चुनावी प्रयोजनका लागि कथित राष्ट्रवादीहरुले सीमा विवाद चर्काएका थिए : प्रवक्ता मेहता

राजनीति

       

काठमाडौं, १५ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालका प्रवक्ता सन्तोष मेहताले चुनावी प्रयोजनका लागि मात्र नेपाल–भारत सीमा विवाद चर्काएको आरोप लगाएका छन् ।

उनले कालापानी, लिपुलेक, लिम्पियाधुराका विषयहरु आजको नभई धेरै पुराना मुद्दाहरु रहेको जिकिर गरेका छन् ।

मधेशवाणी रेडियो कार्यक्रमको एक अन्तर्वार्तामा प्रवक्ता मेहताले यस्तो कुरा बताएका हुन् । उनले भने, ‘अस्ति सामाजिक संजालमा लिम्पियाधुरालाई समेटेको भनेर एउटा नक्सा हेरेको थियो तर त्यो नक्सा आजसम्म नेपालले नै कतै प्रयोग गरेको देखिएको छैन नि किन त ?’

नेपाल–भारत सीमा विवादका विषयमा मधेशकेन्द्रित दलहरु किन बोल्दैनन् भन्ने प्रश्नमा उनले भने, ‘भारत र नेपालबीच पहिले जहाँ जहाँ सीमा तोकिएको थियो भारतले त्यही नक्सा सार्वजनिक गरेको हो । सीमा विवादमा नयाँ विषय केही छैन, अनि हामी किन बोल्ने ।’

‘अहिले उप–निर्वाचनको समय भएको हुनाले त्यो मुद्दा उठेको हो ।’ नेपालको कुनै क्षेत्रमा त्यो मुद्दा खपत हुने भएको हुनाले त्यो मुद्दा उठाइएको उनको दाबी थियो ।

नेपाल कम्युनिष्ट पार्टीले ल्याएको र कांग्रेसले पनि सहयोग गरेर उचालिएको विषय रहेको उनले बताए । चुनाव प्रयोजनका लागि यस्ता मुद्दाहरु त समय समयमा आउने नै गर्छन्, उनी भन्छन् ।

‘पंचायतकालदेखिको विवादलाई समय समयमा आफ्नै फाईदाको लागि उठाउने प्रपञ्च यहाँ हुने गरेको छ ।’ उनले भने ।

तपाईको प्रतिक्रिया