मधेशका चाडपर्वको सन्देश (सम्पादकीय)

सम्पादकीय

    २०७६ साल कार्तिक १५ गते शुक्रबार   

समग्र मुलुक नै अहिले चाडपर्वको रंगमा रंगिएको छ । असोज र कार्तिक महिना खासगरी चाडपर्वको महिनाको रूपमा चिनिन्छ । प्रायः प्रमुख पर्वहरू यी दुई महिनामा नै पर्ने गरेको छ र लगातार जस्तै हुन्छ । नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत्, छठ र सामा चकेवा लगायतका पर्वहरू पर्ने गर्छन् ।

खासगरी तराई÷मधेशमा विशेष महत्वका साथ मनाइने छठ हो । सबभन्दा प्रमुख र निष्ठाका साथ मनाइने पर्वको रूपमा पनि छठ पर्वलाई लिने गरिन्छ ।
तराई÷मधेशमा मनाइने हरेक चाडपर्वहरू हाम्रो जनजीवन र अर्थतन्त्रको झझल्कोको रूपमा आएका हुन् । चाडपर्वहरूमा अन्धविश्वास बढ्दै गएको संस्कृति विद् तथा साहित्यकारहरू बताउँछन् ।

दीपावलीको कुरा गर्ने हो भने सरसफाई गर्ने र अन्न बालीहरू भित्र्याउने समय भएको हुनाले पनि यस पर्वको विशेष महत्व रहेको बताइन्छ । अन्न बाली भित्र्याउँदा त्यो समयमा विभिन्न किसिमका किरा फट्याङ्ग्राहरू आउने सम्भावना रहेकोले दीपावलीमा दीप बाल्ने र त्यसबाट आउने धुवाँले त्यसलाई नष्ट गर्ने विश्वास रहेको छ । तर, आजभोली दीपावली वा अन्य चाडपर्वहरूको नाउँमा देखावटीपन र आधुनिकताले मौलिकता लोप हुँदै गइरहेको छ । आधुनिकता नराम्रो होइन तर, त्यो कृत्रिमतातर्फ गइरहेकोले अलि चिन्ताको विषय हो ।

यसैगरी, छठ पूजा चार दिवसीय उत्सव हो । कार्तिक शुक्ल चतुर्थीका दिन शुरू भएर कार्तिक शुक्ल सप्तमीमा यसको समाप्ति हुन्छ । यो बीचमा व्रतधारी लगातार ३६ घन्टाको व्रत राख्ने गर्दछ । छठको प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती र अदुवा राखिन्छ । विशेषगरी शुद्ध घिउमा गहुँको पिठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद बनाइन्छ । छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ ।

कृषिउपज वस्तुहरूलाई कसरी उपयोग गर्ने, आन्तरिक पर्यटनलाई कसरी बढाउने, प्रचारप्रसार कसरी गर्ने र त्यसै अवसरमा उत्सव गरेर भोगचलन भन्ने प्रचलनको हिसावले मधेशमा चाडपर्वहरू आएका छन् । कृषिउपज वस्तुहरूलाई उपयोग गर्ने हिसावले मधेशमा विभिन्न चाडपर्वहरू मनाइने गरिएको छ । तर, आजभोली यसमा विभिन्न विकृतिहरू देखा परिरहेका छन् । कला–संस्कृतिलाई जोगाउनका लागि निर्मलीकरण अभियान चलाउने आवश्यकता देखिएको छ । सबै चाडपर्वको आआफ्नै किसिमको उपादेयता छन् । यसले हाम्रो आन्तरिक पर्यटनलाई पनि प्रवद्र्धन गर्छ ।

तपाईको प्रतिक्रिया