नेपाल–भारत सीमा निर्धारणको अभ्यास जारी : रवीश कुमार

समाचार

       

नयाँदिल्ली, २२ कार्तिक । भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा आफ्नो भू–भागको सही चित्रण भएको बताएको छ ।

भारतीय विदेश मन्त्रालयमा बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले नयाँ नक्सामा नेपालसँगको सिमानालाई रत्तीभर पनि परिवर्तन नगरिएको स्पष्ट पारेका हुन ।

‘हाम्रो नक्साले भारतको सम्प्रभुतालाई देखाउँछ । नयाँ नक्सामा नेपालसँग जोडिएको सिमानामा कुनै भूगोल तलमाथि या हेरफेर गरिएको छैन’, उनले भने ।

‘हाम्रो नक्साले भारतको सार्वभौम भू–भागको सही चित्रण गरेको छ,’ रवीश कुमारले भनेका छन्, ‘नयाँ नक्साले नेपालसँगको हाम्रो सिमानालाई एकरत्ती पनि परिवर्तन गरेको छैन ।’

उनले नेपाल–भारत सीमा निर्धारणको अभ्यास जारी रहेको पनि बताए । प्रवक्ता कुमारले भारत आफ्ना निकट छिमेकीहरूसँग द्विपक्षीय सम्बन्धका क्रममा उठेका सवाललाई वार्ताद्वारा समाधानका लागि तयार रहेको पनि उल्लेख गरेका छन् ।

‘विद्यमान संयन्त्रअन्तर्गत नेपालसँगको सीमा निर्धारण अभ्यास अहिले पनि जारी छ,’ उनले भनेका छन्, ‘हामीहरू सबै समस्याको समाधान संवादमार्फत नै गर्ने र द्विपक्षीय सम्बन्धको मर्मभित्र रहेर नै कुराकानी गर्ने प्रतिबद्धता दोहो¥याउँछौं ।’

साथै उनले दुई देशबीचको सम्बन्धमा फाटो ल्याउन खोज्ने तत्वसँग सचेत रहनुपर्ने पनि बताएका छन् । ‘सबभन्दा महत्त्वपूर्ण कुरा त निहित स्वार्थ समूह दुई देशको सम्बन्धमा फाटो ल्याउनका लागि सक्रिय रहेको कुरामा दुवै पक्षले ध्यान दिनुपर्छ,’ उनले भनेका छन् ।

नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नयाँ नक्सामा आफूतर्फ गाभेको भन्दै आलोचना भइरहेका बेला भारतको यस्तो स्पष्टीकरण आएको हो ।

तपाईको प्रतिक्रिया