“चिनियाँ” अपराध (सम्पादकीय)

सम्पादकीय

    २०७६ साल पुस ११ गते शुक्रबार ।   

काठमाडौँका विभिन्न क्षेत्रबाट १२२ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध नियन्त्रण महाशाखा र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले उनीहरूलाई कोठमाडौँको विभिन्न क्षेत्रबाट पक्राउ गरेको हो ।

उनीहरू संस्थागत रूपमा घर भाडामा लिएर गैरकानूनी कार्य गरेको आरोपमा पक्राउ परेका हुन् । प्रहरीले उनीहरूलाई पक्राउ गर्न झण्डै तीन महिनाको समय लगाएको छ । एकै दिनमा यति धेरै संख्यामा विदेशी नागरिक पक्राउ गरेको यो पहिलो हो । यसअघि बैंकको एटिएम ह्याक गरेको आरोपमा सातजना चिनियाँ पक्राउ परेका थिए भने अन्य विभिन्न घटनामा पनि केही चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरूले केही न केही गलत क्रियाकलाप गरिरहेको निष्कर्षका साथ पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनीहरू नेपाल बसेर अनलाइनमार्फत अश्लिल हर्कत गर्ने, अनलाइन जुवा खेलाउनेदेखि बैंक ह्याकिङ्मा संलग्न भएको पाइएको छ ।

नेपालमा अपराध गर्ने विदेशीविरूद्ध सञ्चालित यो नै अहिलेसम्मको ठूलो घटना हो । यस घटनाले नेपाल विस्तारै अन्तर्राष्ट्रिय अपराधीका लागि सुरक्षित गन्तव्य बन्न थालेको प्रस्ट हुन्छ । दक्षिण अमेरिकी, अफ्रिकी, भारतीय, बंगलादेशी, पाकिस्तानी, कतिपय युरोपेली, क्यानाडाली र अमेरिकी नागरिकसमेत लागुऔषध, आखेटोपहार, बाल यौन दुराचार, विदेशी मुद्रा कारोबारलगायत अपराधमा नेपालमा समातिने क्रम बढ्दै गएको सूचनाले पनि नेपाल अपराध जगतका लागि सुरक्षित र सुरक्षाका दृष्टिले बद्नाम मुलुकमा फेरिँदै गएको देखिन्छ । यसले एकातिर नेपाली सुरक्षा निकायको क्षमता र सक्रियताबारे शंका गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

नेपालमा चीनका नागरिकको आगमन बढेसँगै पछिल्लो समय आपराधिक गतिविधिमा चिनियाँहरूको संलग्नता पनि वृद्धि भएको देखिन्छ । तसर्थ नेपाल आउने चिनियाँहरूको गतिविधिबारे सरकारले आवश्यक सावधानी अपनाउन आवश्यक छ । नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकको आवगमनले कायापलट ल्याउन सक्नेमा शंका छैन तर यही बुझेरै नेपालले उनीहरूलाई निःशुल्क ‘अन अराइवल’ प्रवेशाज्ञा दिदै आएको छ । तर त्यसको दुरूपयोग नहोस् भन्नेतर्फ पनि सरकार चनाखो हुनुपर्छ ।

यी प्रश्नहरूको पृष्ठभूमिमा हामी प्रस्ट हुनुपर्ने विषय के हो भने नेपालमा आएर अपराधजन्य गतिविधि गर्न कुनै पनि देशका नागरिकलाई छुट छैन र हुनु पनि हुँदैन । नेपाल अन्य देशमा अपराध गरेका व्यक्तिहरू लुक्ने सुरक्षित आश्रयस्थल पनि बन्नु हुँदैन तर त्यसलाई रोक्न सरकार, नेपाल प्रहरी र गुप्तचर निकायले अपनाउने शैली भने विवादरहित र कानुनसम्मत हुनुपर्छ । यस्ता घटना भोलि अन्तर्राष्ट्रिय कूटनीति तथा मानव अधिकारको विषय बन्नु हुँदैन ।

नेपालमा चिनियाँहरूले नेपाली समाजलाई कसरी प्रदूषित गरिहेको छ त्यसको यो उदाहरण हो । विगतमा चिनियाँ अपराधीहरूले नेपालमा मच्चयाएको उधुमको पछिल्लो परिघटना हो यो । काठमाडौंबाट चिनियाँ अपराधीहरूको गिरोह पक्राउ परेपछि तत्कालका लागि विपद् टरे पनि यससँग सम्बन्धित संवदेनशील विवरण अभै हुन सक्ने सम्भावना पनि रहेको छ । चिनियाँ अपराधको जोखिम समाप्त भइसकेको भनेर ढुक्क हुने अवस्था भने छैन ।

तपाईको प्रतिक्रिया