्पर्क सञ्जाललाई प्राथमिकतामा राख्ने तयारी गरे अनुरुप वार्तापछिको सहमतिमा पनि उक्त बुँदाले स्थान पाएको छ । सम्पर्क सञ्जाल अन्तगर्त काठमाडौं केरुङ रेलमार्ग निर्माण गर्न सम्भाब्यता अध्ययन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त आयोजनाका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच समझदारी भएको हो ।
सरकारले चिनियाँ राष्ट्रपति सीको भ्रमण अघि शक्तिसम्पन्न एवम् विश्वकै सबैभन्दा बढी जनसंख्या रहेको दुई राष्ट्र भारत र चीनबीच आफ्नो भौगोलिक अवस्थितिलाई सदुपयोग गर्ने गरी अगाडि बढ्न चाहेको जनाएको थियो । सहमतिका बुँदाहरूमा समेत सरकारको अपेक्षा र प्राथमिकताहरू समावेश गरिएको छ । 

सहमतिका बुँदाहरूमा चिनियाँ लगानी प्रवद्र्धन गर्न र सहयोग आदान प्रदान गर्न दुबै देशको योजना आयोगहरूबीच समझदारी भएको छ । चिनियाँ लगानी प्रोत्साहन गर्न दुई देशबीचका अधिकारीहरुबीच समझदारी भएको हो । हिमालय पार सम्पर्क सञ्जाल बिस्तार गर्न आवश्यक सुरुङ निर्माण सम्बन्धमा पनि दुवै देशबीच समझदारी भएको छ । जसको प्रयास स्वरुप प्रथम चरणमा अर्थ मन्त्रालय र चीन अन्तर्राष्ट्रिय विकास सहयोग संस्थाबीच समझदारी भएको छ । 

त्यसैगरी, सहमतिका बुँदाहरुमा व्यापार वृद्धिका लागि दुवै देशले संयुक्त कार्य दल गठन गर्ने महत्वपूर्ण समझदारी भएको छ । सहमतिको अर्को महत्वपूर्ण बुँदामा लगानी सहयोग स्थापनाका लागि कार्यदल गठन गर्ने रहेको छ । उच्च स्तरिय छलफलपछि भएको सहमतिले नेपालको कृषिजन्य उत्पादनहरुको निर्यातमा देखिएको समस्या समेत आगामी दिन समाधान हुने विश्वास गरिएको छ । सुन्तला र मौसमी जस्ता फलफूल निर्यातमा हुने समस्या समाधानका लागि पनि सहमति गरिएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणमा राजकीय भ्रमण गर्नुभएका राष्ट्रपति सी आधुनिक चीन निर्माण पछि नेपाल भ्रमण गर्ने तेस्रो चिनियाँ राष्ट्रपति हुन । पछिल्ला वर्षहरूमा चिनियाँ राष्ट्रपतिको भ्रमणका लागि प्रयासहरू गरिए पनि सम्भव भएको थिएन ।

तपाईको प्रतिक्रिया