राष्ट्रवादको आवरणमा भारतलाई बदनाम गरिँदै (विचार)

विचार/दृष्टिकोण

– डा. रामदेव पंडित

       

क्रान्ति, समृद्धि, जनता र लोकतन्त्रजस्ता शब्दको गहना भिरेर हिँड्ने आजका कथित नेताहरूले जंगबहादुरले सिमानामा गाडेको खम्बासम्म जोगाउने क्षमता पनि देखिएन, किन ? कालापानी प्रकरणले सचेत नेपालीलाई आफ्नो इतिहास स्मरण गर्न बाध्य तुल्याएको छ ।

दक्षिणी सिमानाका रक्षक मधेशीहरूले भारतसँगको रोटीबेटीको संवेदनशील सम्बन्धलाई बिर्सेको छैन । दक्षिणी सीमाका वीर रक्षक मधेशीहरू चाहन्छन् कि सीमा विवाद कूटनीतिक सम्वादबाट हल गरिनुपर्छ तर सीमा रक्षामा प्राचीन इतिहासको व्याज खान पल्केकाहरू, होली वाइनमा बिक्नेहरू आज चुनावको मुखमा फेरी दलालहरू, राष्ट्रवादीहरू नारा घन्काईरहेका छन् । मधेशीहरूलाई गोली ठोकेर, खस पहाडिया अहंकारवादले दुई तिहाईमा चढेका आजका कमाउनिष्टहरू भारतको विरोध गर्नु नै आफ्नो धर्म ठान्दछन् । भारतलाई गाली गरेर पहाडिया जनमत बनाउन यी पात्रहरू पल्केका छन् भन्दा अतिश्योक्ति नहोला ।

चारपटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवा र दुईपटक बनेका प्रचण्ड तथा माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईहरूले कालापानीमा सीमा मिचियो भन्दै अहिले गोहीको आँसु बगाउनुको कुनै अर्थ छैन । यसै साता मात्र कालापानी समस्या सृष्टि भएझैँ गरी न्वारानदेखिको बल लगाएर चिच्याएको पनि कम्तीमा उल्लिखित पात्रहरूलाई सुहाएको किन छैन भने उनीहरू सत्तामा रहँदा के हेरेर बसेका थिए ?

५८ वर्षअघि चीन र भारतबीच युद्ध भएका बेला रणनीतिक महत्वको कालापानीमा भारतीय सेनाले अस्थायी मुकाम खडा गरेको थियो । त्यसबेला जुनसुकै कारणले सैन्य शिविर स्थापना गरिएको भए पनि युद्ध अन्त्यपछि नेपालमा बनेका कुनै पनि सरकारलाई कूटनीतिक तवरमा सीमा समस्या सुल्झाउने अवसर र जिम्मेवारी प्राप्त भएको थियो । त्यसैले प्रश्न उठ्छ, यसअघिका सरकार र प्रधानमन्त्री कालापानीबारे किन मौन बसेका थिए ? कहाँ थिए यी आजका कमाउनिष्टहरू ? कहाँ सुतेको थियो आजका राष्ट्रवादी युवा जोस ? जसले लैनचौरको चौकमा विरोध गर्नु र पुत्ला जलाउनुलाई नै राष्ट्रिवादी उदघोष मान्दछ, उसको शिर हात्तीसारको विस्तारवादी बाउको अगाडि किन नतमस्तक हुन्छ?

चीन ठूलो दाई होइन सादा बाउ (फादर)को व्यवहारमा प्रस्तुत हुँदै आएको छ । सन् १७९२ को टिबेटो–नेप्लिज ट्रिटिमा स्पष्ट उल्लेख गरिएको छ कि चीन नेपालको बाउ (फादर) मानिनेछ । सन् १८७० सम्म चीनले नेपाली राजालाई (वाङ्ग उपाधि दिएर) चिनियाँ सम्राटको एक सहायक सेनापतिको रूपमा मात्र गनेका थिए । यी घट्नाक्रमलाई सहज रूपमा लिनु सरासर गलत हुनेछ । चीनको त्यो बाउ चरित्रको अहंकारको शृङ्गखलालाई कदापि पनि नजर अन्दाज गरेर सेतो छाला र शक्तिको अगाडि कुनै पनि सर्तमा आफूलाई नतमस्तक गराउनु घातक सावित हुनेछ ।

वास्तवमा भूमि अतिक्रमणमा चीन भारत भन्दा ठूलो विस्तारवादी र साम्राज्यवादी हो । चीनले ताइवान, हंकङ्ग, भियतनाम, जापान आदि सबै छिमेकी भूमिलाई अतिक्रमण गर्दै दादागिरी जमाएको तथ्य जग जाहेर छ । पाखण्डी राष्ट्रवादीहरू यस तथ्यबाट किन बेखबर छ ।

छिमेकी राष्ट्र चीनले नेपालको भूमिमाथि कब्जा गर्दासमेत नेपाल पक्षले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । चीनले नेपालको भूमि हडपेको तथ्य धेरै अघि नै सार्वजनिक भएको थियो । नेपाल–चीन सीमाको लम्बाइ एक हजार चार सय १४ किलोमिटर छ । पूर्व सिक्किम सीमादेखि पश्चिम लिपुलेकसम्म ६९ वटा सीमा स्तम्भ बनाइएका छन् । तीमध्ये सन् २००५ मा भएको सुपरीवेक्षणमा ३७, ३८, र ६२ नम्बरका स्तम्भ भेटिएका थिएनन् । ३७ र ३८ नम्बर स्तम्भ गोरखाको तोम खोलामा पर्छ । त्यहाँ सन् १९७८ मा सीमांकन हुँदैदेखि स्तम्भ भेटिएको थिएन । सोलुखुम्बुको नाम्पा भञ्ज्याङमा रहेको ६२ नम्बरको स्तम्भ पनि छैन । दोलखाको ५७ नम्बरको स्तम्भको हालत पनि त्यही छ । नेपालको शिर सगरमाथको उचाई घटेको देखाउने षड्यन्त्र पनि चिनियाँ पक्षबाटै भएको हो ।

तिब्बतमा सडक विस्तारको परियोजनाको माध्यमबाट नेपाली भूमिमा चीनले अधिकार जमाएको तथ्य सार्वजनिक भएको छ । चीनको तिब्बतसँगको सीमावर्ती खोला तथा नदीसँगै बनाएका भौतिक संरचनाको कटानका कारण नेपालले विभिन्न चार जिल्लामा ३६ हेक्टर जमीन गुमाउनु परेको तथ्यांक सार्वजनिक भएको छ । यो तथ्य अझै ठूलो हुनसक्ने अनुमान नेपालका सरकारी अधिकारीहरूले गरिएको छ । नेपालको कृषि मन्त्रालयको नापी शाखाले २०७२ सालमा गरेको अध्ययनमा हुम्ला, रसुवा, सिन्धुपाल्चोक र संखुवासभा जिल्लाका ९ स्थानका ३६ हेक्टर जमीन चीनतर्फ पारिएको उल्लेख छ । मन्त्रालयको नापी शाखाले ०७२ जेठमा एक महिना लगाएर नेपाल–तिब्बत सीमा नदीको सीमांकन गरी नदी कटानको विवरण तयार पारेपनि ढीलो गरि हालै सार्वजनिक गरिएको छ । चीनले नदीको वहाव परिवर्तन गर्दै नेपाली भूभागमा पठाइ आफ्नो क्षेत्रमा भौतिक संरचना बनाएका कारण नेपाली भू–भागमा उसले आफ्नो अधिकार जमाएको अध्ययनहरूले देखाएको छ । सर्वेक्षणको क्रममा हुम्लाको भागदारे नदी क्षेत्रमा ६ हेक्टर र कर्णाली नदीको चार हेक्टर जमिनमा चीनले कब्जा जमाएको उल्लेख छ । त्यस्तै, रसुवाको सान्जेन नदी, भुरजंग नदी र जम्बुखोलाको ६ हेक्टर जमिन तिब्बतको केरूङ क्षेत्रमा परेको छ । सिन्धुपाल्चोकको खराने खोला र भोटेकोशी क्षेत्रका ११ हेक्टर जमिन तिब्बतको न्यालाम क्षेत्रमा परेका छन् । संखुवासभामा पनि ९ हेक्टर भूमि तिव्वती क्षेत्रमा निर्मित सडक परियोजनाको कारण चीनको भूभागमा परेको छ । साथै कामुखोला, अरूण नदी र सुम्जंग नदी पनि अहिले चीनको तिङगिस्यन काउन्टीमा परेको छ । चिनियाँ पक्षले तिव्वततर्फ निर्माण भइरहेको संरचनामा अरूण खोलाबाटै उत्खनन गरी ढुङगा गिट्टी वालुवा प्रयोग समेत गरेर नेपाली भूभागमा पहिरो जाने स्थिति बनाएको थियो । उत्तरी सीमा क्षेत्रमा सीमा अतिक्रमणको तथ्य सार्वजनिक भएपछि सरकारले सीमा जोडिएका जिल्लाहरू ताप्लेजुङ, सोलुखुम्बु, दोलखा, गोरखा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला र दार्चुलामा पनि सर्वेक्षणको हिम्मत गर्न सकिरहेको छैन । उक्त क्षेत्रमा पनि चीनले नेपाली भूमिमा कब्जा जमाएको आशंका अधिकारीहरूले गरेका छन् । स्रोतका अनुसार अरू सयौं हेक्टर भूमिमा चीनले अतिक्रमण गरेको हुनसक्ने बताइएको छ ।

तिब्बतले सीमा क्षेत्रमा सडक सन्जाल फिजाउँदै लगेको छ । सडक विस्तारका क्रममा तिव्वतका नदी, खोला नेपाल सीमाभित्र पसाउने अनि त्यसपछि नेपाली भूभागलाई चीनले तिब्बततर्फ पार्दै जान थालेको स्थानियहरूले गुनासो गरेका छन् । हुम्लाका स्थानीयदेखि संखुवासभाका स्थानीयसम्मको गुनासो यहि हो । सीमामा अलि चासो लिने स्थानीयलाई चीनियाँ सुरक्षाकर्मीले दुव्र्यहार गर्ने गरेको गुनासो पनि उनीहरूको छ । यहि अवस्था रहे सीमामा भौतिक संरचना निर्माणका नाममा अरू सयौं एकड नेपाली भूभाग तिब्बतमा सहजै गाभिने खतरा रहेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । नेपाली भूभाग आफ्नो पक्षमा पारेपछि चीनले ती ठाउँमा आफ्नो सुरक्षाकर्मीलाई तैनाथ गर्ने गरेको देखिएको छ । उत्तरतर्फको नेपाली भूमिको बारेमा नेपाल सरकारले गम्भिरतापूर्वक चासो दिएको पाइएको छैन न त नागरिक समाजले नै बोलेको छ । यसको फाइदा उठाउँदै चीन सरकारले अतिक्रमित क्षेत्रमा ‘बोर्डर अब्जरभेशन पोष्ट अफ आम्र्ड पुलिस’ तैनाथ गरिसकेको छ । उत्तरी क्षेत्रको सिमाना भौगोलिक विकटताले गर्दा प्रत्यक्ष निगरानी गर्न समस्या छ । कृषि मन्त्रालयको नेपाली भूभाग चीनमा गाभिएको रिपोर्टका आधारमा विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले पनि समाचार प्रकाशित गरेका छन् । लफडा गर्ने बढी चीन, चीन भन्नेवित्तिकै भने सतर्कः मानौं चीन ठूल्दाई हो । अझै अहिलेका सत्ताधारीको चस्माबाट हेर्नेहरूले त चीन ३३ कोटी देवता नै भन्ठान्छन् ।

चीनले छाती खोलेर जतिनै सयोग गरेपनि नेपालप्रति जहिल्यै सशंकित रहँदै आएको बताउँछन् । चीन एउटै कुरा चाहन्छ, नेपाली भूमि चीन विरोधी गतिविधिका लागि प्रयोग नहोस् । त्यसैले फकाइरहनु उसको धर्म हो । चीनले नेपालको राजनीतिक र राजनीतिक संस्थाको कुटनीतिक पक्षलाई विश्वास गर्दैन साथै यहाँका कथित राष्ट्रवादीहरूलाई आफ्नो पक्षमा सदा प्रयोग गर्न उद्घत रहेको छ ।

नेपाली नेताहरू र साथै आजका राष्ट्रवादी युवाहरू साँच्चै सीमाको विवाद सुल्झाउन चाहन्छन् भने छिमेकीहरू प्रतिको पूर्वाग्रह छोडनुपर्छ । पुर्वाग्रही भएर भारतको मात्र विरोध र बदनाम गर्न छोड्नुपर्छ । होइन भने चीनको बलमिचाईको पनि खुलेर विरोध गर्नु पर्छ । सुमधुर सम्बन्ध बिगर्न छाडा भएर लाग्नु देशको बदनामीको कुरा पनि हो । पाखण्डी राष्ट्रवादले भारतको एकतर्फी विरोध गरेर समस्या झन विकराल बन्न सक्छ ।

नेपाल कम्युनिष्टहरूको मात्र देश होइन् यहाँ अन्य वादीहरूको पनि हो । नेपाल कार्यकर्ताहरूको देश मात्र होइन् । यहाँ जनता पनि छन् । नेपाललाई चीन भएर मात्र पुग्दैन, भारतको साथ पनि अपरिहार्य छ । एकतर्फी भारतको पुर्वाग्रही विरोध गर्न छोडौं । दुवै देशबीचको विवादलाई कूटनीतिक संवादबाट हल गरेर सुम्धुर सम्बन्ध बनाएर बसे मात्र समृद्घ नेपाल खुसी नेपालको सपना साकार बन्न सक्छ ।

तपाईको प्रतिक्रिया