एक हजार तीन दिनको सफल कूटनीति यात्रा

विचार/दृष्टिकोण

रामसुकुल मण्डल

       

नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी तीनवर्षे कार्यकाल १५ पुसमा पूरा गरेका छन् । आफ्नो कार्यकाल पूरा गर्र्नुअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, विदेश मन्त्री प्रदिप ज्ञवालीसँग बिदाइ भेट गरे । तीनवर्षे कार्यकाल सकेर स्वदेश फर्केका पुरी ६० वर्ष पुगिसकेकाले कूटनीतिक सेवाबाट समेत अवकाश पाएका छन् ।

पूर्व राजदूत रञ्जित रेको कार्यकाल सकिएपछि भारत सरकारले २०७३ चैतमा पुरीलाई नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको थियो । उनले आफ्नो कार्यकालमा नेपाल–भारत सम्बन्धमा सन्तुलित भूमिका खेलेका थिए ।

खासगरी नाकाबन्दीपछि बिग्रेको दुईपक्षीय सम्बन्ध सुधार गरी दुई देशबीच उच्चस्तरको भ्रमण गराउन सफल उनले कुशल कूटनीतिज्ञको छाप छाडेका छन् । राजदूत पुरीको कार्यकालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई पटक नेपाल भ्रमण गरे भने राष्ट्रपति भण्डारीले एक पटक र प्रधानमन्त्री ओलीले दुई पटक भारत भ्रमण गरे ।

भारतले नेपालसँगका कुनै पनि परियोजनाको ‘फलोअप’ गर्ने परिपाटी नरहेकोमा त्यसलाई पुरीले नै तोड्न सफल भए । पुरीले नेपालमा जिम्मेवारी सम्हालेपछि परियोजनाबारे हरेक महिनाको एक पटक संयुक्त बैठक बोलाउन थालेको भारतीय दूतावासका कर्मचारीले बताउने गर्छन् । नेपालमा दुई वर्ष नौ महिना तीन दिन अर्थात १००३ दिन बिताएका सरल व्यक्तित्व पुरीको क्षमता पहिचान गरेर फाइदा लिनबाट नेपाल सरकार चुकेको पक्कै हो ।

पुरी त्यति खेर नेपाल आए जब यहाँ स्थानीय तहको निर्वाचन भइरहेको थियो । निर्वाचन प्रक्रियालाई नै सघाउने भारतीय नीतिको कार्यान्वयनबाट उनले नेपालमा आफ्नो कामको थालनी गरेका थिए । तीन तहको निर्वाचनपछि सबैभन्दा ठूलो दल भएको तत्कालीन एमालेका अध्यक्ष केपी ओली र भारतीय नेतृत्वबीच संवाद सहजीकरणमा पनि पुरीले सफलतापूर्वक भूमिका निर्वाह गरे ।

राजदूत पुरी सिख समुदायबाट नेपालमा राजदूत भएका दोस्रा व्यक्ति हुन् । नेपालका लागि प्रथम भारतीय राजदूत सुरजितसिंह मजिठिया नेपालका लागि पहिलो सिख राजदूत थिए । नेपालमा रहेका सिख समुदायलाई आफ्नो कार्यकालमा उनले समेटेका छन् । नेपालमा सिख सम्प्रदायको इतिहास पुरीकै कार्यकालमा आधिकारिक रूपमा लेखिएको छ ।

पुरीका पालामा महत्वपूर्ण विकास आयोजना अघि पनि बढेका छन् । अरूण तेस्रो जलविद्युत् परियोजना, पेट्रोलियम पाइपलाइन पुरीकै पालामा सुरू भएर सम्पन्न भएको हो । यस्तै हुलाकी राजमार्गको काम अघि बढिरहेको छ भने रक्सौल–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन सकिएको छ । भारतीय सहयोगमा रेलमार्ग निर्माण गर्ने सहमति पुरीकै समयमा भएको हो । नेपाल–भारत संयुक्त अनुगमन संयन्त्रको बैठकमा पुरीले रोकिएका परियोजनाको कारण तय गरेर दुवै सरकारले समस्या समाधान गर्नुपर्ने जोड दिँदै आएका छन् । समग्रमा पुरीले नेपाल भारत सम्बन्धको एउटा संकटकालीन समयलाई सहज रूपमा व्यवस्थापन गरेका छन् ।

पुरीले भारतीय कूटनीति क्षेत्रमा लामो समय बिताए पनि भारतको छिमेक मामिला हेर्ने चाहना नेपालमै आएर पूरा भएको हो । नेपाल नै उनको छिमेकसम्बन्धी पहिलो र अन्तिम अनुभव हो ।

शब्द चित्रमा पुरी

सन् १९५९ फेब्रुअरी १५ मा नयाँदिल्लीमा जन्मिएका पुरी बेल्जियमका लागि भारतको राजदूत रहेका थिए । ६५ वर्षीय पुरीका पिता पनि कुटनीतिज्ञ नै थिए । पिता धेरै समय विदेशमा रहनुपर्ने हुँदा उनले भारतमा नै रहेका आवासीय विद्यालयमा अध्ययन गरेका थिए ।

उनी दिल्ली विश्वविद्यालयको सेन्ट स्टेफेन कलेजबाट अर्थशास्त्रमा बिए (अनर्स) गरेका छन् । त्यसपछि व्यवस्थापनमा स्नातकोत्तर गरेका पुरीले भारत सेवामा लाग्नुअघि उनले हिन्दुस्तान युनिलिभरमा काम गरेका थिए । सन् १९८२ को ब्याचमा भारतीय विदेश सेवामा अफिसरको रूपमा प्रवेश गरे । भारतीय जनता पार्टीसँग आबद्ध पुरीले यसअघि सन् २००९ देखि २०१३ सम्म अमेरिकामा रहेको संयुक्त राष्ट्रसंघका लागि भारतको राजदूत तथा सहयाक स्थायी प्रतिनिधिको रूपमा कार्यरत थिए ।

उनी सन् २०११–१२ मा भारतको सुरक्षा परिषद्को वरिष्ठ सदस्यको रूपमा पनि काम गरेका थिए । दीर्घकालीन विकास र वातावरणको विषयमा काम गरेका पुरीले सन् २०१२ मा ब्राजिलको रियोमा भएको संयुक्त राष्ट्रसंघको सम्मेलनमा भारतको तर्फबाट प्रमुख मध्यस्तकर्ता थिए । त्यस्तै, उनले वातावरणसम्बन्धि धेरै सम्मेलनमा भारतको प्रतिनिधित्व गरेका छन् ।

यसको साथै उनले मुख्य आर्थिक फोरम तथा सन् २००९ मा कोपनहेगनमा भएको युएनएफसीसीसीमा पनि भाग लिएका थिए । सन् २००५ देखि ०९ सम्म उनी भारतको विदेश मन्त्रालयमा संयुक्त राष्ट्रसंघ डिभिजनको प्रमुख पनि थिए । लामो समय भारतको कुटनीतिक क्षेत्रमा विताएका पुरीले सन् १९८४ देखि ८६ र १९९१ देखि ९४ सम्म जमर्नीमा समेत खटिएका थिए ।

त्यस्तै, सन् १९८६ देखि ८९ सम्म बैंकक, सन् १९८९ देखि ९१ सम्म काराकास, न् १९९८ देखि २००२ सम्म केपटाउन, सन् २००२ देखि ०५ सम्म मुस्काटमा पनि रहेर काम गरे । सन् १९९४ देखि ९८ सम्म उनी ठूला राजनीतिक भ्रमणका क्रममा भारतीय विदेश मन्त्रालयको प्रोटोकल इन्चिार्ज पनि थिए । उनकी पत्नी नम्रिता पुरी रहेकी छिन् भने उनको दुई छोराछोरी रहेका छन् । उनी पनि कुटनीतिक क्षेत्रमा नै कार्यरत छिन् । राष्ट्रिय सुरक्षाको विषयम पार्टीको विदेश नीति मनपरेको बताउँदै उनी सन् २०१४ को जनवरीमा भारतीय जनता पार्टी प्रवेश गरेका थिए । रणजित रायपछि राजदूत बनेका पुरी २०७३ चैत १२ देखि २०७६ पुस १५ सम्म नेपालको २४औँ राजदूत नियुक्त भएका थिए ।

तपाईको प्रतिक्रिया