दाइजोको निहुँमा घर निकाला गरेको आरोप झुठा : झा

समाचार

राकेश यादव

       

रौतहट, २२ कार्तिक । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडा नं. ६ कर्कच कर्मैया निवासी सरोज झाले दाइजोको निहुँमा घरबाट निकाला गरेको लगाइएको आरोप गलत रहेको बताएका छन् ।

रोनाल्स झासित कानुनी विवाह गरेको दावी गरेकी जुही कुमारी ठाकुरले दाइजो नल्याएको निहुँमा ससुराली पक्षले घरबाट निकाला गरेको समाचार प्रकाशित भएपछि ससुरा सरोज झाको यस्तो प्रतिकृया आएको हो ।

छोरा जागिरको शिलशिलामा राजविराजमा रहेको पछि रौतहटको गरुडा स्थित सेन्चुरी बैकमा पदस्थापना भएको केही दिन पछि छोरा, श्रीमती माथि महिला तथा बालबालिका सेवा कार्यालयमा उजुरी परेपछि जुही ठाकुरलाई पहिलो पटक देखेको बताउँदै झाले कहिले पनि मेरो घरमा नआएकोलाई घरेलु हिंसा गर्नुपर्ने कुरै नभएको जिकिर गरे ।

बिहीबार गौरमा पत्रकार सितको भेटघाटमा झाले भने अविवाहित छोरा रोनाल्सलाई राजविराजमा कब्जामा लिएर ठाकुरले कानुन विपरित बहुविवाह गरेको दावी गरे ।

बलजवरदस्ती विवाह गरेको छोराले बताएपछि कानुनी उपचारतर्फ छोरा लागेपछि बदनाम गर्ने उद्देश्यले उक्त महिलाले झुठा आरोप लगाएको ठोकुवा गरे ।

उनले हामीमाथि आरोप लगाउने महिलाको १५ वर्षअघि नै विवाह भएको र १२ वर्षको एउटा छोरा समेत भएको बताए ।

मुलुकी देवानी संहिता २०७४ को विवाहसम्बन्धी व्यवस्थामा विवाहित महिलाले जानी जानी अविवाहित पुरुषसित विवाह गर्नु नहने कानुनी व्यवस्था रहेको बताउँदै झाले १५ वर्षअघि विवाह गरेको महिलाले २०७६ भाद्र १५ गतेमा छोरा एकलै भएको अवस्थामा धम्काएर सम्पति लिने उद्देश्यले बलपूर्वक अदालतबाट विवाहको कागज बनाएको दावी गरे ।

कहिल्यै नदेखेको महिलालाई दाइजोको निहुँमा घर निकाला गरेको आरोपमा कुनै सत्यता नरहेको झाको कथन रहेको छ ।

रोनाल्स झाले आफूलाई डरत्रास दिएर अदालतबाट नाता कायम गर्न लगाएको दाबी गरेका छन् । बलपुर्वक नाता कायम गराएछि कार्तिक ३ गतेमा निज जुही ठाकुर माथि रौतहट जिल्ला अदालतमा सम्बन्ध विच्छेद मुद्दा दर्ता गराएको बताए ।
मन्जुरी नहुदा पनि एकलै भएको अवस्थामा डर देखाउँदा नाता कायम गर्न बाध्य भएको जिकिर गरे ।

तपाईको प्रतिक्रिया