‘ओलीभन्दा समाजवादीले मधेशीलाई मुर्ख ठान्यो’

जयप्रकाश गुप्ता, संयोजक, तराई मधेश राष्ट्रिय अभियान

अन्तर्वार्ता

       

० उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीको संघीय सरकारबाट बहिर्गमनलाई कसरी हेर्नुभएको छ ?

— यो प्रक्रियाको सम्बन्ध मधेशका माग र अपेक्षाहरूसँग छैन । तात्कालीन संघीय समाजवादी फोरम र बाबुराम भट्टराईजी नयाँ शक्तिबी पार्टी एकीकरणपछि पार्टी सरकारबाट बाहिर जानुपर्छ र कांग्रेस र एमालेबाहेकका अन्य शक्तिहरूसँग मिलेर एउटा वैकल्पिक तेस्रो शक्तिको निर्माण गर्नुपर्छ भन्ने धारणा बाबुरामजीको सुरूदेखि नै थियो । यसको पछाडि बाबुरामको मनसाय जेभएपनि सार्वजनिकरूपमा आएको कुरा यही हो । तर, उपेन्द्र यादवले यस कुरालाई संविधान संशोधनको झुठो आश्वासन दिएर पर सार्दै जानुभयो । यसैबीचमा एउटा नयाँ कुरा के आयो भने आगामी समयमा कांग्रेस र एमाले सहमत भएर थ्रेसहोल्डलाई ५ प्रतिशतमा पु¥याउँछ । अर्थात् अहिले राष्ट्रिय पार्टी हुनलाई जुन ३ प्रतिशत थ्रेसहोल्ड छ त्यसलाई बढाएर ५ प्रतिशत पु¥याउने हो ।

यसको प्रभावबाट भोलीको दिनमा आफूलाई राष्ट्रिय पार्टीको रूपमा रहन कठिन हुन्छ भनेर समाजवादी र राजपाबीच एकताका लागि कुराकानी प्रारम्भ भयो । तर, यस प्रक्रियामा राजपा जो सरकारबाट बाहिर थियो र पछि गएर आफ्नो समर्थन पनि सरकारबाट फिर्ता लियो, उसले समाजवादीलाई सरकारबाट बहिर्गमनका लागि नयाँ चाल चल्यो । सरकारबाट बाहिर आउनुस् अनि एकता प्रक्रिया बढ्छ भनेर । राजपा र समाजवादीको बीचमा धोकाधडीको लामो इतिहास छ । त्यसको प्रतिफलवापत यो कुरा आएको थियो । यसका थुप्रै उदाहरणहरू छन् ।

यसमा उपेन्द्र यादवजी सरकारमा हुँदा बाबुरामजी एकपक्षीयरूपमा सरकारको आलोचना गर्दै जानुभयो र प्रधानमन्त्री केपी ओलीले यसलाई सहकार्यको सिद्धान्तअनुसार यो कुरा भएन भनेर बारम्बार उपेन्द्र यादवलाई भन्दै आउनुभएको थियो । तर, उपेन्द्र यादवले बाबुरामलाई चुप लगाउन सक्नु भएन । सोहीअनुरूप पछिल्लो समय मन्त्रिपरिषद् पुनर्गठन हुँदा उपेन्द्र यादवलाई अलिकति अपमानित हुने गरी स्वास्थ्यबाट कानून मन्त्रालयमा सारियो । उपेन्द्र यादवले सोही बेलादेखि फेससेभिगंको उपाय खोजिरहनुभएको थियो ।

आफ्नो अनुहारलाई बचाएर सरकारबाट कसरी बाहिर आउने भन्ने एउटा मौकाको खोजीमा हुनुहुन्थ्यो । अस्ति उहाँले एउटा नयाँ चाल चल्नुभयो । संविधान संशोधन भनेर बाहिर भन्नुभयो । तर, खासगरेर कुन–कुन विषयमा संविधान संशोधन गर्ने त्यसको पहिचान गर्नका लागि एउटा समिति बनाउने प्रस्ताव लिएर जानुभयो । त्यो प्रस्तावलाई स्वाभाविकरूपले अस्वीकार गरियो, प्रक्रियागतरूपमा पनि थिएन । ओलीजीले उपेन्द्रजीलाई निकै नै होच्याउने र आलोचना गर्ने खालका कुराहरू गर्नुभयो भन्ने कुराहरू सार्वजनिक भएको छ ।

