विदेशबाट फर्की मुसहर युवा निःशुल्क शिक्षा दिँदै

समाचार

       

धनुषा, २७ कार्तिक । विदेशबाट आई चारैतिर घुम्ने, राम्रो लुगा लगाउने, खाने, ऐश्वर्य जीवन जिउने प्रायजसोको सोच हुन्छ ।

तर, धनुषा जिल्ला लक्ष्मिनियाँ गाउँपालिका वडा नं २ सिनुरजोडा निवासी श्रीदेव सदाले विदेशबाट फर्किने लगत्तै आफ्नो टोलमा १३० जना मुसहर, यादव, मण्डल, साह लगायत अन्य जातिको बालबालिकाहरुलाई निःशुल्क शिक्षा दिने काम शुरु गरेका छन् ।

आफ्नै घरको अगाडी रहेको खाली ठाउँमा साझँको २ घण्टा पढाउने काम गर्ने गरेका छन् ।

उनी भन्छन्, अरुको जस्तो निःशुल्क शिक्षा दिने नाममा भजाउने, कमाउने उद्देश्य छैन, अनपढ नेपालीले जुन दुःख पीडा विदेशमा गएर भोग्नुपरेका छन् त्यो दुःख पीडा कसैले भोग्नु नपरोस भने उद्देश्यको साथ निःशुल्क शिक्षा दिइरहेको छु ।

विदेशमा अनपढ व्यतिmहरुले अपमान, हेला खेप्नुको साथै कडा गर्मीमा भोकै प्यासै कमाएको पैसा घर पठाउने वेलामा केही नजानेकोले पढेलेखेका व्यतिmलाई पैसाको साथै नास्ता खुवाउने, रिचार्ज कार्ड दिनुपर्ने बाध्यता परिस्थिति झेल्नुपरेका छन् । साथै ठगिएका, कमाएको पैसा पनि नपाएका कति जना भेटिएको कुरा उनले सुनाए ।

विदेशमा काम गर्ने मुसहर युवाहरुले कमाएको पैसाबाट इच्छाअनुसार जम्मा गरी नेपालमा स्थापना गरेको ‘जय श्री शवरी माता मुसहर एकता युवा सेवा समाज नेपाल’ नामक संस्था मार्फत पहिला पनि अप्ठ्यारोमा परेकाहरुलाई आर्थिक सहयोग गर्नुको साथै बालबालिकाहरुलाई शैक्षिक सामग्री, विद्यालय पोशाक समेत वितरण गरेको बताए ।

विदेशमा बसेको बेला नै आफ्नो गाउँ समाजमा रहेका व्यक्तिहरुले त्यस्तो बाध्यता परिस्थिति झेल्नुनपरोस् भनी बालबालिकाहरुलाई निःशुल्क शिक्षा दिने सोच आएकोले विदेशबाट फर्किने लगतै निःशुल्क ट्युसन शुरु गरेको र यसलाई निरन्तरता दिने बताएका हुन् ।

मुसहरले निःशुल्क शिक्षा लिने मात्र हैन कि आफ्नो लगायत अरु जातिको बालबालिकाहरुलाई पनि आ–आफ्नो टोलमा निःशुल्क शिक्षा दिने परिपाटीको विकास गर्नका लागि अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया