बमको सन्त्रास (सम्पादकीय)

सम्पादकीय

    २०७६ साल पुस ४ गते शुक्रबार   

मंसिर २७ गते धनुषाको क्षिरेश्वरनाथ नगरपालिका—५ महेन्द्रनगर बजारमा शक्तिशाली बम विस्फोट हुँदा प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु भयो । कुसाई टोलस्थित एक औषधि व्यवसायीको घरमा भएको बम विस्फोट हुँदा घरधनी राजेश्वर साह र उनका छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा प्रहरी निरीक्षक अमिर दाहालको पनि मुत्यु भयो ।
प्राप्त सूचना अनुसार नजिकैको महेन्द्रनगरस्थित ईलाका प्रहरी चौकीबाट सुरक्षाकर्मीहरू घटनास्थलमा पुगेका थिए । तर, सुरक्षाकर्मीहरू घरमा पुगेर शंकास्पद वस्तु हेर्न खोजेकै बेला एक्कासी विस्फोट भएको थियो । घटनामा घरधनी राजेश्वरकी २१ वर्षीय छोरी अञ्जली साह, १४ वर्षीय छोरा प्रेम साह, प्रहरी जवान रिजनाथ कुमार महतो गम्भीर घाइते छन् ।  

त्यस घटना पछि पनि जनकपुर र धनुषाका अन्य क्षेत्रमा बमको नाममा थुप्रै शंकास्पद वस्तुहरू फेला परेको थियो । यद्यपी ती वस्तुहरू बम नभएपनि त्रास फैलाउनका लागि पनि राखिएको हुन सक्ने आकंलन गरिन्छ । धनुषाको यो घटनाको धेरै चर्चा गरिए पनि प्रदेश २ का अन्य जिल्लाहरूमा पनि फाटफुट्ट रूपमा बम भेटिएको, बम विस्फोटा भएको र बमका नाममा शंकास्पद वस्तु फेदा परेको घटना अब सामान्य हुन थालेको छ । आखिर मधेशले किन बम आतंकको सन्त्रासबाट जिउनु परेको छ ?

मंसिर दोस्रो साता यता  केही महिनादेखि मधेश पुनः अशान्त बनेको छ । शृङ्गखलाबद्ध बम पड्किन थालेको छ । सर्लाही, धनुषा, सिराहामा लगालग बम राखिएको भेटियो । कतै सेनाले निष्क्रिय पारे त कतै पड्किएर धनजनको क्षति भयो ।
शान्त मधेश अपराधीको गतिविधिले शनैःशनै फेरि अशान्त बन्दै गएको छ । कहीँकतै विप्लव समूहले बम राखेको प्रहरीको भनाइ छ भने कतै अपराधी समूहले चन्दा संकलन गर्न बम पड्काउँदै आएको छ । सरकारी कार्यालय, साहूमहाजनको घर, सार्वजनिक स्थानमा टाइम, प्रेसर, सकेटजस्ता बम राख्ने अनि बिस्फोट गराउने समूह सक्रिय छन् ।  

मधेशमा कहिले सशस्त्र समूहको आतंक छैन । उनीहरूले हतियार बिसाइसकेका छन् । मधेशका सशस्त्र समूहले सरकारसँग शान्ति वार्ता गरेपछि मधेशको जनजीवन लयमा फर्किएको थियो । तर अपराधी समूहले बम आतंक मच्चाएर मधेशलाई फेरि आतंकमा धकेलिदिएको छ । चन्दा माग्ने र नदिए घरमा बम हालेर तर्साउँदै आएको छ । शृङ्गखलाबद्ध बम बिस्फोटले प्रहरीदेखि सर्वसाधारण त्रसित छन् । अपराधी समूहको निशानामा सरकारी कार्यालयदेखि नेताका पार्टी कार्यालय पनि परेका छन् ।
बम बिस्फोटका घटनाहरूको गम्भीरतापूर्व अनुसन्धान भइरहेको प्रहरीले दाबी गरे पनि त्यसमा कमी आएको छैन । प्रदेश २ मा कुनै बम आतंक नभएको प्रहरीको दाबी रहेपनि आम जनता त्यसबाट आश्वस्त हुन सकिरहेको छैन् । गैरराजनीतिक समूहले डराउन बम बिस्फोट गराएर चन्दा असुली गर्ने गरेको छ र उनीहरू वास्तवमै अपराधी समूह हुन् । कुनै कुनै ठाउँमा विप्लव समूहले बम राख्ने र पड्काउने पनि गरेका छन् । 

मधेशको सुरक्षा व्यवस्था चुस्तदुरूस्त छैन र यसमा सुरक्षा निकायको कमजोरी पनि देखिन्छ । यी दृष्टान्तहरूले प्रदेश २ मा बमको बिगबिगी रहेको छर्लगं हुन्छ । यी बिगबिगीलाई नियन्त्रण गर्नु जरूरी छ । बम राख्ने र बिष्फोट गराउनेहरूलाई कानूनी दायरामा ल्याई अमन, चयन र शान्ति स्थापना गर्नु जरूरी छ ।

 

तपाईको प्रतिक्रिया