व्यवस्थित सिंचाइ पहिलो प्राथमिकता : विक्रम चौधरी

अध्यक्ष, पिपरा गाउँपालिका, महोत्तरी

स्थानीय सम्वाद्

    २०७६ साल मंसिर २० गते शुक्रबार   

स्थापना : २०७३, जम्मा वडा : ७, जनसंख्या : ३५५२४, क्षेत्रफल : ३९.९८ (वर्ग कि.मी.), समावेश गाविसहरू : पिपरा, सहोडवा, बनौली दनौली, रतौली र एकरहिया, धार्मिक तथा ऐतिहासिक स्थल स्(बौधीमाई मन्दिर,विद्यापति डीह, पिपरा महोत्तरी जिल्लाको जनकपुर–भिठ्ठामोड मुख्य राजमार्गमा जनकपुरबाट ८ कि.मि. मा अवस्थित रहेको छ ।

० राजपाको गढ मानिएको पिपरा गाउँपालिकामा तपाइँ निर्वाचित हुँदा कस्ता चुनौतीहरू देख्नुहुन्छ ? 

— सर्वप्रथम, पिपरा गाउँपालिकावासीले मलाई विश्वास गरेर जिताउनुभयो त्यसका लागि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । यस गाउँपालिकाभित्र धेरै चुनौतीहरू छन् । किनभने विगत दुई÷अढाई वर्षमा यहाँ जुन किसिमले काम हुनुपर्ने थियो, त्यसरी कामै भएन । शिक्षा, सिंँचाइ, स्वास्थ्य, सुशासन लगायतको क्षेत्रमा कामै भएको छैन । त्यसकै परिणामस्वरूप जनताको झुकाव नेपाल कम्युनिष्ट पार्टीप्रति बढेको हो । अब दिनरात खटेर जनतामा सुशासनको अनुभूति गराउने मेरो पहिलो दायित्व हो । विकास निर्माणको क्षेत्रमा हाम्रै गाउँपालिका भएर बग्ने नदीमा बाह्रैमास पानी हुन्छ । त्यो पानीलाई हामीले सिंँचाइमा प्रयोग गर्न सक्यौं भने पिपरा, महोत्तरी र मटिहानी नगरपालिकाको सम्पूर्ण भूभागलाई सिंँचाइ गर्नसक्ने अवस्थामा पुग्छौं । त्यसैले, पहिलो प्राथमिकतामा सिंँचाइका लागि नदीमा बाँधको व्यवस्था गर्छौं । 

० भनेपछि, अहिलेसम्म पिपरा गाउँपालिका केही कामै भएको छैन ? 

— केही उल्लेख्य काम भएको छैन । नारामा भन्नका लागि त हामीले भन्यौं कि सिंहदरबार गाउँमा आइसक्यो । तर, दरबार मात्रै आएर हुँदैन नि । त्यो दरबार आएको अनुभूति पनि जनतामा हुनुप¥यो । त्यो अनुभूतिका लागि जनताले जसरी ममाथि अपेक्षा राखेका छन्, त्यो अवश्य नै पूरा हुन्छ । हामीसँग पर्याप्त साधनस्रोतहरू छन् । यो गाउँपालिका भनेको साधनस्रोतले सम्पन्न गाउँपालिका पनि हो । सम्भावना हुँदाहुँदै पनि जनताले विकासको अनुभूति गर्न पाएका थिएनन्, अब हुन्छ । यहाँका जनताले १०÷१५ दिनभित्रै अनुभूति गर्नेछन् कि अब यहाँ सुशासन छ, विद्यालयमा राम्ररी पठनपाठन सुरू भयो । यसभन्दा अघि लथालिङ्ग अवस्थामा पिपरा गाउँपालिका थियो । 

० तपाइँको पहिलो प्राथमिकता के हुनेछ ?

— यहाँका वृद्धवृद्धा, गर्भवती महिला र आकस्मिक दुर्घटनामा परेका व्यक्तिहरूका लागि एम्बुलेन्स सेवा निःशुल्क गर्छौं । मुख्य ध्यानकेन्द्रित सिँंचाइमै हुन्छ मेरो । किनभने यो कृषिप्रधान गाउँपालिका हो । समग्रमा यो गाउँपालिकालाई समृद्ध बनाउँछौं । यहाँका पर्यटनको पनि धेरै सम्भावनाहरू छन् । किनभने विद्यापतिको कर्मभूमि यही नगरपालिकाभित्र पर्छ । हामीले त्यसलाई पर्यटकीय क्षेत्रको रूपमा विकास ग¥यौं भने त्यसले पनि आर्थिक टेवा पु¥याउँछ । विद्यापतिका अनुयायीहरूको एउटा ठूलो समुदाय भारतमा छन्, उहाँहरू यदि यहाँ आउनुभयो भने संस्कृति र पर्यटनको क्षेत्रमा राम्रै छलाङ्ग लगाउन सकिन्छ । 

० सिंँचाइको प्रबन्ध गर्छु भन्नुभयो, तर किसानले समयमा मलखाद्य, बीउ पाइरहेको हुँदैन । यसका के लागि गर्नुहुन्छ ?

— सिंँचाइको प्रबन्ध मिलाइदियो भने मलखाद्य पनि अनुदानमा दिन्छौं । किसानका जीवनस्तर जबसम्म उकास्न सकिदैन, तबसम्म समग्ररूपमा गाउँपालिकाले विकासको हुन सक्दैन । किनभने यहाँका करिब ८५ प्रतिशत जनता कृषिमै आधारित छन् । त्यसकारणले, मलखाद्य र बीउबीजनको व्यवस्था र मूलरूपमा सिंँचाइको व्यवस्था हामी गर्छौं । त्यसकारण कृषिको समस्या समाधान ग¥यौं भने यो गाउँपालिकाले विकासमा राम्रो फड्को मार्छ ।

० कृषि प्रधान देश भनिएपनि दैनिक उपभोग्य वस्तुहरू आयातै गर्नुपर्ने अवस्था छ । तपाइँ आफ्नो कार्यकालभित्र गाउँपालिकालाई कसरी आत्मनिर्भर बनाउनुहुन्छ ? 

— अब कृषकले खेती गर्न चाहिरहेका छैनन् । त्यसको मुख्य कारण कृषकको लागतअनुसारको प्राप्ति नभएर नै हो । जति अन्नबाली उत्पादन हुन्छ, किसानले त्यसभन्दा बढी उसको लगानी नै लागिरहेको हुन्छ । त्यसैले, जबसम्म हामीले कृषिमा अनुदानको व्यवस्था, सिंँचाइ र गुणस्तीय बीउबीजन उपलब्ध गराउँदै तबसम्म कृषक मारमा परिहन्छन् । त्यसकारणले नगरपालिकाले कम्तीमा सिँंचाइको व्यवस्था, मल र बीउबीजन समयमै उपलब्ध गराइदियो भने कृषकले राम्रो प्रतिफल पाउन सक्छन् । त्यतातिर हाम्रो ध्यान जान्छ भन्ने कुराको प्रतिबद्धता जनाउन चाहन्छु । आवश्यकताअनुसार हामीले यी कुराहरू कृषकलाई पूर्ति गर्ने नै छु । 

० भनेपछि, गाउँपालिकाले कृषकलाई सिँंचाइ, मलखाद्य र बीउबीजन सहुलियत दिन्छ ?

— हो, दिन्छौं । नदिइकन कृषकले खेती गर्नै सक्दैनन् । पहिला हाम्रा बाउबाजेले यहाँका अन्नबाली भारत बेच्थे । तर ३०÷४० वर्ष यतादेखि हामी उल्टै भारतबाट किनेर ल्याउँछौं । किनभने हामीले आफ्नो भूमिबाट राम्ररी लाभ लिन सकिरहेका छैनौं । कृषकले आफ्नो खेतको माटो जाँच गरेर यदि खेती ग¥यो भने उसले राम्रो उब्जनी गर्न सक्छन् । तर, त्यो हुन सकिरहेको छैन । फलफूलको पनि त्यतिकै सम्भावना छ । समग्रमा भन्ने हो भने कृषिमा उल्लेख्य प्रगति गर्नका लागि हामीले यी यावत् कुराहरूलाई ध्यान दिनुपर्छ । 

० तपाइँ आफ्नो कार्यकालभित्र पिपरा गाउँपालिकालाई कस्तो बनाउने सोच्नुभएको छ ? 

— म आफ्नो कार्यकालभित्र पहिलो कुरा यहाँ सुशासन कायम गर्छौं । मेरो सुरूदेखिको सपना हो कि हाम्रै गाउँपालिका हुँदै बग्ने नदीलाई उपयोग गरेर यहाँका कृषकहरूका लागि सिँंचाइका लागि राम्रो व्यवस्था गर्छौं । किनभने म आफै किसान भएकोले मैले धेरै भोगेको छु । जब हामीले लगाएको बाली सिँंचाइको अभावले सुक्न थाल्छ अनि हाम्रो आत्मा दुःख्छ । यही अवस्था समग्र कृषकहरूको पनि हो । मेरो यो कार्यकाल सक्नुभन्दा अगावै जसरी भएपनि किसानलाई राहत दिने, सिँंचाइको सुविधा उपलब्ध गराइने, स्वास्थ्यको क्षेत्रमा उल्लेख्य काम गर्ने हो । मैले चुनावका बेला १६ बुँदे प्रतिबद्धता जारी गरेको छु । मसँग क्षमता छ, दिनको १८÷१९ घन्टा काम गर्दै आएको छु । त्यसकारण मैले यदि दुईटा कुरा मात्रै पूरा गर्न सके समग्र गाउँपालिकाले स्थानीय सरकारको अनुभूति गर्नेछन् । अस्पतालको राम्रो सञ्चालन र समग्र किसानका लागि राम्रो सिँंचाइको व्यवस्था मेरो मुख्य उद्देश्य हो ।

तपाईको प्रतिक्रिया