उपेन्द्र यादवले संविधान संशोधनका लागि सरकारमा धेरै संघर्ष गर्नुभयो, प्रस्ताव पनि ल्याउनुभयो तर ओली सरकारले मानेन अनि बाध्य भएर सरकारबाट बाहिरिनुभयो, आन्दोलन हाँक्न आउनुभयो लगायतका बुझाईहरू सही होइन । यसैरूपबाट अहिलेको घटनाक्रम अगाडि आएको छ ।

० भनेपछि, उपेन्द्र यादवको सरकारबाट बहिर्गमन अप्रत्याशित थिएन, सुझबुझपूर्ण र योजनातहत थियो ?

— मलाई लाग्छ मधेशीहरूको स्मृति बडो कमजोर छ । केही समय पहिला भएका घटनाक्रमहरू पनि हामी स्मरण गर्दैनौं । त्यसले गर्दा तत्काल पार्टीहरूले जे कुरा भन्दछ, हामी त्यसैलाई विश्वास गर्दछौं । म स्मरण गराउन चाहन्छु, यो संविधान जारी भइसकेपछि हामी सबै आन्दोलनमा थियौं र अचानक आन्दोलन बन्द भयो । त्यसपछि सरकारको तर्फबाट संविधान संशोधनको कुराहरू अगाडि आयो र संविधान जारी गर्ने पक्षहरूले आन्तरिक सहमतिमा केही कुराहरू संशोधन गरियो । त्यसपछि नेपाली कांग्रेस र तत्कालीन एमाले वा माओवादी (हालको नेकपा)ले स्पष्टरूपमा भन्दै आएको छ कि अब संविधानमा संशोधनको कुनै आवश्यक छैन ।

खासगरेर मधेशका सवालमा संविधानमा संशोधन हुन्छ भन्ने कुरा यिनीहरूले कहिल्यै स्वीकारेकै छैन । यो कुरा थाहा पाउँदा–पाउँदै राजपाले पनि आफ्नो विश्वासको मत दियो । संविधानमा संशोधन नै नगर्ने मनसायले ओलीले यतिकै आंशिक आश्वासन दिए । उपेन्द्र यादवजी पनि यो कुरा थाहा पाउँदा–पाउँदै सरकारमा जाँदा एउटा आधार बनाउँ भनेर दुईबुँदे समझदारी गर्नुभयो । उहाँलाई थाहा छ कि नेकपाले कहिल्यै पनि मधेशको आकांक्षाअनुसार संविधानमा संशोधन गर्दैन ।

जुन उपेन्द्र यादवले संविधान संशोधन होइन, पुनर्लेखनको कुरा उठाउनुभएको थियो, उहाँले एमालेमुक्त मधेशको नारा दिनुभएको थियो । तर उही उपेन्द्र यादवले पूरै नहुने एउटा आश्वासनको भरमा सरकारमा जानुभयो । त्यसपछि पनि नेकपा र ओलीजीले बारम्बार भन्दै आउनुभएको छ कि संविधानमा संशोधन हुँदैन । तसर्थ उपेन्द्र यादवले मन्त्री पदमा बसिरहनका लागि संविधान संशोधनलाई जप्दै आउनुभएको थियो ।

मन्त्रालयमा उपेन्द्र यादवको खस्केको पर्फमेन्स, बाबुरामले ओली सरकारको निरन्तर गरेको आलोचना, रेणु यादवहरूले सरकारबाट बाहिरिनुपर्छ भन्ने खालका निरन्तरका दबाब र राजपाले सरकारबाट बाहिर नआउँदा दुई पार्टीबीच एकीकरण नै हुन नसक्ने लगायत यी सबै कुराहरूको प्रतिफल ओलीले उपेन्द्रलाई अपमानित गर्दै आए । त्यसकारणले, उपेन्द्र यादवले संविधान संशोधन गराउँछु भनेर सरकारमा बसेका थियौं भन्नु मधेशी जनतालाई मुर्ख बनाउने बाहेक केही पनि होइन ।

० संविधान संशोधनको सवालमा समाजवादीलाई प्रधानमन्त्रीले धोका दिए कि समाजवादीले मधेशी जनतालाई ?

— मलाई लाग्छ, प्रधानमन्त्रीले त्यस बैठकमा जसमा उपेन्द्रले तथाकथित एउटा प्रस्ताव लिएर जानुभएको थियो त्यसमा पनि प्रधानमन्त्रीले प्रष्टरूपमा भन्नुभयो कि यो संविधान संशोधन जतिबेला मन लाग्यो बजाउने मादल होइन । यसअघि राजपाले प्रधानमन्त्रीलाई संविधान संशोधनको बारेमा दुई÷तीन पटक कुरा उठाएको र ज्ञापनपत्र दिएको थियो । प्रधानमन्त्रीले त्यतिखेर पनि प्रष्टरूपमा राजपालाई भन्नुभएको थियो कि संविधान संशोधन हुन सक्दैन, यो कुरा छोडेर अन्य कुराहरूमा सहमति गरौं । त्यो भनेपछि हार मानेर राजपाले सरकारबाट समर्थन फिर्ता लिएको कुरा पनि उपेन्द्रजीलाई थाहा छ ।

यी सब कुरा थाहा हुँदाहुँदै पनि उपेन्द्रजीले संविधान संशोधनलाई देखाउने मुखुण्डोको रूपमा आफू मन्त्री पदमा बस्नुभयो र अन्तिममा आएर विभिन्न कारणले राजीनामा दिनुभयो । त्यसकारण ओलीले धोका दिएको होइन, उनले सुरूदेखि नै संविधान संशोधन हुँदैन भन्ने कुरा भन्दै आएका थिए । हामी सत्ताको चास्नी चाट्नलाई सरकारमा बस्नु र एक प्रकारले अपमानित गरेर सरकारबाट निष्काशन गर्दा संविधान संशोधनको स्वाङ्ग पिट्नु, आन्दोलनको कुरा उठाउनु ओलीभन्दा पनि समाजवादी पार्टीले मधेशीलाई मुर्ख ठानेको छ ।

० मन्त्रिपरिषद् पुनर्गठनमा उपेन्द्र यादवलाई स्वास्थ्यबाट कानूनमा झार्दा र एउटा राज्यमन्त्री हटाउँदा प्रधानमन्त्रीको संकेत समाजवादी सरकारबाट बाहिरियोस् नै थियो ?

— प्रधानमन्त्रीका कुराहरू पटक–पटक सार्वजनिक हुँदै आएको छ । पहिलो कुरा त बाबुरामले ओलीको आलोचना गर्दा प्रधानमन्त्री निवास बालुवाटारमा भएको एउटा सर्वदलीय बैठकमै ओलीजीले यो कोलिसनको धर्म भएन, तपाइँको पार्टीका संघीय परिषद् अध्यक्ष जथाभावी बोल्दै हिंडेको छ, यदि त्यसमा तपाइँको पनि सहमति छ भने सरकारबाट राजीनामा दिनुस् ।

दोस्रो, उपेन्द्र यादवले सम्हालेको स्वास्थ्य मन्त्रालय ढंगले काम नगरिरहेको, डेंगु फैलिएको बेला पनि प्रधानमन्त्रीले स्वास्थ्यमन्त्रीको खुलारूपमा आलोचना गरेको, कर्मचारीहरूको समायोजन गर्न असफल भएको, विदेश भ्रमण बढी गरेको र यो कम्युनिष्टको सरकार होइन, कमाउनिष्टको सरकार हो भनेर उपेन्द्र यादव स्वयम्ले भन्दा पूरै मन्त्रिपरिषद्ले राजीनामा दिएर जानुस् भनेको कुराहरू सार्वजनिक भएकै हो । यति हुँदाहुँदै पनि उपेन्द्रजी अपमान सहेर भएपनि सरकारमा बस्नुभयो ।

उपेन्द्र यादव ओलीका लागि घाँडो भइसक्नु भएको थियो । उपेन्द्र यादवकोस्थिति मन्त्रिपरिषद्मा ‘मान न मान मैं तेरा मेहमान’वाला भइसकेको थियो । उहाँको एउटा राज्यमन्त्रीलाई हटाइदियो, उहाँ दिल्लीमा रहेको बेला मन्त्रालय परिवर्तन गरिदियो । यति हुँदा पनि उहाँ खुशी व्यक्त गर्दै प्रधानमन्त्रीले मलाई धेरै मन्त्रालयको अनुभव बटुल्नुस्, अन्य मन्त्रालयको काम सिक्नुस् भनेर वक्तव्य दिनुभयो ।

० सकारबाट बहिर्गमनपछि समाजवादीको अबको यात्रा कस्तो देख्नुहुन्छ ?

— मलाई थाहा छैन, म त्यो पार्टीसँग सम्बन्ध पनि राख्दिँन । उहाँको पत्रकार सम्मेलनको समाचारहरू पढें । उहाँले तीन वटा तीर छोड्नुभएको छ । एउटा त राजपाले चाहेको थियो सरकारबाट बाहिर आउ, त्यसपछि एकता हुन्छ । त्यसकारण हामी सरकारबाट बाहिर आयौं अब राजपासँग एकीकरणको प्रक्रिया सुरू हुन्छ । हामीलाई सरकारबाट बाहिर आउनुपर्छ भन्ने राजपा अब सरकारमा कसरी जान्छ ? यदि सरकारमा गयो भने राजपाको लागि आत्महत्या हो भनेर राजपालाई फसाउनका लागि एउटा तीर छोडनु भएको हो ।

बाबुरामजीले अर्को तीर छोड्नुभएको छ कि हामी अब सरकारबाट बाहिर आयौं, सरकारमा हुँदा वैकल्पिक शक्ति निर्माणमा बाधा व्यवधान थियो, अब सबै पहिचानवादी, क्रान्तिकारी शक्तिहरू मिलेर तेस्रो शक्ति निर्माण गर्नुपर्छ भन्नुभयो । उपेन्द्रजीले सदाझैं अब हामी जनताको बीचमा जान्छौं, संविधान संशोधनको मुद्दा लिएर जान्छौं, जुन प्रस्ताव अस्वीकार गरियो त्यसलाई लिएर जान्छौं, प्रधानमन्त्रीले धोका दिनुभयो, ओली अब कसरी मधेश छिर्छ भनेर धाकधम्कीको तेस्रो तीर छोड्नुभएको छ ।

उहाँ भाग्यमानी हुनुहुन्छ कि मधेशका बुद्धिजीवी, पत्रकार र जागरूक जनताले कहिल्यै पनि उहाँलाई पहिचान गर्न सकेनन् । उहाँ कुन हाड र मासुबाट बनेको, कतिको क्रान्तिकारी मान्छे हो यसको सही पहिचान गर्न नसकेर उहाँको पसल चलिरहेकै छ । उहाँलाई अझै पनि विश्वास छ कि विभिन्न आधारमा बनाएको राजनीतिक दुकान फेरि पनि चल्छ, त्यसको सुरूवात उहाँले गर्नुभएको छ । मधेशका मान्छेले यसलाई कसरी लिन्छ म भन्न सक्दिँन, समयले नै बताउँछ ।

० सरकारमा जानु राजपका लागि आत्महत्यासरह हुने उपेन्द्र यादवको सुझाव राजनीतिकरूपमा कतिको उपयुक्त छ ?

— राजपालाई चिनेरै उपेन्द्र यादवले त्यसो भनेको हुनसक्छ । किनभने भर्खरै राजपाले राष्ट्रियसभाको दुईटा सिटका लागि नेकपासँग एउटा समझदारी गरेको छ । त्यो समझदारी भनेको राष्ट्रियसभाको दुईटा सिटका लागि मात्रै होइन । राजपाका मान्छेहरूले धोती माथि सारिसकेका छन् । उनीहरू पनि सरकारमा जानका लागि लालायित त रहँदै आएको हो, यसलाई सरकारमा जाने अवसरको रूपमा उनीहरूले बुझेको हुनुपर्दछ ।

किनभने अहिले हामी जति कुराहरू थाहा पाइरहेका छौं, राजपाले राष्ट्रियसभामा दुईटा सिटसहित प्रतिनिधिसभामा उपसभामुखका लागि बार्गेनिङ्ग गर्ने, उपेन्द्रले छोडेको दुई मन्त्रालय र एउटा थप मन्त्रालय पनि पाउनुपर्छ र राज्यमन्त्रीसमेत गरेर पाँच जनालाई मन्त्री बनाउनुपर्छ भन्ने कुराहरू आइरहेका छन् । भनेपछि, उपेन्द्र यादवले यी सब कुराहरू बुझेर आत्महत्यावाला कुरो एउटा फन्दाको रूपमा उचालेका छन् । यसो भन्दा राजपा सरकारबाट बाहिर रहन्छ कि भन्ने उपेन्द्रको चाल हो । हामी सबैले राजपाका नेताहरूको अनुहारलाई सम्झयौं भने सहजै अनुमान गर्न सक्छौं कि राजपा पनि उपेन्द्र यादवसँग कति फरकवाला मानिसहरूले बनेको पार्टी हो ।

० भनेपछि राजपाले तीन मन्त्रालय, दुई राज्यमन्त्रीसहित पाँच जना मन्त्री र उपसभामुखका लागि बार्गेनिङ्गमा छ ?

— मैले तराई मधेश राष्ट्रिय अभियानको तर्फबाट प्रारम्भदेखि भन्दै आएको छु कि दुवै पार्टी सत्ता समर्पण र मुद्दा विसर्जनवादी पार्टीहरू हुन् । मात्रात्मकरूपमा कोही अलि कम र कोही अलि बढी होलान् । यिनीहरूको समग्र विनाशबिना, यिनीहरू समाप्त नभइकन मधेशमा अर्को राजनीतिक पार्टी पनि बन्न सक्दैन र मधेशले आफ्नो ध्येय पनि पूरा गर्न सक्दैन । मूलभूत र चरित्रगतरूपले यी दुवै पार्टी एउटै खाले हुन्, केही फरक छैन ।

० राजपासँग दुईबुँदे सहमति र संघीय सरकारबाट समाजवादीको बहिर्गमनले प्रदेश २ को सत्ता समीकरणमा केही फेरबदल हुने सम्भावना देख्नुहुन्छ ?

— हुनसक्छ । केही महिना पहिले प्रचण्ड मधेशमै गएर ‘बाँकी सबै प्रदेशमा नेकपाको सरकार छ, प्रदेश २ मा पनि केही महिनाभित्रै नेकपाको सरकार बन्छ’ भन्ने कुरा हामी बिर्सेका छैनौं । अहिले पनि राजपासँग जुन समझदारी भएको छ त्यसका केही पायदानहरू छन् । पहिलो पायदान, राष्ट्रियसभामा दुईटा सिटको सहमति हो । तर, भित्रभित्रै अन्य समझदारीहरूको कुरा पनि सञ्चारमाध्यममा आइरहेका छन् । प्रतिनिधिसभाको उपसभामुख, त्यसपछि नेकपा र राजपा मिलेर प्रदेश २ का मुख्यमन्त्री लालबाबुलाई हटाएर नेकपा वा राजपाको मुख्यमन्त्री बनाउने । त्यसपछि उपेन्द्र यादवले छोडेको मन्त्रालयहरूमा एउटा मन्त्रालय थप गरेर तीन वटा मन्त्रालय र दुई वटा सहायक÷राज्य गरेर पाँच वटा मन्त्री मागेको कुरा । उपेन्द्र यादवसँग भएको सहमतिजस्तै, राजपासँग पनि त्यस्तै समझदारी गरेर सरकारमा जाँदैन भन्ने कुरा कसले भन्न सक्दछ ?

० मधेशकेन्द्रित दलहरू सत्ता समर्पण र मुद्दा विसर्जनको बाटोमा हुँदा मधेशका मागहरू कसरी सम्बोधन हुन्छ ?

— हेर्नुस्, मधेशका मागहरू निकट भविष्यमा सम्बोधन हुने मैले कुनै सम्भावना देखेको छैन । कांग्रेस र नेकपा आपसमा जति नै विरोधी भएपनि मधेशका मुद्दाहरू सम्बोधनको सवालमा गरिने संविधान संशोधनको विषयमा दुवै पक्ष एकमत रहेका छन् । संसदमा रहेका मधेशकेन्द्रित दलहरूबीच मतैक्यता छैन । यिनीहरू असंख्य विषयहरूमा विभाजित छन्, यो कुरा नेकपा र कांग्रेसले पनि बुझेको छ । एकथरि स्थानीय निकाय र प्रदेश सरकारमा छन् उनीहरूको ध्यान मधेशको मागभन्दा पनि राम्रो खाउँ, राम्रो लगाउँ, धनसम्पत्ति कमाउँ त्यतातिर गइसकेको छ ।

मधेशको मागको आधारमा संविधान संशोधन गर्ने भनेको इज्जत खोगाउनका लागि वक्तव्यको भाषाको विषय मात्र हुन गयो । यिनीहरू पनि कोठामा बस्दा सत्तापक्षसँग त्यो कुरा गर्न सक्दैन, सत्तापक्षले नमान्दा एउटा कार्यक्रमको रूपमा मधेशी जनताको बीचमा लिएर जान चाहँदैन । यस्तो अवस्थामा यिनीहरू बाहेक मधेशमा अर्को शक्ति पनि अहिले देखिँदैन, जसले यिनीहरूलाई विस्थापन गरेर कुराहरूलाई अगाडि बढाउन सकोस् । भोलीको दिनमा होला, अहिले सम्भावना छैन । जबसम्म यिनीहरूको सही पहिचान मधेशी जनताले गर्दैन, तबसम्म मधेशका मागहरू समाधान हुने स्थिति छैन । यिनीहरूबाटै केही हुन्छ कि भन्ने एउटा भ्रम पालेर मधेशी जनता बसेका छन् ।

० मधेशमा वैकल्पिक शक्ति आउने सम्भावना कतिको देख्नुहुन्छ ?

— मधेशमा नागरिक समाज अत्याधिक कमजोर छ । नागरिक समाजले यिनीहरूको चरित्रको बारेमा मधेशी जनतालाई अवगत गराइरहेका छैनन् । मधेशको प्रेस असाध्यै कमजोर छ । तपशीलका विषयमा मधेशको प्रेस व्यस्त रहेको देखिन्छ । यिनीहरूले आफ्नो जातीय आधार बनाएका छन् । सही कुराको तत्व बोध नभइकन् नयाँ शक्तिको निर्माण हुन सक्दैन । समयले एउटा शक्तिको निर्माण दिशामा हामी सबैलाई अगाडि बढाउँछ भन्ने मेरो विश्वास छ ।

० तपाइँको तराई मधेश राष्ट्रिय अभियान के गर्दैछ त ?

— हामी सदनमा छैनौं, स्थानीय निकायमा पनि छैनौं । हाम्रो काम जनचेतना निर्माण गर्ने हदसम्म मात्रै छ । धेरै मान्छेले हामीमा कुनै आकर्षण पनि देख्दैन । हामीले कहिलेकाँही आफ्ना कुराहरू राख्छौं । समय–समयमा सानोतिनो कार्यक्रमहरू गर्छौं । मान्छेले कुरो त ठिक हो तर यिनीहरूको पछाडि लागेर त माननीय, मन्त्री बन्न पाइँदैन, छोरा नातीलाई जागिर खुवाउन सकिँदैन भनेर हामीबाट टाढिन्छ । तैपनि हामी लागिरहेका छौं, एकलै वृहष्पति झुठो भनेजस्तै कुराहरू गरिरहेका छौं । एक न एक दिन हाम्रो कुरा पनि मान्छेले सुन्छन् ।
(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया