मधेशप्रति चिनियाँ नीति (सम्पादकीय)

सम्पादकीय

    २०७६ साल मंसिर २० गते शुक्रबार   

समग्र नेपालको हित चाहेको दाबी गर्ने छिमेकी राष्ट्र चीनको कथनी र करणीमा कुनै समानता देखिँदैन । असल छिमेकी राष्ट्र भनेको अर्को छिमेकी मुलुकको हरेक समुदाय, वर्ग र जातिका लागि समान धारणा राख्नु हो ।

तर, चीनले नेपालमा रंगभेदी राजनीति गर्दै आएको आरोप बारम्बार लाग्दै आएको छ । चीनको नेपाल नीतिले नेपालकै आधाभन्दा बढी जनसंख्या रहेको मधेशीहरूले बारम्बार चीनको झण्डा जलाएको सर्वविदितै छ । नेपालको भौतिक तथा जनशक्तिको विकासमा विशेष चासोका साथ सक्रिय रहेको चीनले मधेश एवं मधेशीसँग रंगभेदको राजनीति गर्दै आएको छ । नेपालको विकासमा भएका लगानीहरूमा चीनले हिमाल, पहाड वा खससमुदायमा मात्र केन्द्रित गरेर साम्प्रदायिकता भड्काउने कार्य गरिरहेको छ । 

चीनले मधेशलाई गैरनेपालीझैं व्यवहार गर्ने, लगानी र अवसरमा विभेद गर्ने र जात वा रंगको अधारमा व्यवहार गर्दै आएको छ । उसले नेपालमा गरेका लगानी, जनशक्तिको विकास, प्रतिनिधिमण्डको चयन लगायतका अवसर एवम् लगानीमा मधेशीहरूसँग विभेद गर्दै आएको छ । नेपालको मित्रराष्ट्रको संज्ञा पाएपनि नेपाली– नेपालीबीच सम्प्रदायिकता भड्काउने, जातीय रंगभेद र संघर्ष चर्काउने तथा असन्तुलनको राजनीति गरी सामुदायिक द्वेष सिर्जना गर्ने कार्यमा चिनियाँ नीति केन्द्रित रहँदै आएको छ ।
नेपालका प्रधानमन्त्रीहरू चीन भ्रमण होस् अथवा हालै सम्पन्न चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा जारी हुने संयुक्त वक्तव्यहरूमा मधेशको विकास वा मधेशसँग सरोकार राख्ने एउटा पनि विषय समावेश हुने गरिएको छैन ।

चीनको रोजाई हिमाल एवम् पहाड मात्र रहेको पाइन्छ । नेपालको संरचनागत अस्तित्वबाट मधेशलाई अल्ग्याउने खालको चीनबाट हुने विकास सहयोग नेपालको समग्र विकासका लागि गम्भीर हो । मुलुकको आधाभन्दा बढी जनसंख्यालाई विभेद गरेर नेपालसँग चीनले समानतामा आधारित सम्बन्ध कदापि बनाउन सक्दैन ।

सम्पूर्ण अवसर र दायित्वहरूमा समानताका लागि आन्दोलनमा रहेका मधेशी समुदायसँग चीनले विभेद गरेर थप पीडामा पारेको छ । नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक रहेको विश्व समुदायले बुझेकै कुरा हो । नेपालका निकटम छिमेकी मुलुक गणतान्त्रिक चीनले यो कुरा अहिलेसम्म बुझ्न सकेको छैन वा बुझेर पनि बुझ पचाउन खोजेको आभास हुन थालेको छ ।

आफूलाई नेपालको मित्र भनेर प्रचार गर्ने चीनले नेपालभित्रका एकमात्र समुदायको मित्र रहेको प्रष्टिएको छ । चीनले नेपालमा रंगभेदी राजनीति गर्दै आएको आरोप पहिलादेखि नै लाग्दै आएको छ ।

छिमेकी मुलुकको अर्थ राम्ररी व्याख्या गर्न नसकेका चिनियाँ कुटनीतिज्ञहरूले नेपालमा रंगभेदको राजनीति गर्दै आइरहेको आरोप नलागेको होइन । नेपालको आधा जनसंख्याको भावना विपरीत चीनले गैरकुटनीतिक कार्यहरू गर्दै आएको छ । यसअघि पनि मधेशमा चीनको झण्डा जलाइएको थियो ।

मधेशका विभिन्न विश्वको शक्तिशाली राष्ट्रहरूको स्थान बदलिदो छ । चीन आफैं शक्तिशाली राष्ट्रहरूको समूहमा उदीयमान शक्तिको रूपमा उदाइरहेको छ । ठीक त्यसैगरी नेपालको मधेशले भूराजनीतिक महत्वले नयाँ स्थान ग्रहण गरिरहेको छ । त्यहाँको समग्र भूभाग पूर्वदेखि पश्चिमसम्म मधेशी बहुल्य रहेको छ ।

मधेशी बहुल्य भूभाग विश्वका शक्तिसम्पन्न खेलाडीहरूका लागि पनि अहिले ‘हट केक’ बन्दै गएको छ । साथै चीन अब हिमाल पारि मात्रै नरहेको अवस्थामा मधेशहरूको असन्तुष्टिका साथ आफ्नो विश्वव्यापी भूराजनीतिक पहलहरू गर्ने विषयमा सोच्नुपर्ने आवश्यकता त्यसैगरी टड्कारो बनेको छ । 

यस्तोमा मधेशको पीडा र अपमानलाई चीनले नबुझेर उदण्ड, क्रुर तथा संवेदनशील सत्तारूढ दलका नेताहरूको चापलुसी, चाटुकारिता एवं चातुर्यमा फँस्दा उसलाई छिमेकमै लामो समय उतानो हुनुपर्ने जोखिम उत्पन्न हुनेमा शंका भने छैन ।

तपाईको प्रतिक्रिया