राजपामा पुनः फर्कने बाटो बन्दै भएको छैन : वृजेश कुमार गुप्ता

सांसद तथा नेता, स्वतन्त्र राजनीतिक समूह

अन्तर्वार्ता

    २०७६ साल कार्तिक २२ गते शुक्रबार   

० स्वतन्त्र राजनीतिक समूहलाई क्रियाशील र विस्तार गर्ने तपाइँहरूको योजना कहाँ पुगेको छ ?

—स्वतन्त्र राजनीतिक समूह पहिलादेखि नै क्रियाशील छँदैछ । हाम्रो संगठन छँदैछ । हामीले तत्कालीन एमालेको चुनाव चिन्ह लिएर चुनाव लड्यौं र केही हदसम्म सफलता पनि हात लाग्यो । त्यसकारण, हाम्रो समूह सक्रिय नै छ । हामी अहिले प्रदेश नं. ५ मा मात्रै छौं । अन्य प्रदेशका साथीहरू पनि हामीसँग जुड्न चाहेका छन् भने त्यसका लागि हामी खुल्ला छौं ।

० भनेपछि अहिलेसम्म स्वतन्त्र राजनीतिक समूह प्रदेश ५ मा मात्र सीमित छ ?

— निश्चितरूपमा हामी अहिलेसम्म प्रदेश ५ मा मात्र छौं । आम निर्वाचनमा हामीले प्रदेश ५ मा मात्रै उम्मेदवारी दिएका थियौं । तर अब अन्य प्रदेशका साथीहरू पनि हामीसँग जुड्न चाहेका छन् । अब अन्य प्रदेशमा पनि स्वतन्त्र राजनीतिक समूहमा जाँदैछ । यो कुनै पार्टी होइन र पार्टी बनाउने उद्देश्य पनि होइन । यो एउटा राजनीतिक समूह हो । अहिले पनि नेकपासँग हाम्रो वार्ता चलिरहेको छ । जबसम्म वार्ता निष्कर्ष पुग्दैन तबसम्म हामी त्यस्तै बस्दैनौं, केही न केही गतिविधि गरिरहन्छौं ।

० काठमाडौंमा सम्पर्क कार्यालय खोल्ने पनि निर्णय भएको थियो नि ? 

— अहिले स्वतन्त्र राजनीतिक समूहको तर्फबाट दुई जना संघीय संसदमा सांसद छन् । हाम्रा नेता कार्यकर्ताहरू काठमाडौं आउँदा हामीसँग भेट्ने कुनै निश्चित स्थान छैन । त्यसैले, राजनीतिक भेटघाटका लागि हामीले सम्पर्क कार्यालय खोल्ने निर्णय गरेका थियौं । त्यसका लागि साथीहरूले प्रयास गरिरहेका छन् ।

० तपाइँहरू नेकपामा प्रवेश गर्ने कुरामा ‘ब्रेक’ लागेको हो ? 

— नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने सम्भावना समाप्त भइसकेको छैन । अहिले पनि नेकपाका नेताहरूसँग कुराकानी भइरहेकै छ । विभिन्न चरणमा कुराकानी भइरहेको छ । हामी एमालेको चुनाव चिन्ह लिएर चुनाव लड्ने बेलामा एउटा एजेन्डामा सहमति गरेका थियौं र त्यसमा एमालेका नेताहरू सहमत पनि भएका थिए । सबैखाले विभेद अन्त्य गर्नुपर्ने, विकास निर्माणमा लाग्ने लगायतका मुद्दाहरूमा हामीबीच सहमति भएको थियो । त्यस आधारमा हामीले तत्कालीन वाम गठबन्धनसँग मिलेर चुनाव लड्यौं । नेकपाको तर्फबाट अहिलेसम्म कुनै ठोस निर्णय नआएकोले सम्भावना जीवितै छ । विभिन्न समय परिस्थितिले वार्ता टुंगोमा पुगेको छैन ।

० भनेपछि नेकपामा जाने बाटो बन्द भएको छैन ? 

— बिल्कुल बन्द भएको छैन । हामीले कुनै पार्टी गठन गरिसकेको भए नेकपामा जाने बाटो बन्द हुन्थ्यो । अहिलेसम्म पार्टी नै निर्माण गरिहाल्ने हाम्रो सोच छैन । हामीले इमान्दारीपूर्वक जसरी एमालेको चुनावचिन्हमार्फत् निर्वाचनमा भाग लियौं, त्यही तरिकाले हामी चाहन्छौं कि सकारात्मकरूपमा कुरा अगाडि बढोस् । हामीले उठाएका समस्याहरू समाधान होस् । किनभने हामीले नेकपामा प्रवेश गरेर मात्रै हुँदैन, हाम्रा मुद्दाहरू पनि सम्बोधन हुनुपर्छ । हामीले भनेका छौं कि आखिर किन एमाले मधेशमा वर्चस्व बनाउन सकेन, त्यस्ता नीति र व्यवहारमा सुधार गर्नुपर्छ ।

० तर, तपाइँहरूको कुरालाई नेकपाले सम्बोधन गरिरहेको छैन नि ? 

— निश्चितरूपमा अहिलेसम्म नेकपाका नेताहरूको व्यवहारमा देखिएको छैन । उनीहरू भन्छन् कि दुई वटा ठूला कम्युनिष्ट पार्टीको एकता भएको छ, यी दुई पार्टीकै अहिलेसम्म समायोजनले पूर्णता पाएको छैन । उनीहरूको आफ्नै केही समस्याहरू छन् । ती समस्याहरू समाधान भएपछि नेकपाले हामीसँग वार्ता गरी निष्कर्ष निकालिन्छ । 

० भनेपछि, नेकपाको समायोजन प्रक्रिया नटुंगिएकोले तपाइँहरू अहिले पर्ख र हेरको अवस्थामा हुनुहुन्छ ? 

— निश्चितरूपमा, अहिले हामी पर्ख र हेरको अवस्थामा नै छौं ।

० त्यसो भए अहिलेको अवस्थामा स्वतन्त्र राजनीतिक समूहलाई अभियानकै रूपमा अगाडि बढाउनु हुन्छ कि ? 

— यसलाई अभियान त के भन्ने, हामी कुनै नयाँ व्यक्ति होइनौं । हामी सुरूदेखि नै राजनीति गर्दै आएका छौं । मेचीदेखि महाकालीसम्मकै साथीहरू हाम्रो सम्पर्कमा छन् । उनीहरू यदि हामीसँग जुड्न चाहन्छन् भने हामी स्वागत गर्छौं । किनभने हाम्रो कुनै पार्टी छैन, विधान छैन । हाम्रो राजनीतिक चरित्रबाट सबै साथीहरू अवगत छन् ।

० तपाइँहरू जनताको बीचमा जाँदा के लिएर जानुहुन्छ ? तपाइँहरूसँग न त पार्टी छ, न त कुनै चुनाव चिन्ह नै । 

— हामी जनताको बीचमा त गएकै छैनौं । हामी जनताको बीचमा गएर हाम्रो पार्टीमा आउनुस् भनेकै छैन नि । हामीसँग काम गरेका साथीहरूले आफै भन्दै आइरहेका छन्कि हामी पनि तपाइँको साथमा छौं । हामीले पार्टी बनाउने अहिलेसम्म निर्णय गरिसकेका छैनौं ।

० यदि नेकपामा जाने वातावरण बनेन भने अन्य कुनै दलमा जानुहुन्छ ? 

— यदि त्यस्तै अवस्था आयो भने हामी राजनीतिज्ञ व्यक्ति हौं, हामीलाई राजनीति नै गर्नुछ भने अन्य दलहरूसँग पनि कुरा हुनसक्छ । तर, त्यस्तो अवस्था नआउँला । अहिले पनि हामी वार्तामै छौं । जबसम्म एउटा निष्कर्षमा पुगिँदैन तबसम्म कुनै कुरा भनिहाल्नुपर्ने अवस्था छैन । हाम्रो पहिलो प्राथमिकता नेकपा नै हो । किनभने हामीले तात्कालीन एमाले कै चुनावचिन्ह लिएर निर्वाचनमा भाग लिएका हौं ।

० तपाइँहरूको पूर्वपार्टी राजपा नेपालमै फर्कने सम्भावना छैन ? 

— राजनीतिमा केही पनि असम्भव हुँदैन । किनभने एमालेको चुनावचिन्हबाट हामी चुनाव लड्छौं भन्ने सोचेको पनि थिएनौं । जब संविधान निर्माण गरिरहेका थियौं त्यो बेलाको परिस्थिति बेग्लै थियो । तर, जब समय परिस्थितिले हामीले एमालेको चुनावचिन्हबाट नै चुनाव लड्यौं । त्यसैले, राजनीतिमा हरेक सम्भावनाहरू खुल्ला हुन्छन् । तर, अहिले हामीले विकल्प खोजेका छैनौं । यदि नेकपाले अन्तिम समयसम्म पनि ढोका खोल्दैन भने अर्को ढोका ढकढकाउनु प¥यो वा आफ्नै घर बनाउनुपर्ने विकल्प हामीसँग रहन्छ ।

० तपाइँहरूको मुद्दामा नेकपा कति सकारात्मक रहेको पाउनु भएको छ ? 

— चुनावका बेला हामीले एमालेको चुनावचिन्ह लिएर चुनाव लड्ने र मुलुकमा रहेका विकृति, विसंगतिका विरूद्ध लड्ने भन्ने सहमति गरेका थियौं । त्यसपछि हाम्रो समूहको बैठकबाट केही मुद्दाहरू सार्वजनिक गरेका थियौं र त्यो पनि जनताकै एजेन्डा हो । किसानका समस्याहरू हामीले उजागर गरेका छौं । नागरिकता समस्या, भ्रष्टाचार नियन्त्रण गर्ने कुराहरू सार्वजनिक गरेका छौं । यी कुराहरू सरकारले गर्नुपर्ने हो ।

० दुई तिहाइको सरकारले जनताको मन जित्न सकेको छैन । के कारण देख्नुहुन्छ ? 

— एकैचोटि कुनै पनि सरकारले हरेक कुरा पूरा गर्न सक्दैन । जनताका अपेक्षाहरू पूरा गर्न योजनातहत गर्नुपर्छ । जनतालाई प्रत्यक्षरूपमा लाभ हुने खालका कुराहरू सरकारले गर्नुपर्ने थियो तर त्यस हिसावमा गर्न नसकेको अवस्था छ । राष्ट्रहितमा धेरै योजनाहरूमा सहमति भएको छ तर जनताले प्रत्यक्षरूपमा महसुस गर्न नसकेकै हो ।

० तर, किन गर्न सकेन त ? 

— सरकारले किन गर्न सकेन भन्ने कुरा हामीलाई थाहा छैन । किनभने हामी सरकारमा छैनौं । नेपालका ८० प्रतिशत जनजीविका कृषिमा आधारित छ । तर, मलखाद्य पनि यो सरकारले सहजरूपमा उपलब्ध गराउन सकेको छैन । सिस्टमले राम्ररी काम नगरेकोले सरकारको कामबाट जनता सन्तुष्ट छैन । जनताले धेरै ठूलो कुराको आशा छैनन्, सानातिना कुराहरू चाहेका छन् । अहिले तीनै तहको सरकारले कर लगाएको छ । यसलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता छ । सरकारलाई काम गर्न संसदले कुनै अप्ठ्यारो पारेको छैन । हामीले बाहिरबाट हेर्दा सरकारको नीति र कार्यक्रम त छ तर अठोट छैन जस्तो लाग्छ । अहिलेका कर्मचारीतन्त्रले यो सरकारलाई सहयोग गरेन कि के हो त्यो हामीलाई थाहा भएन । जनताको काम गर्न सरकारले नीति कार्यक्रम बनाउने हो र त्यसलाई कार्यान्वयन गर्ने जिम्मा कर्मचारीतन्त्रको हुन्छ । त्यहाँ कर्मचारीले बदमासी गरेको हो कि जस्तो लाग्छ ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया