प्रदेश २ ले छुट्टै गुप्तचर निकाय बनाउने

समाचार

       

काठमाडौं, २२ कार्तिक । प्रदेश २ सरकारले आफ्नै अनुसन्धान ब्यूरो गठन गर्न विधेयक ल्याएको छ । यसअघि प्रदेश सरकारले प्रदेश प्रहरीसम्बन्धी विधेयक पारित गरिसकेको छ ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले संविधानप्रदत्त अधिकारबमोजिम प्रदेश अनुसन्धान ब्यूरो गठनका लागि विधेयक ल्याइएको बताए ।

प्रदेश सरकारले प्रदेश अनुसन्धान ब्यूरो गठनका निम्ति चाहिने विधेयक निर्माण प्रक्रियालाई निकै अगाडि बढाइसकेको छ ।

मन्त्री यादवका अनुसार विधेयक अहिले कार्य व्यवस्था समितिबाट पारित भएर कानुन मन्त्रालयमा आइसकेको र अब प्रदेश सभामा दर्ता हुने क्रममा छ ।

‘सम्भवतः यो हप्ताभित्र नै दर्ता हुन्छ’, उनले भने । प्रदेश अनुसन्धान ब्यूरोले केन्द्रमा राष्ट्रिय अनुसन्धान ब्यूरोले गर्ने प्रकृतिकै काम गर्नेछ ।

‘केन्द्रमा राष्ट्रिय अनुसन्धान ब्यूरो भएजस्तै प्रदेश अनुसन्धान ब्यूरो हुनेछ । त्यसले देशभरि काम गर्छ भने यसले प्रदेशभरि सूचना संकलनको काम गर्नेछ’, मन्त्री यादवले भने ।

संविधानमा उल्लेख गरिएअनुसार नै प्रदेश अनुसन्धान ब्यूरो गठन हुने भएकोले त्यसबारे खासै विवाद नहुने पनि उनको तर्क छ ।

तपाईको प्रतिक्रिया