एजेन्डा कार्यान्वयन गराउने जिम्मेवारीमा उपेन्द्रजी पुग्नुभयो : राजेन्द्र प्रसाद श्रेष्ठ

सहअध्यक्ष, समाजवादी पार्टी

अन्तर्वार्ता

    २०७६ साल मंसिर २० गते शुक्रबार   

० भर्खरै सम्पन्न उपनिर्वाचनबारे समाजवादी पार्टीको समीक्षात्मक विश्लेषण के हो ? 

— यो उपनिर्वाचन हाम्रो लागि उपलब्धिमूलक नै रहेको छ । नयाँ वडाहरू पनि जित्न सफल भएका छौं । यसपटक सबभन्दा बढी घाटा नेपाल कम्युनिष्ट पार्टीलाई नै भएको देखिएको छ । नेकपाले कतिपय वडा अध्यक्ष गुमायो, धरानमा मेयर पद गुमायो । त्यसैले नेकपाले झण्डै एक तिहाइ गुमाएको अवस्था छ । त्यसको तुलनामा हाम्रो पार्टीले राम्रै उपलब्धि हासिल गरेको छ । हामीलाई विगतमा भन्दा राम्रै मत आएको छ । यस्तै, नेपाली कांग्रेसको लागि पनि अलिकति उपलब्धिमूलक नै देखिएको छ । जेहोस्, हाम्रो पार्टी तेस्रो शक्तिको रूपमा स्पष्ट देखिएको छ । त्यसैले, समाजवादी पार्टी वैकल्पिक शक्तिको रूपमा आउने अवस्था स्पष्ट छ । 

० प्रदेश २ मा तपाइँहरूको सरकार छ, तर जनताले पत्याएन नि ?

— प्रदेश २ मा पनि त हाम्रो सिट संख्या बढेकै हो नि । कतिपय  ठाउँमा केही सिट प्राप्त भयो भने केही ठाउँमा गुमाउने अवस्था पनि रह्यो । एक पटकका लागि जितेपछि सधैंका जितेको वा एक पटक हारेपछि सधैंका लागि हारेको भन्ने हुँदैन ।

० तपाइँहरू राजपासँग एकताको कुरा गर्दै हुनुहुन्छ, तर यो उपनिर्वाचनमा किन सहकार्य भएन ? 

— एउटा सैद्धान्तिक मान्यता र मापदण्ड बनाइसकेपछि त्यसमा उभिनुपर्छ । सर्लाहीमा राजपाको भन्दा हाम्रो मत बढी थियो त्यसकारण हामीले उम्मेदवारी दिने, सप्तरीमा राजपाको आधार छ । यो त एउटा मापदण्ड न हो । मधेशमा नेताकेन्द्रित पार्टीहरू बढी छन् । यहाँ नेताप्रधान पार्टी बनाउन खोजिन्छ, नीतिप्रधान पार्टी बनाउनुप¥यो । व्यक्तिभन्दा समाजलाई महत्व दिनुप¥यो । नयाँ ढंगको पार्टी बनाउनु भनेको कारण नै यही हो । अब कांग्रेस र नेकपाले जे ग¥यो भने त्यो त पार्टी होइन, नेताहरूको जमिन्दारी हो । कुनै पनि पार्टी नेताहरूको जमिन्दारी होइन । पार्टीमा सामूहिक नेतृत्व हुनुप¥यो, नेता र कार्यकर्ताबीच आत्मिक सम्बन्ध हुनुप¥यो । त्यसकारण, नेतामुखी होइन, कार्यकर्ता र जनतामुखी पार्टी हुनुप¥यो । त्यस हिसावले जुन प्रस्ताव हामीले राजपासमक्ष राखेका थियौं, त्यसमा जसको जहाँ जनाधार छ त्यसले टिकट पाउनुपर्छ । तर, जब व्यक्ति–व्यक्तिमा राजनीति केन्द्रित हुन थालियो, त्यसपछि हाम्रो चुनावी सहकार्य हुनसकेन ।

० भनेपछि, राजपा नेतामुखी भएकोले यो उपनिर्वाचनमा समाजवादीसँग सहकार्य भएन ? 

— राजपालाई मात्रै दोष दिएको होइन, समग्रतामै मैले यस्तो भनेको हुँ । यहाँ कांग्रेस, नेकपा पनि नेतामुखी नै छन्, समाजवादीमा पनि केही प्रभाव पर्न थालेको छ ।

० समाजवादी पार्टीलाई राष्ट्रिय पार्टीको रूपमा तपाइँहरू व्याख्या गर्नुहुन्छ, तर मधेशबाहेक अन्य क्षेत्रमा तपाइँहरूको जनाधार देखिएको छैन नि ? 

— विगतमा भन्दा सुध्रिएको अवस्था भएतापनि आशातीत तहसम्म सफलता हासिल गरिसकेको छ । मधेशमा समाजवादी पार्टीले जडो गाडिसकेको अवस्था छ । समाजवादी पार्टी नै मधेशमा पहिलो शक्ति हुन्छ भनेर ‘मास साइकोलोजी’ बनिसकेको छ । तर, पहाडमा ‘मास साइकोलोजी’ बन्न बाँकी नै छ । जसले कार्यकर्ताको मात्रै मत आउने अवस्था बनिरहेको छ । डा.बाबुराम भट्टराईको पार्टीसँग एकीकरण भइसकेको अवस्थामा अब पहाडमा पार्टी विस्तार अभियान नै सञ्चालन हुन्छ । देशभरि नै हामी पार्टी विस्तार तथा सुदृढीकरण अभियान चलाउँछौं ।

० तपाइँहरू सरकार छोड्ने कुरा गर्दै हुनुहुन्थ्यो, यही बीचमा तपाइँको अध्यक्षको मन्त्रालय परिवर्तन भयो, एउटा राज्यमन्त्रीलाई पनि हटाइयो, यसलाई कसरी लिनुभएको छ ? 

— मूल्य मान्यता र सामूहिकताको विपरीत यो सरकारले काम गरेको छ । तथापि, हामी मान–अपमानभन्दा पनि मिशनका लागि सरकारमा गएका हौं । प्रधानमन्त्रीले मन्त्रालय परिवर्तन गर्नु, राज्यमन्त्री हटाउनु र शहरी विकास मन्त्रालयमा नेकपाकै राज्यमन्त्री ल्याउनु गलत कुराहरू हुन् । तर, पनि हामी आफ्नो मिशनका लागि सरकारमा गएको हुनाले त्यसमै केन्द्रित भएका छौं । कतिपयले मन्त्रालय परिवर्तनबाट उपेन्द्र यादवको अपमान भयो भन्ने किसिमका कुराहरू गरिरहेका छन् । हामीले नेकपा र सरकारसँग वार्ता गर्ने, यदि नेकपा संविधान संशोधनका लागि प्रतिबद्ध छ भने एउटा कार्यदल गठनका लागि प्रस्ताव गर्ने र प्रतिवद्ध छैन भने तुरून्तै सरकार छोड्ने निष्कर्षमा पुगेका छौं । अहिले हामी संविधान संशोधनको मिशन पूरा गर्नका लागि केन्द्रित भएका छौं ।  

० भनेपछि, प्रधानमन्त्रीले तपाइँहरूलाई जति अपमानित गरिरहे पनि मिशन पूरा नहुन्जेल सरकार छोड्नु हुन्न ? 

— मान–अपमान भन्ने कुरा आफ्नो ठाउँमा होला । विगतमा मधेश जनविद्रोह भयो, त्यसमा पाँच दर्जनभन्दा बढीको सहादत भयो । उहाँहरूको सपना पूरा गर्नका लागि नै हामी सरकारमा गयौं । पार्टी वा नेताको मान अपमानको कुरालाई लिएर मिशनबाट हट्ने हो भने त्यो त नेतामुखी भइहाल्यो नि । उहाँहरूले मन्त्रिमण्डल पुनर्गठन गरेर हामी सरकारबाट हटोस् भन्ने चाहनुभएको थियो । हामी त्यति सहजरूपमा ओलीको मिशनलाई पूरा हुन दिन्नौं । अहिले जसरी मन्त्रिमण्डल पुनर्गठन भएको छ, त्यो हाम्रो सरकारसँग संघर्षको उपज हो । अब कानून मन्त्रालय हाम्रो हातमा आएको छ, त्यसैले संविधान संशोधनको प्रस्थान विन्दू कानून मन्त्रालयबाटै हुने हो । हाम्रो अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनका बेला उठाउनुभएको एजेन्डाहरू कार्यान्वयन गराउने जिम्मेवारीमा पुग्नुभएको छ ।  

० स्वास्थ्य मन्त्रालयबाट कानून मन्त्रालयमा पु¥याइँदा समाजवादीलाई संविधान संशोधन गराउने अवसर मिलेको हो ? 

— कानून मन्त्रालयमा हाम्रो अध्यक्षलाई पु¥याइँदा प्रधानमन्त्रीले सहयोग गरिदिनुभएको होइन । उहाँले त सरकारबाट बाहिर जाओस् चाहनुभएको थियो । तर, उहाँको लागि गलपासो बनेको छ । अब संविधान संशोधनका लागि तयारी सुरू हुन्छ । त्यसलाई उहाँहरूले कसरी लिनुहुन्छ, हामीले हेर्न बाँकी छ । जसरी प्रधानमन्त्रीले संविधान गीता र पुरान होइन, यो संशोधनीय दस्तावेज भन्नुहुन्छ, त्यसमा अब कतिसम्म व्यवहारमा देखाउनुहुन्छ जनताले हेर्न बाँकी छ । 

० समाजवादीले नेकपा र सरकारसँग वार्ताका लागि चार सदस्यीय टोली पनि बनाएको छ, वार्ता कहिले गर्नुहुन्छ ? 

— हामीले अस्ती नै प्रधानमन्त्रीसँग समय मागेका थियौं, उहाँहरूले सकारात्मकरूपमै लिनुभएको छ । प्रधानमन्त्री स्वस्थ्य भएर आइसकेपछि वार्ताको मिति तय हुन्छ । उहाँ अहिले अस्वस्थ हुनुहुन्छ । मानवताको दृष्टिकोणले पनि यस्तो बेलामा हामीले स्वास्थ्य लाभको कामना नै गरेका छौं ।

० भनेपछि, प्रधानमन्त्रीको स्वास्थ्य लाभ भइसकेपछि वार्ता हुन्छ ? 

— हो । 

० राजपासँग एकीकरणका लागि लामो समयदेखि चर्चा चल्दै आएको छ । समाजवादीको तर्फबाट वार्ता टोलीका संयोजक पनि तपाइँ हुनुहुन्छ । राजपासँगको एकता प्रक्रियाको प्रगति के छ त ? 

— एकताका लागि दुवै पार्टी सकारात्मक छ । एकीकरणका प्रक्रिया धेरै अगाडिसम्म बढिसकेको छ । यस बीचमा उपनिर्वाचनका कारण रोकिएको थियो । अब फेरि एकता प्रक्रिया सुरू हुन्छ । नमिलेका वा मिल्न बाँकी धेरै कुराहरू छैनन् । राजपा पनि पहिचान पक्षधर पार्टी रहेकोले हामी धेरै नजिक छौं । कतिपय प्रत्यक्ष निर्वाचित राष्ट्रपति लगायतका केही मुद्दाहरूमा हाम्रो फरक धारणा छ । सँगसँगै हिंड्ने निष्कर्षमा पुगिसकेपछि फरक धारलाई एउटा धारमा मिसाउने प्रयत्न गरिरहेका छौं ।

० राजपा र समाजवादीबीच एकताका लागि अनौपचारिकरूपमा मात्रै वार्ता हुँदै आएको छ, औपचारिकता किन नपाएको होला ? 

— धेरै कुराहरूको टुंगो अनौपचारिकरूपमा नै लाग्छ । किनभने हामीले अन्य दलहरूसँगको वार्ताको अनुभवलाई हेर्ने हो भने औपचारिकरूपमा वार्ता ग¥यो, आज यो मिलेन त्यो मिलेन र जुरूक्क उठेर हिंड्ने बानी छ । त्यसले बाहिर नकारात्मक सन्देश दिन्छ । पहिला अनौपचारिकरूपमा सबै कुरा मिलाऔं, त्यसपछि औपचारिकरूपमा एउटा सहमति पत्र तयार गरेर घोषणा गर्ने पक्षमा हामी छौं ।  

० तर, एकताभन्दा पहिला समाजवादी सरकारबाट बाहिरिनुपर्छ भन्ने शर्त राजपाको छ नि ? 

— यो त ठूलो मुद्दा नै भएन । हाम्रो नीति र सिद्धान्त मिलिसकेपछि सरकारमा बस्ने वा नबस्ने कुरा बाधक बन्दैन । सरकारमा बस्ने वा बाहिरिने कार्यनीतिको विषय हो, नीति वा सिद्धान्तको विषय होइन । एकता अन्तिम निष्कर्षमा पुगिसकेपछि यो विषय पनि टुंगिन्छ ।

० अहिले सीमा विवादका कारण छिमेकी मित्रराष्ट्र भारतको विरूद्धमा धेरै गतिविधिहरू भए । अहिलेको अवस्थामा नेपाल–भारत सम्बन्ध कस्तो देख्नुहुन्छ ? 

— नेपाल र भारतबीचको सम्बन्ध बहुआयामिक हो । पार्टी, सरकार र कुटनीतिकभन्दा पनि दुवै देशका जनता–जनताबीच बढी प्रगाढ सम्बन्ध रहेको छ । त्यसैले, भारत र नेपालबीचको सम्बन्ध कसैले चाहेर पनि बिगार्न सक्दैनन् । कुनै मुद्दालाई लिएर छिमेकी मुलुकको झण्डा जलाउनु एकदम गलत हो । यस्ता गतिविधि हुनुहुँदैन । नेपाल र भारतको अन्तर्सम्बन्धलाई २१औं शताब्दीमा नयाँ ढंगले परिभाषित गर्नुपर्छ ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया