छिन्नमस्तामा नेकपा र राजपाबीच कडा प्रतिस्पर्धा हुने

राजनीति

चन्दनकुमार यादव

       

राजविराज, २२ कार्तिक । तिहार छठ लगायत पर्वको रौनक सकिएलगत्तै सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका ७ मा उपनिर्वाचनको चहलपहल सुरू भएको छ ।

छिनमस्ता गाउँपालिका वडा नम्बर ७ मा तत्कालीन निर्वाचित वडा अध्यक्ष प्रभाकर यादब जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएपछि त्यहाँ वडा अध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

मंसिर १४ मा हुने उपनिर्वाचनमा वडाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनले दल र कार्यकर्तालाई तताउन थालेको छ । जिल्ला निर्वाचन कार्यालय सप्तरी अनुसार छिन्नमस्ता गाउँपालिका ७ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

रिक्त पदमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएलगत्तै यस भेगमा चुनावी सरगर्मी बढेको हो ।

छिन्नमस्ता गाउँपालिकाको सखडामा जिल्ला अदालतको १ नम्वर न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीलाई तोकिएको निर्वाचन कार्यालय सप्तरी प्रमुख दिलिप यादवले बताए । कार्यालय स्थापना भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यक्रमको सूचना पनि प्रकाशित गरेको छ ।

प्रकाशित सूचनामा कात्तिक २७ गते मनोनयन दर्ता र मंसिर १ गते निर्वाचन चिन्ह प्रदान गरिने लगायतका ९ बुँदे निर्वाचन कार्यक्रम तय गरेको छ । त्यसक्रममा भेला भएका राजनीति दलसँग मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतबीच निर्वाचनबारे कुराकानी भएको जनाइएको छ ।

यता वडा अध्यक्ष पदका लागि नेकपाबाट अछेलाल यादव, राजपा नेपालको तर्फबाट राजपा नेपाल तत्कालीन वडाअध्यक्षमा निर्वाचित वडा अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवका श्रीमति प्रमिला देवी यादवको उम्मेदवारी दिने भएको छ ।

यसैगरी नेपाली काँग्रेसको तर्फबाट उदयनाथ मण्डल, विष्णु कुमार यादब र शिव नारायण मण्डल वडा अध्यक्षका लागि आकाँक्षीमध्ये १ जनालाई वडा अध्यक्षको प्रत्याशी बनाउने नेपाली काँग्रेस युवा नेता तथा राजविराज वडा ५ का वडा अध्यक्ष समीर झाले बताए ।

यता समाजवादी पार्टीले छलफल गरेर वडाअध्यक्ष पदका लागि उम्मेदार टुंगो लागिनसकेकोले दुई तीन दिनमै उम्मेवार टुंगो लगाउने समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवले जानकारी दिएका छन् ।

छिन्नमस्ता गाउँपालिका वडा ७ मा हुन गइरहेको उपनिर्वाचनको लागि १ हजार ४ सय ३ जना मतदाता रहेको सो वडामा दुई वटा मतदान केन्द्र राखेर निर्वाचन गराउन लागेको निर्वाचन अधिकृत दिलिप यादवले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया