बराहक्षेत्र पर्यटनको दृष्टिकोणले भरिभराउ छ : नीलम खनाल

मेयर, बराहक्षेत्र नगरपालिका, सुनसरी

स्थानीय सम्वाद्

    २०७६ साल पुस १८ गते शुक्रबार   

० बराहक्षेत्र नगरपालिकामा निर्वाचित भएको साढे दुई वर्षभन्दा बढी समय भइसक्यो । जताले महसुस गर्ने के–के कामहरू गर्नुभयो त ?

— बराहक्षेत्र नगरपालिका कान्छो नगरपालिका हो । निर्वाचनका बेला हामीले दुई÷तीनटा कुराको प्रतिबद्धता जनाएका थियौं । हामीले शिक्षा, स्वास्थ्य, बाटोघाटोमा सुधार गर्छौं । हामीले गरेका प्रतिबद्धताहरू कतिको पूरा भयो भन्ने कुरा जनताले महसुस गरिरहेका छन् । हाम्रो नगरपालिकाका सबै बाटोघाटो निर्माण भइसकेका छन् । त्यसपति नगर अस्पताल बनाएका छौं, जुन सुचारू भइसकेको छ । यसैगरी, दुईवटा अस्पतालहरू बनाएका छौं । विद्यालयको शिक्षामा पनि व्यापक सुधार ल्याएका छौं । यी कामहरू जनताका अगाडि छन् । यसैगरी, हामीले युवा, महिला लक्षित कार्यक्रमहरू र आय तथा शीपमूलक कार्यक्रमहरू पनि गरिरहेका छौं ।

० जनताले स्थानीय सरकारको अनुभूति गरिरहेका छन् ? 

— जनताले त स्थानीय सरकारको अनुभूति गरिरहेका छन् । जनताका आकांक्षाअनुसार हामीले काम गरिरहेका छौं ।

० भनेपछि सिंहदरबार आएको छ ? 

— हिजो सिंहदरबारको अधिकार गाउँ–गाउँमा भनेका थियौं । तर, ऐन कानूनहरूको अभावले संविधानमा भएका कैयौं कुराहरू हामीले पाउन सकेका छैनौं । कतिपय हाम्रो काममा प्रदेश र संघीय सरकारले हस्तक्षेप गरिरहेको हुन्छ । यहाँ भूमिहीन जनताहरूको संख्या धेरै छन् । तिनीहरूलाई व्यवस्थापन गर्नका लागि हामीसँग ऐलानी जग्गा प्रशस्त छन्, तिनीहरूलाई ती जग्गाको मालिक बनाउने कि नबनाउने । तिनीहरू कसरी स्थापित गर्ने यी कुराहरूको अभाव छ ।

० तराई/मधेशमा शीतलहर चलिरहेको छ, अत्याधिक चिसो बढेको छ । त्यसबाट बच्न नगरपालिकाले के गरिरहेको छ ? 

— शीतलहरको कहरबाट बच्न हामीले टोल–टोलमा दाउराको व्यवस्था गरेका छौं । बालबालिका तथा वृद्धवृद्धाहरू बढी प्रभावित भइरहेका हुन्छन् । त्यसका लागि हाम्रो विपद् व्यवस्थापन समितिको बैठक बसेर असहाय, विपन्न वर्गहरूलाई कम्बल र न्यानो कपडा वितरण गर्ने कार्यक्रमहरू ल्याएका छौं ।

० न्यानोको अभावमा कसैको ज्यान जाने अवस्था छैन ? 

— हाम्रो नगरपालिकाभित्र न्यानो कपडा वा चिसोबाट ज्यान गुमाउनुपर्ने अवस्था छैन ।

० यस आर्थिक वर्षका महत्वाकांक्षी योजनाहरू के–के छन् ? 

— मुख्यगरी हामीले यस आर्थिक वर्षमा दुईटा कुरालाई महत्वाकांक्षी योजनाको रूपमा लिएका छौं । चक्रघट्टीदेखि चतराको बाटोलाई स्तरोन्नति गरी लाने । त्यसैगरी, नगरपालिका अगाडिदेखि लिएर रामधुनीको ४ र ६ नम्बर वडासम्मको जोड्ने । त्यसैगरी, धनपुरीदेखि कालाबन्जरसम्मको बाटो पिच गरेर लाने भनेका छौं । यस्तै, निर्माणाधीन अवस्थामा रहेका क्याम्पसहरू पूरा गर्ने महत्वाकांक्षा राखेका छौं । यसैगरी, अपाङको परिवारलाई सपाङसरह बाँच्नका निम्ति बीउ पुँजीमार्फत् दिइरहेका छौं । ती अपाङ भएका मान्छेहरूले सहकारीबाट लोन लिएर आयमूलक कामहरू गर्ने । त्यसैगरी एकल महिलाहरूका लागि पनि बाँच्नका लागि हामीले विभिन्न योजनाहरू ल्याएका छौं ।

० दुई दशकको अन्तरालपछि स्थानीय तहमा जनप्रतिनिधिरूप आउँदा जनताका अपेक्षा कस्तो पाउनुभयो ? 

— हामी निर्वाचित हुनुभन्दा पहिला यहाँ धेरै समस्याहरू थियो । बाटोघाटोको राम्रो व्यवस्था थिएन, स्वास्थ्यको क्षेत्रमा पनि केही भएको थिएन, शिक्षाको क्षेत्र त्यतिकै लथालिङ्ग थियो । दुई दशकपछि जनप्रतिनिधि आउँदा स्वाभाविकरूपमा जनतामा धेरै अपेक्षा देखियो । जनताका धेरै समस्याहरू थिए । तर, हामी निर्वाचित भएर आइसकेपछि जनताका ती अपेक्षाहरू पूरा गर्न सफल भयौं जस्तो लाग्छ । हामीसँग स्रोतसाधन कम छ, हामी निर्वाचित हुने बित्तिकै सबै कुरा एकैचोटि पूरा होस् भन्ने खालको अपेक्षा जनताको थियो । तर, हामीले विस्तारै सबै कुरा पूरा गर्न लागेका छौं ।  

० नेपाल भ्रमण वर्ष–२०२० सुरू भएको छ । बराहक्षेत्रमा पर्यटकीय सम्भावनाहरू के–के छन् ? 

— सुनसरी जिल्लाकै सबभन्दा बढी पर्यटनको आकर्षणको केन्द्र बराहक्षेत्र नगरपालिका नै हो । बराहक्षेत्र आफैमा एउटा धार्मिक, ऐतिहासिक, पूरातात्विक चीजले भरिपूर्ण छ । यसका आसपासमा विभिन्न जातजाति, समुदायको भेषभूषा झल्किने खालको पाइन्छ । कोशी नदीको किनार भएकोले वन्यजन्तु आरक्षणको केन्द्र पनि यही छ । हाम्रो नारा नै छ कि ‘धार्मिक पर्यटनको क्षेत्रमा बराहक्षेत्र नगरपालिका आह्वान गर्छ यहाँहरूलाई’ ।

० पर्यटकलाई लोभ्याउने के–कस्ता कामहरू गर्नुभएको छ ? 

— बुधबारदेखि नेपाल भ्रमण वर्ष–२०२० सुरू भएको छ, प्रदेश सरकारले पनि भव्यरूपमा उद्घाटन गरेको छ । हामी पनि बराहक्षेत्रका विभिन्न वार्डहरूका विभिन्न संस्कृति, भेषभूष, भाषा, संस्कृति झल्किने कार्यक्रमहरू ल्याउँछौं । बराहक्षेत्रका ऐतिहासिक र पौराणिक चीजहरूलाई देशका हरेक कुनाकाप्चासम्म पु¥याउने हाम्रो उद्देश्य हो ।

० बराहक्षेत्रका मुख्य आकर्षण के हो ? 

— बराहक्षेत्रको माथि डाँडामा पहाडी भेग पनि छ, सूर्यकुण्डजस्ता ठाउँहरू पनि छन् । बराहक्षेत्र आफैमा ऐतिहासिक ठाउँ हो । बाह्य पर्यटक आउने ठाउँहरूमा पनि बोटहरू सञ्चालन भइरहेका छन् । हामीसँग वन्यजन्तु आरक्षण नजिकमा छ । विश्वबाट लोप भइरहेका अर्ना जस्तो जनावर पनि हेर्न पाइन्छ । विभिन्न पशुपंक्षी, चराचुरूङ्गीहरू हेर्न पाइन्छ । त्यसैगरी, अलिकति माथि जानुभयो भने जडिबुटी खेती भइरहेको देख्नुहुन्छ भने अलिकति तल झर्नुभयो भने माछामासु, दुधजन्य पदार्थहरूको उत्पादनमा लागिरहेको देख्नुहुन्छ । बराहक्षेत्रले मात्र तरूल काठमाडौंमा निर्यात गर्छ ।

० पर्यटकहरू आउँदा के लिएर जान्छन् ? 

— पर्यटकहरूलाई हामीले मुस्कान, भरपूर मनोरन्जन दिन्छौं । यहाँबाट पर्यटक जाँदा भरपूर आनन्द लिएर आयौं भन्ने महसुस गर्छन् ।

तपाईको प्रतिक्रिया