प्रजातान्त्रिक गठबन्धनले नै मधेशलाई जोगाउँछ : राजेश्वर नेपाली

प्रेस स्वतन्त्रता सेनानी तथा वरिष्ठ पत्रकार

अन्तर्वार्ता

    २०७६ साल पुस १८ गते शुक्रबार   

० अहिले मधेशको राजनीतिक अवस्थालाई कसरी हेर्दै हुनुहुन्छ ? 

— सत्तामा जो बस्छन्, उनीहरू मधेशको समस्या समाधान गर्नुभन्दा क्रूर राणाकाल जस्तै मधेशी शक्तिलाई छिन्नभिन्न पार्ने कामहरू गर्दै आइरहेका छन् । अहिले पनि मधेशी शक्तिलाई टुटाउने, फुटाउने कामहरू भइरहेको छ । २००८ सालमै तराई कांग्रेस खुल्यो, त्यसको गतिविधि जुनरूपमा बढेको थियो त्यसलाई समाप्त गर्ने काम तातत्कालीन सत्ताधारीहरूले गर्दै गए । मधेशका मुद्दालाई समाप्त गर्नका लागि राजा महेन्द्रले देशलाई १४ अञ्चलमा विभाजन गरेर मधेशलाई १० अञ्चलमा विभाजित गरे । अहिले पनि सातवटा प्रान्त बनाउँदा मधेशलाई ६ टुक्रामा विभाजित गरिएको छ । मधेशलाई टुक्र्याएर मधेशको अस्तित्वलाई समाप्त पार्ने काम सत्तापक्षले गर्दै आएका छन् । यहाँका शासकले मधेशको अस्तित्वलाई स्वीकार गर्न सकेको छैन ।

० मधेशले अहिलेसम्म किन असल नेतृत्व पाउन सकेन त ? 

— हाम्रो देशमा सत्ताधारीहरू जसरी टुक्र्याउने काम गरिरहेका छन्, त्यसले मधेशका कुनै पनि नेतृत्व स्थापित हुन सकेन । पञ्चायतकालमा पनि तराई कांग्रेसलाई समाप्त गर्न अध्यक्ष वेदानन्द झालाई राजाले टेकअप गरे तर, त्यसैका महामन्त्री रामजनम तिवारीले नेपाली कांग्रेसमा समाहित हुनु भयो र संघर्षमा उहाँ लागिरहनुभयो । विगतमा गजेन्द्रनारायण सिंहको अध्यक्षतामा जुन बेला नेपाल सद्भावना पार्टी थियो त्यसबेला पनि केही व्यक्तिहरूले छुट्टै पार्टी गठन गरे । यस्ता कुराहरू त सत्ताधारीको खेल भई नै रहेको छ । त्यसले संघर्ष लामो हुँदै गइरहेको छ ।

० विभिन्न कालखण्डमा भएका आन्दोलनहरूमा योगदान पु¥याएका मधेशी नेताहरूको कदर अहिलेका मधेशकेन्द्रित दलहरूले गरिरहेका छन् ? 

— ती कुराहरू अतीतमा पनि गरिएन र अहिले पनि हुन पाएको छैन । वि.सं. २०१८ सालमा राजा महेन्द्रमाथि जनकपुरधामै जानकी मन्दिर अगाडि बम फाल्ने दुर्गानन्द झा थिए । आजसम्म उहाँको प्रतिमा बन्न सकेको छैन, कांग्रेस पटक–पटक सरकारमा गयो । त्यस्ता कुराहरूतिर ध्यान दिएन । त्यस्तै, प्रजातान्त्रिक संघर्षमा मारिएका व्यक्तिहरूको प्रतिमा बन्न सकेको छैन अथवा सम्मान दिन सकिएको छैन । अहिले पनि मधेशवादी पार्टीहरूले मधेशका शहीदहरूलाई सम्मान जसरी काम गर्ने त्यसतर्फ सोचेको देखिएको छैन । हुन त केही ठाउँहरूमा केही शहीदहरूका स्मारकहरू बनेका पनि छन् तर त्यो पर्याप्त छैन ।

० मधेशका योद्धाहरूलाई बिर्सिएकै हो ? 

