चिसोबाट बचाउन घरदैलो कार्यक्रम परिचालित छ : सनोजकुमार यादव

अध्यक्ष, रोहिणी गाउँपालिका, रूपन्देही

स्थानीय सम्वाद्

    २०७६ साल पुस ११ गते शुक्रबार ।   

रोहिणी गाउँपालिका रूपन्देही जिल्लाको पूर्वी दक्षिण भागमा अवस्थित छ । साबिकका ६ गाउँ विकास समितिहरू (धकधई, बगाहा, पजरकट्टी, पोखरभिण्डी, छिपागढ र बोदबार) लाई मिलाएर बनाइएको यस गाउँपालिका पूर्वीपश्चिम हुलाकी सडकअन्तर्गत भैरहवा धकधई खण्डको उत्तरदक्षिण, ८३.५४९७४२ पूर्वी देशान्तर र २७.५१२१३० उत्तर अक्षांशसम्म अवस्थित यो गाउँपालिका समून्द्र सतहदेखि करिब ९२.१ मिटरको उचाइमा छ । कुल क्षेत्रफल ६४.६२ वर्ग किलोमिटर रहेको यस गाउँपालिको पूर्वमा नवलपरासी जिल्लाको सिमाना पश्चिममा सिद्घार्थनगर नगरपालिका उत्तरमा ओमसतिया गाउँपालिका र दक्षिणमा छिमेकी राष्ट्र भारत अवस्थित छ ।

० जनप्रतिनिधिको रूपमा निर्वाचित भएको अढाई वर्षभन्दा बढी भइसक्यो, जनताले महसुस गर्ने के कस्ता कामहरू भए ? 

— हाम्रो कार्यकाल अढाई वर्ष पुगिसकेको अवस्थामा जनताले अनुभूति गर्ने धेरै कामहरू गरेका छौं । बाटोघाटोको धेरै समस्या थियो, त्यसमा हामी सफल भएका छौं । शिक्षामा पनि धेरै सुधार भएको छ । स्वास्थ्यको क्षेत्रमा पनि उल्लेखनीय कार्य गरेका छौं । हामीले विभिन्न योजना तथा कार्यक्रमहरू पनि ल्याएका छौं । त्यसैले, जनताले अनुभूति गर्दैछन् कि स्थानीय सरकारले केही गर्दैछ ।  

० चुनौतीहरू के–के छन् ? 

— हामी निर्वाचित भएर आउँदा सबभन्दा बढी चुनौती बाटोघाटोमै थियो । हाम्रो गाउँपालिकाको सिमाना छिमेकी मित्रराष्ट्र भारतसँग टाँसिएको छ । सीमा क्षेत्रमा बाटोघाटो राम्रो व्यवस्था थिएन, त्यसमा हामीले काम ग¥यौं । पहिला पानी पर्दा जताततै हिलो हुने, पानी जम्ने, आवतजावतमा समस्या हुन्थ्यो । अहिले हामीले बाटो बनाएका छौं । शैक्षिकस्तर पनि खस्किएको थियो । तर, हामीले चुनौतीलाई अवसरको रूपमा लिएर काम अगाडि बढिारहेका छौं । 

० खुला सिमानाले कति सहजता वा अप्ठ्याराहरू आउँछन् ? 

— खुला सिमानाले यहाँका जनतालाई सहजता भइरहेको छ भने केही सुरक्षा चुनौती पनि छन् । खुला सिमानाकै कारण नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध छ । सुरक्षामा केही चुनौती देखिएपनि सहजता धेरै छन् । सीमामा रहेका सुरक्षाकर्मी, जनप्रतिनिधि र भारतका जनप्रतिनिधिहरू मिलेर सीमामा देखिएका चुनौतीहरू समाधान गर्न सधैं प्रयासरत छौं । त्यसकारणले खासै चुनौती देखिएका छैनन् । 

० खुला सीमाका फाइदाहरू के–के छन् ? 

— खुला सिमानाले दुई देशबीचको सम्बन्ध नागरिकस्तर धेरै मजबुत बनाएको छ । बिहेबारी हुँदै आएको छ । यहाँबाट रोजगारका लागि पनि जान सहज छ । खासगरी, नेपालमा दैनिक उपभोग्यवस्तुहरू अलि महँगो छ, उतातिर अलि सस्तो छ । गरीब जनताले यसबाट लाभ लिइरहेका छन् । कृषकहरूलाई हामीले समयमा मलखाद समयमा उपलब्ध गराउन नसकिरहेको अवस्थामा उताबाट ल्याउन सहज अवस्था छ । त्यसैले, खुला सीमाका कारण खासै समस्या छैन, जनतालाई सहज नै भइरहेको छ ।

० तपाइँहरूको काम जनता कतिको सन्तुष्ट छन् ? 

— जनता धेरै सन्तुष्ट छन् । म जनताकै बीचबाट जनताद्वारा निर्वाचित भएर आएका हुँ । हामीलाई यहाँका समस्याहरू थाहा छ, त्यहीअनुसार आफ्ना कार्यहरू गर्दैछौं । स्थानीय सरकारको अनुभूति जनताले गरेका छन् ।

० सिंहदरबार गाउँमा आएको छ ? 

— सिंहदरबार गाउँमा मात्रै होइन, घर–घरमा पुगिसकेको छ । किनकि जनताले आफ्नो हरेक सेवासुविधा आफ्नै ठाउँमा पाइरहेका छन् । पहिला सानोभन्दा सानो कामका लागि सदरमुकाम जानुपर्ने, धेरै झन्झटिलो पनि थियो । अहिले हाम्रा वडा कार्यालयहरूबाट हरेक काम हुने गरेका छन् । जनताका समस्याहरू आफ्नै वडा कार्यालयहरूमा समाधान भएपछि अवश्य नै सिंहदरबार गाउँमा आएको महसुस गर्छन् ।

० मधेशमा शीतलहर सुरू भइसकेको छ, यसबाट बच्न के गर्दै हुनुहुन्छ ? 

— शीतलहरबाट बच्न गाउँपालिकाले विभिन्न कार्यक्रमहरू गरेको छ । विपन्न परिवारहरूका लागि न्यानो कपडा वितरण गरिरहेका छौं । दाउराहरूको पनि व्यवस्था गर्दैछौं, अब कम्बल वितरण गर्ने कार्यक्रम पनि ल्याउँदैछौं । यसैगरी, हामीसँग चिकित्सकहरूको एउटा टोली पनि छ, जसलाई हामीले घर–घरमा पुगेर स्वास्थ्यबारे जनचेतना तथा आवश्यक औषधिहरू वितरण गर्दैछौं । हामीले जनप्रतिनिधिहरूको एउटा टोली पनि बनाएका छौं र घरदैलो कार्यक्रमअन्तर्गत परिचालन गरेका छौं । जनचेतना फैलाउने काम गरिरहेका छौं ।

० चिसोकै कारण मानवीय क्षति हुने अवस्था आउँदैन ? 

— चिसोकै कारण मानवीय घटना हुने अवस्था अब छैन । हामी निर्वाचित भएर आएदेखि यसबाट हामी सचेत छौं । चिसोबाट बच्नका लागि हामीले कम्बल, न्यानो कपडा र दाउरा वितरण लगायतका कामहरू गरिरहेका छौं । सबभन्दा ठूलो कुरा हो हामीले घरदैलोमा गई जनचेतना फैलाउने काम गरिरहेका छौं । त्यसकारण चिसोबाट कसैको मृत्यु हुने अवस्था छैन ।  

० रोहिणी गाउँपालिकाको जनजीवन कृषिमा आधारित छ, कृषकका लागि के–कस्ता योजनाहरू ल्याउनुभएको छ ? 

— कृषकहरूका लागि सबभन्दा मुख्य कुरा चाहिने भनेको पानी हो । सिंचाइको व्यवस्था भएन भने राम्ररी उब्जनी हुनसक्दैन । त्यसैले, हामी सिंचाइको व्यवस्था मिलाएका छौं । पहिला यस गाउँपालिकामा गहुँ खेती त्यति गरिँदैनथ्यो, तर सिंचाइको सुविधा पाएपछि यहाँका कृषक गहुँखेतीप्रति आकर्षित भएका छन् । सिंचाइका लागि बोरिङ, सानो ट्युबेल पु¥याउन सकेका छौं । नहरबाट सिंचाइको प्रबन्ध भइसकेको छैन । हामीले संघीय र प्रदेश सरकारसँग आग्रह गरेका छौं कि ड्याम बनाउन सक्यौं भने सिंचाइको समस्या समाधान हुन्थ्यो । यस्तै, मल, बीउ, बीजनको लागि पनि पहल गरिरहेका छौं ।  

० तपाइँ आफ्नो कार्यकालभित्र रोहिणी गाउँपालिकालाई कस्तो बनाउने सोच्नुभएको छ ? 

— सबैको सहयोग रह्यो भने रोहिणी गाउँपालिकालाई नगरपालिकाभन्दा पनि राम्रो सुविधायुक्त बनाउने प्रयासमा छौं । यहाँको प्राकृतिकमय वातावरण छ । पहिला भारतसँगको छोटी भन्सार थियो, त्यो अहिले बन्द अवस्थामा छ, त्यसलाई खोल्ने प्रयासमा छौं । गाउँपालिकाको समग्र विकास र समृद्धिका लागि हामी लागिपरेका छौं ।

तपाईको प्रतिक्रिया