— जुनसुकै पार्टीका व्यक्ति जो सत्तामा पुग्छन्, उनीहरूले पार्टीप्रति प्रतिबद्ध रहेका मानिसहरूलाई बिर्सने गर्छन् । चाहे त्यो तत्कालीन एमाले, माओवादी या कांग्रेसमा मधेशी नेताहरूको ठूलो योगदान रहँदै आएका छन् । पार्टी र जनताप्रति समर्पित जो व्यक्तिहरूको योगदानलाई जति चर्चा गर्नुपर्ने त्यो भइरहेको छैन । राष्ट्रियता भनेको यही हो । हामीकहाँ राष्ट्रियता भनेको धोती र टोपीका कुरा गर्छन् । टोपी लगाउँदैमा राष्ट्रवादी भइहाल्छन्, भारतलाई गाली गर्दैमा ठूलो राष्ट्रियता हुने मानसिकता छन् । तर, जो वास्तवमा नेपालका लडेका छन्, गणतन्त्रका लागि शहीद भएका छन् तिनीहरूको बारेमा जति काम हुनुपर्ने हो, त्यसमा पटक्कै भएको छैन ।

० मधेशकेन्द्रित राजपा र समाजवादीलाई कसरी हेर्दै हुनुहुन्छ ? 

— सत्तामा भएकाहरूले जहिले पनि मधेशी शक्तिलाई छिन्नभिन्न पार्ने काम गरिरहेका हुन्छन् । त्यसै षड्यन्त्रमा पहिला उपेन्द्रजी पस्नुभो र अहिले राजेन्द्रजी आउनुभो । यस्तै कुराहरू भइरहेका छन् । मधेशकेन्द्रित दलहरूबीच शक्ति बन्दै गरेको अवस्था सत्ताधारीहरूले षड्यन्त्र गर्दै आएका छन् । मधेशका शक्तिलाई एक ठाउँमा आउन नदिने प्रपञ्चहरू हुँदै आएका छन् । त्यसको शिकार मधेशकेन्द्रित दलहरू हुँदै आएका छन् ।

० राजपा र समाजवादीबीच लामो समयदेखि एकताको कुरा चल्दै आएका छ तर, निष्कर्षमा पुग्न सकिरहेको छैन । कारण के देख्नुहुन्छ ? 

— एउटा दल सरकारबाट बाहिरिएको अवस्था छ भने अर्को जाने कसरतमा रहेको देखिएको छ । यी दुईटै शक्ति सरकारमा जानुभन्दा पनि मिलेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता छ । राजपा र समाजवादी मात्रै होइन कि प्रजातान्त्रिक सम्पूर्ण शक्तिहरू मिलेर जानुपर्छ । गत निर्वाचनमै मधेशकेन्द्रित दलहरू कांग्रेससँग मिलेर गएको भए राम्रो हुन्थ्यो । अहिले कम्युनिष्टको जति बोलवाला छ, यदि प्रजातान्त्रिक शक्तिहरू मिलेको भए यस्तो हुने थिएन । एउटै पार्टी नभए पनि प्रजातान्त्रिक गठबन्धन बनेको भए देशको लागि राम्रो हुन्थ्यो । यस विषयमा यिनीहरूले सोच्नुपर्ने हुन्छ ।

० भनेपछि नेपालमा दुई धारको राजनीतिक दल मात्र आवश्यक छ ? 

— यो कुरा त पञ्चायतकालमा पनि देखिएको थियो । आज पनि देशमा दुईटा धार प्रजातान्त्रिक र वामपन्थी मूलरूपमा देखिन्छ । त्यो हिसावले नै पार्टीहरू अगाडि बढे भने राम्रो हुन्थ्यो । अहिले नै हेर्ने हो भने सभामुख नै नहुँदा संसद अवरोध भइरहेको छ । कम्युनिष्टसँग बहुमत छ तर उनीहरूले सभामुख चयन गर्न सकेको छैन । नेतृत्वबीच कस्तो होडबाजी छ यसले नै देखाइरहेको छ ।

० प्रदेश २ मा मधेशकेन्द्रित दलहरूको सरकार छ, कस्तो छ कामकारबाही ? 

— सुरूमै जब संविधान बन्ने बेला थियो, त्यतिबेला हामी जस्ता अनेकले सुझाव दिएका थिए कि पहिले संसदको चुनाव भएर मात्र प्रदेशको चुनाव होस् । पहिले संसदको चुनाव गर्नुको मतलब प्रदेशका लागि आवश्यक नियम कानूनहरू निर्माण गरेर प्रदेशको निर्वाचन हुनु पदथ्र्यो । तर, त्यस्ता कामहरू गरिएन, यहाँ त अल्झाउने कामहरू हुन्छन् । जसले गर्दा सबै कुरा लथालिङ्गको अवस्थामा छ । ऐन कानूनहरूको अभावले प्रदेश र केन्द्रको बीचमा अनावश्यक विवादहरू खडा भइरहेको छ । केन्द्रीय सरकारको सोचाइ बडो संकीर्ण छ । जब देश संघीय व्यवस्थामा गइसकेको छ, तब प्रदेशलाई शक्तिशाली बनाउनुपर्छ । त्यसका लागि संघले प्रदेशलाई अधिकारहरू पनि दिनुपर्छ । त्यस्ता कुरामा सिंहदरबारको ध्यान जानुपर्ने थियो ।

० भनेपछि प्रदेश सरकारको अनुभूति भएको छ ? 

— केही कामहरू त भएकै छ, तर जुन मूलभूत कामहरू हुनुपर्ने थियो त्यो भइरहेको छैन । प्रदेश सरकार गठन भएको दुई वर्ष पुग्न लागेको छ । प्रदेश सरकारले केही सानोतिनो कामहरू गरिरहेको छ तर ठोस कामहरू हुन सकेको छैन । जब केन्द्रले नै ठोस काम गर्न सकेको छैन प्रदेशको हामी के कुरा गर्ने ? समृद्ध नेपाल, सुखी नेपालीको नारा मात्रै दिएर हुँदैन । प्रदेश सरकारले बिल्कुलै केही गर्न सकेको छैन भनेर भन्न मिल्दैन ।

० नेपाल–भारत सीमा विवादलाई कसरी हेर्दै हुनुहुन्छ ? 

— विवाद छ भने त्यसको समाधान हुनुपर्छ । नेपाल–भारतको सीमा विवाद आजको होइन, ५० वर्षभन्दा बढी भइसक्यो । कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका कुराहरू आइरहेको छ, त्यहाँ किन त्यसरी भयो, त्यतिबेला हाम्रा देशका सरकारले किन गर्न दियो यसबारे पनि सोच्नुपर्छ । अहिले सीमा विवाद समाधान गर्ने कुरा भइरहेको छ, राम्रै कुरो हो । दुई देशका नेतृत्वकर्ताहरूले आपसी सहमतिमा समाधान गर्नुपर्छ ।

० अहिले नेपाल–भारतबीचको सम्बन्ध कस्तो देख्नुहुन्छ ? 

— नेपाल–भारतबीच हजारौंहजार वर्ष पूरानो सम्बन्ध छ । अर्थात, जुन नेपाल र भारत नाम थिएन यहाँ मिथिला, अवध, पूर्ण आर्यावर्त थियो । त्यस्तो समयमा सीता र रामको विवाह भएको बेलादेखि जो हाम्रो सम्बन्ध छ, त्यसमा असर गरेको छैन । कसैले भारत विरोधी नारा लगाउँदैमा सम्बन्ध बिग्रदैन । अँग्रेजी नयाँ वर्षको अवसरमा भारतका धेरै पर्यटकहरू जनकपुरधाम आएका थिए । त्यसैले, केही कुटनीतिक विवादले दुई देशको सम्बन्धलाई असर गर्दैन ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया